पोखरा। पोखरामा बसेर साहित्य साधना गर्दै आएका युवा अमृतको दोस्रो पुस्तक ‘यादको कोलाज’ प्रकाशित भएको छ। २० वर्षको उमेरमा भर्ति भएर वैंसका ऊर्जाशील १६ वर्ष भारतीय सेनामा विताएका उनले आफ्ना संस्मरणात्मक निबन्धहरूमा जीवनदर्शन पस्केका छन्।
३६ वर्षकै उमेरमा भारतीय सेनाबाट निवृत्त भएसँगै सम्पूर्ण समय साहित्य सेवामा खर्चिंदै आएका कवि अमृत क्षेत्रीको जीवनदर्शन समेटिएको पुस्तक ‘यादको कोलाज’ सार्बजनिक हुँदैछ।
‘विभिन्न १२ ओटा खण्डमा पुस्तक बाँडिएको छ’, उनले भने, ‘सेनामा भएका बेला काश्मीर, हिमाञ्चल, केरला, जम्बु आदि धेरै क्षेत्रमा काम गर्न पुगें। त्यहाँका प्रसंग मात्र होइन, बिदामा जन्मथलोमा फर्कंदा सँगालिएका अनुभूतिहरू पनि लेखेको छु।’
माया प्रकाशनले छापेको ‘यादको कोलाज’ भदौ महिनामा सार्बजनिक हुनेछ। यसअघि वि.सं. २०७८ मा उनको कविता सङ्ग्रह ‘एकान्त भीड’ प्रकाशित भैसकेको छ। उनी आफूले भ्याएसम्म साहित्यिक गतिविधिमा सक्रिय हुन्छन्। धेरैभन्दा धेरै स्रष्टाहरूसँग संगत बढाउनु र घुमफिर गर्नु पनि उनको रुचिको विषय हो।
अचेल उनी पोखरामा बस्छन्। उनको पुख्र्यौली थलो मोदी गाउँपालिका–६, गिज्यान गाउँ हो जुन पर्वत जिल्लामा पर्दछ। पर्वतकै तिलहारमा रहेको नवजागृत मा.वि.मा कक्षा ११ मा पढ्नेताका नै उनले कविता लेखनयात्रा सुरु गरेका। विशेषतः कविता र लघुकथा लेख्छन्।
सकारात्मक सोचका धनी अमृत विभिन्न संस्थामा संलग्न छन्। उनी लघुकथा प्रतिष्ठान पोखराका सचिव र नेपाली लेखक सङ्घ, गण्डकीको सचिवालय सदस्य हुन्। साथै ‘पुछारसिटे अभियान’ पोखरामा पनि उत्तिकै सक्रिय छन्।
‘दालभात खान पेन्सनबाट पुगिहाल्छ’, भबिश्यका बारेमा ४० वर्षे लाहुरे कवि अमृत भन्छन्, ‘बाँकी जीवन साहित्यको सेवा र मुलकभित्र घुमफिरमा विताउने छु।’