काभ्रे। नेपालमा हाइकिङ जागरण गराउँदै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले साउन १३ गते शनिबार काभ्रेपलाञ्चोक जिल्लाको ‘महादेव पदमार्ग’मा हाइकिङ गराएको छ। साउनमा महादेवको आराधना गरिने भएकाले महादेवका मन्दिरहरू भएका ठाउँमा पदयात्रा गराइएको हो।
निलो क्याप लगाएका हाइकर्सहरूले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा घन्काउँदै पदयात्रा गरेका थिए। उनीहरू धार्मिक सम्पदा, हरियाली वनजङ्गल, गाउँघर, धानखेती, भुइँकुहिरो आदिमा रमाए। साथै जङ्गलमा झ्याउँकीरिको सङ्गीत पनि सुनिएको थियो। लामबद्ध पदयात्रीको लर्कन देखेर गाउँलेहरूले चाख मानेर हेरेका थिए।
समूहले साँगा भञ्ज्याङ नजिकैको नटारम्भेश्वर महादेव मन्दिरबाट पदयात्रा सुरु गराएर महाकालेश्वर महादेव, राधाकृष्ण मन्दिर, नाला बजारको करुणामय (सेतो मच्छिन्द्रनाथ), उग्रचण्डी मन्दिर, नाला गुम्बा, चामुण्डा महादेव हुँदै शेरा भएर सुमारा भञ्ज्याङमा पदयात्रीलाई पु¥याएको थियो।
सुमारामा पुगेपछि पदयात्रीहरू भुइँकुहिरोमा रमाए। त्यहाँको ‘होटल सरर’मा पदयात्रीलाई तीन बराबर आहार खुवाइयो। खानापछि हाइकिङ टोली संयोजक एवम् हाइकिङविज्ञ रामदेवी महर्जनले स्वास्थ्यबद्र्धक जानकारी बाँडेकी थिइन्। त्यसपछि पदयात्रीहरू ओरालो झरेर बनेपा बजार नजिकैको चण्डेश्वर महादेव, चण्डेश्वरी देवी पुगे। त्यहाँबाट सिँढी बनाइएको जंगलको बाटो हुँदै उकालो चढेर शहीद पार्क भएर धुलिखेल नजिकैको गोसाइँथानसम्म पदयात्रा गरेका हुन्।
‘यसरी हामीले १७ किलोमिटर पदयात्रा ग¥यौं’, ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी हाइकिङविज्ञ महर्जनले भनिन्, ‘मनसुनमा मात्र होइन, यो पदमार्गमा सधैं पदयात्रा गर्न सकिन्छ। यहाँ प्रकृति, अध्यात्म र संस्कृतिको मिठो सुवास पाइन्छ।’
स्मरण रहोस्, प्रकृतिप्रेमी समूहले स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक महिनाको दुई पटक (दोस्रो र चौंथो शनिबार) काठमाडौं उपत्यका सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। समूहको हाइकिङमा स्वास्थ्यवद्र्धक खाना खुवाइन्छ जहाँ जंकफुड र फास्टफुड प्रतिबन्धित छ।
हाइकिङमा खाना कसरी खाने, स्वास्थ्यवद्र्धक आहार कसरी गर्ने र कसरी सकारात्मक चिन्तन गर्ने भन्ने जानकारी बाँडिन्छ। समग्रमा निरोग आनन्दित भएर बाँच्ने कला सिकाइन्छ।
अब अर्को हाइकिङ साउनको चौंथो शनिबार २७ गते फरक ठाउँमा हुने हाइकिङविज्ञ महर्जनले बताएकी छिन्।