काठमाडौं। हरेक शनिबार उनी क्यामेरा बोकेर बिहानै घरबाट बाहिर निस्कन्छन्। कहिले फूल्चोकी, कहिले फर्पिङ, कहिले झोर, कहिले चन्द्रागिरी त कहिले रानीकोट पुग्छन्। ती ठाउँका जङ्गलमा डुलेर चराको अध्ययन गर्छन्।
भैंसेपाटी, ललितपुरका चरा अध्येता सुप्रदीप्तले फोटो खिच्न थालेको सन् २०१० देखि नै हो। विगत तीन वर्ष यता भने उनी चराको अध्ययनमा जुटेका छन्। हालसम्म करिब १७० प्रजातिका चरा खिच्न भ्याइसके।
कहिलेकाहिँ त एकै ठाउँमा घण्टौंसम्म पनि बस्छन्। प्रकृतिको सुन्दर उपहार चरा हेर्दैै राम्रा हुन्छन्। तिनको फुर्रफुर र चिरबिर देख्दै एवम् सुन्दै मनमा आनन्द आउँछ। अझ तिनले बचेराका लागि र आफ्नो आहाराका लागि गरेको सङ्घर्षलाई नजिकबाट नियाल्दा मन भावुक बन्छ।
त्यति मात्र होइन, मसिना चराहरू शिकारी चराबाट बच्न अनेक जुक्ति लगाउँछन्। कसैले झाडीभित्र गुँड बनाउँछन् त कसैले रुखका टोड्कामा। कसैले भने खुला ठाउँमै। यसरी चराचर जगतमा पनि जीवनसङ्घर्ष चलिरहन्छ। तिनका आनीबानी, चालचलन र मायाप्रेमले मोहित बनाउँछ। त्यसैले त भैंसेपाटी, ललितपुरका चरा अध्येता सुप्रदीप्त न्यौपाने बिदाका दिनमा सधैं वनजङ्गल र गाउँघर डुलिरहन्छन्।
उनी सानैदेखिका प्रकृतिप्रेमी। उनी हिमाल, गाउँघर, मठमन्दिर, पहाड, खोलानाला, वनजङ्गलका तस्बिर खिच्थे। मान्छेका तस्बिर भने कमै खिच्ने गर्छन्।
चरातिर कसरी लोभिए त ?
‘जाडो यामको एक बिहान म टौदहमा पुगेको थिएँ। त्यहाँ जलेवा र जलहाँसहरू जलक्रिडा गरिरहेका थिए। तिनीहरू उताको जाडो छल्न मंगोलिया, साइबेरिया र रसियालगायत देशबाट उड्दैउड्दै यहाँ आएका रहेछन्’, न्यौपाने भन्छन्, ‘यति कुरा थाहा पाएपछि मलाई चराको बारेमा थप बुझ्न मन लाग्यो। अहो, ठुलो जलेबाले डेढ–दुई किलोको माछा स्वात्तै निल्दो पो रहेछ!’
त्यतिबेला उनीसँग क्यामेरा त थियो तर सामान्य लेन्स मात्र भएको। त्यसैले राम्रोसँग तस्बिर खिच्न सकेनन्। त्यहि क्षण उनले ठुलो लेन्स किन्ने र यस्ता दृश्य खिच्ने निर्णय गरे। अनि नयाँ लेन्स किनेर टौदह धाउन थाले।
टौदहमै अरु चराविदहरूसँग उनको चिनापर्चि भयो। चराविद् जय भण्डारीले उनलाई चराको आनीबानीबारे राम्रो जानकारी दिए। त्यसपछि उनी टौदहको नेटो काटेर काठमाडौं सेरोफेरोका गाउँघर र डाँडापाखामा डुल्न थाले। उनी सधैं साथीहरू शत्रुघन पाण्डे, कुमुद पराजुलीलगायतसँग मिलेर चराको अध्ययनमा निस्कन्छन्।
ठ्याक्कै तीन वर्ष भयो उनी चरा अध्ययनमा गहिरिएको। चरा अवलोकन त गर्छन् नै, क्यामेराले अनेक बान्कीका तस्बिर पनि खिच्छन्। हालसम्म करिब १७० प्रजातिका चरा खिच्न भ्याइसके। तिनका हजारौं तस्बिर छन् उनको अर्काइभमा।
सजिलो छैन चरालाई खिच्न। धैर्य गरेर ढुकेर बस्नु पर्छ। ज्यादै चनाखो भएर खिच्नु पर्छ। तिनको नजिक पुगेर खिच्न मिल्दैन, उनीहरू डराउँछन्। त्यसैले लुकेर खिच्नु पर्छ। र, उनीहरूलाई बाधा पु¥याउनु हुन्न।
‘चराचुरुङ्गी प्रकृतिका उपहार हुन्। यिनको संरक्षण गर्नु हाम्रो दायित्व हो’, चराप्रेमी न्यौपाने भन्छन्, ‘त्यसैले यिनिहरूको बासस्थान संरक्षण गर्नुपर्छ।’
चरा अध्ययनका फाइदाहरू केके हुन् त ?
‘सबैभन्दा ठुलो कुरा आत्मसंतुष्टि पाएको छु। बसाइँसराइँले विभिन्न देशबाट नेपाल आउने चराहरू हेर्न र बुझ्न पाएको छु’, उनी भन्छन्, ‘आफूले जानेका कुरा अरुलाई बुझाउन पाइएको छ। र, संरक्षणमा लाग्न पाउँदा आनन्द महसुस हुन्छ।’
उनी आफूले खिचेका तस्बिरहरू सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा राख्छन्। ती चराको बारेमा छोटकरीमा जानकारी समेत लेख्छन्। यसरी उनी संरक्षणको सन्देश पनि बाँडिरहेका छन्।
एउटा दुःखको कुरा, कतिपय मिडियाले उनको अनुमति नलिई सामाजिक सञ्जालबाट तस्बिर झिकेर प्रकाशन गरिदिन्छन्। ‘एउटा तस्बिर खिच्न कति धेरै मिहिनेत गर्नुपर्छ’, उनले भने, ‘सबैले हाम्रो मिहिनेत र लगनशीलता बुझिदिनुप¥यो। विना अनुमति प्रकाशन गर्न पाइँदेन।’
नेपालमा चरा संरक्षणका क्षेत्रमा पंछी संरक्षण संघ क्रियाशील छ। यसले स्थानीय गाउँपालिका, नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग मिलेर प्रभावकारी रुपमा चरा संरक्षण अभियान चलाउनु पर्ने उनी बताउँछन्।
न्यौपाने विशेषतः काठमाडौं उपत्यकाका चरा खिच्छन्। काठमाडौं बाहिर चरा खिच्न चितवन, धादिङ र मुस्ताङसम्म पुगेका छन्। समय मिलाएर अन्यत्र पनि पुग्ने उनको इच्छा छ।
उनमा चरा अध्ययनको गहिरो भोक छ। त्यसो त उनी चरा मात्र खिच्दैनन्, जङ्गली जनाबर र जीवनशैलीका तस्बिर पनि खिच्छन्। फोटोग्राफी उनको शौख हो। उनी नेपाल रिपब्लिक मिडिया, काठमाडौंमा कार्यरत छन्।
अबका योजना केके छन् त ?
‘चराका तस्बिरहरूको प्रदर्शनी गर्ने इच्छा छ’, ४४ वर्षे न्यौपाने भन्छन्, ‘डाँफेमुनाललगायत हिमाली चराहरूको तस्बिर दसै पछाडि निस्कन्छु।’