पोखरा। मनसुनी सौन्दर्य विचित्रकै हुन्छ। झमझम पानी परेका बेला छाता ओढेर हिँड्नुको मज्जा झन् बेग्लै। छिनमै भुइँकुहिरोले ढपक्कै ढाकिन्छन् पहाडी थुम्काहरू।
छिनमै छयाङ्ग उघ्रिन्छ मौसम। अनि त चारैतिर हरियालीमा आँखा टाँसिन बेरै लाग्दैन। यस्तै हुन्छ पोखरा नजिकैको रमणीय क्रपुडाँडामा पनि।
भुइँफूलले ढकमक्क भएको छ क्रपुडाँडा (३,०८५ मिटर)। डाँडाको तालले पनि मोहित बनाउँछ। मौसम खुलिहालेमा हिमालको दर्शन पनि पाइन्छ।
यतिबेला भुइँफूलले ढकमक्क भएको छ क्रपुडाँडा (३,०८५ मिटर)। मौसम खुलेका बेला यहाँबाट हिमाल देखिन्छन्। कास्की जिल्ला, मादी गाउँपालिका–२, मा पर्ने डाँडाबाट अन्नपूर्ण चौंथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको लर्कन देखिन्छ।
क्रपुबाट हिउँ पहिरो पनि देखिन्छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः खसिरहन्छ पहिरो। पहिरो झर्दा गड्याङ्ग आउने आवाजले झसङ्ग बनाउँछ।
ग्रामीण पर्यटनको नमुना गन्तव्यका रुपमा चिनिएको गुरुङ गाउँ ‘ताङतिङ’को शिरमा पर्दछ क्रपुडाँडा। त्यसैले पदयात्रामा चराको चिरबिर, जंगली जनावरको आवाज, वनजंगल, हिउँपहिरोका दृश्य, चिसो हावापानी, हिमालसँगको सामीप्य र सुन्दर गाउँको दृश्यमा रमाउने अवसर मिल्छ।
ताङतिङ (१,६६५ मिटर) बाट नौचुडाँडा (२,०४७ मिटर)। नौलाचे (२,२०० मिटर) हुँदै क्रपुडाँडामा पुगिन्छ। क्रपुडाँडामा खुलेका टेन्टेड होटलमा सामान्य खाना र बास सुविधा पाइन्छ।
ताङतिङको सामुदायिक होमस्टे, क्रपुडाँडाको टेन्ट र पोखरामा एकएक रात बस्ने गरी यात्रा योजना बनाउनु पर्छ। ग्रामीण पर्यटनको नमुना गन्तव्यका रुपमा चिनिएको ताङतिङका गाउँलेको आत्मीयताले सबैलाई मोहित बनाउँछ।
काठमाडौंबाट यात्रा गर्दा पहिलो बास ताङतिङमा, दोस्रो बास क्रपुडाँडामा, तेस्रोे बास पोखरामा बस्ने हिसाबले कम्तीमा ४ दिनको योजना बनाउनु बेस हुन्छ।यात्रामा निस्कनु अघि गन्तव्यस्थलका पर्यटनकर्मीलाई सम्पर्क गरेर होमस्टे, टेन्ट र कोठा बुक गरेमा सजिलो हुन्छ।
कसरी पुग्ने?
काठमाडौं–पोखरा २०० कि.मि. बसमा ६ घण्टा अथवा २५ मिनेट हवाई यात्रा। पोखराको काहुँखोला–ताङतिङ २१ कि.मि. सम्म सार्वजनिक बस तथा जिप चल्छन्। ताङतिङ–क्रपुडाँडा १० कि.मि. पदयात्रा। क्रपुडाँडासम्म मोटरबाइक वा जिपमा पनि जान सकिन्छ।
सम्पर्क :
ताङतिङका पर्यटन अभियन्ता प्रकाश गुरुङ–९८५६०२८८२७
क्रपुडाँडाका होटल व्यवसायी गुमानध्वज गुरुङ–९८४६५३१८५०÷९८०६७९५९९०