काठमाडौं। काठमाडौंको मखनटोलमा अवस्थित तानादेवी (तारिणी भवानी) मन्दिरमा हरेक बिहीबार साँझ आयोजना गरिने ‘आरती’ले तीर्थालुहरूलाई मोहित बनाउने गरेको छ। सङ्गीतमय भजनकीर्तनका साथमा गरिने आरतीमा रम्नेहरू मन्त्रमुग्ध बन्छन्।
तानादेवी मन्दिर परिसरमा मत्स्यनाराणको मूर्ति समेत रहेको हुँदा मलमासका बेला महिना दिनसम्म यहाँ विशेष पूजा हुने गरेको छ। त्यस्तै श्री स्वस्थानी माताको पनि मन्दिर भएकाले माघमा समेत तीर्थालुको भिड लाग्छ।
तानादेवीको सम्मानार्थ ‘तानादेवी संरक्षण समिति’ले वि.सं २०७१ देखि हरेक बिहीबार र चर्तुदशी (चह्रे)का दिनमा आरती गराउँदै आएको छ।
‘श्री पशुपतिनाथ पछि आरतीको व्यवस्था भएको मन्दिर हाम्रै तानादेवी नै हो’, समितिका अध्यक्ष भुवनलाल श्रेष्ठ भन्छन्, ‘भगवान्प्रतिको आस्था र आरतीको आनन्दबाट मोहित भएर भक्तजनहरू आउने गरेका छन्।’
तानादेवीलाई शक्तिपीठका रुपमा पूजिन्छ। तानादेवी प्राचीन मन्दिर हो। लिच्छविकालीन राजा शंकरदेवले कलिगत वर्ष ३९२७ (वि.सं. ८८३)मा तानादेवीको मन्दिर बनाएका हुन्। खासमा झगल ठकुलका इष्ट देवता मानिएकाले उनले देवघर स्थापना गरिदिएका थिए। मन्दिर हातामा यस सम्बन्धी शिलापत्र छँदैछ। ठकुलले नै स्थापना गरेको जगन्नाथ मन्दिर तानाबहाल नजिकै सुरज आर्केडसँगै रहेको छ।
तानादेवी मन्दिरमा ५ ओटा गजुर छन्। किंवदन्तीअनुसार यहाँ राजा महेन्द्र मल्लले २१ गजुर र ३६० ओटा राँगा चढाउने भाकल गरेका थिए। यसरी भाकल गर्नुमा विशेष कारण छ, त्यतिबेला ती राजाले तानादेवी नजिकै तलेजु भवानीको मन्दिर बनाउन सुरु गरेका थिए। उनले तानादेवीभन्दा अग्लो तलेजु मन्दिर बनाउन लागेका थिए। दिनभर मन्दिर बनाएर छाडेको ठाउँमा राती भत्किन्थ्यो। यो क्रम रोकिएन।
खासमा तानादेवी दिदी हुन् भने तलेजु बहिनी। दिदीकोभन्दा अग्लो मन्दिर बनाउन लागिएकाले दिदी तानादेवी रिसाएकाले निर्माणाधिन मन्दिर भत्किन्थ्यो। त्यसैले मन्दिर पूर्ण गराउन राजा महेन्द्र मल्लले २१ गजुर र ३६० ओटा राँगाको भाकल गरेका हुन्। त्यसरी भाकल गरेपछि तलेजु मन्दिर निर्माण पूरा भयो।
तानादेवीमा दुई ओटा तोरण छन्, एउटा काठको र अर्को पित्तलको। मन्दिरका कलात्मक टुँडालहरूमा अष्टमातृकाका मूर्ति कुँदिएका छन्। त्यस्तै मन्दिर हातामा श्रीस्वस्थानी माता, चर्तुभुज नारायण, मत्स्यनारायण, लक्ष्मीनारायणलगायतका मूर्ति छन्।
मत्स्यनाराणको मूर्ति समेत रहेको हुँदा मलमासका बेला महिना दिनसम्म यहाँ विशेष पूजा हुने गरेको छ। त्यस्तै श्री स्वस्थानीमाताको पनि मन्दिर भएकाले पुसमाघमा समेत तीर्थालुको भिड लाग्छ। सर्वसाधारणका लागि तानादेवीको मन्दिर वर्षमा दुई पटक मात्र खुला हुन्छ, ज्येष्ठ दशमी (गंगा दशहरा) र तिहारको म्हःपूजाका दिन।
अर्को कुरा, तानादेवी मन्दिरको मूल ढोका अगाडि भद्रकालीको बाह्र वर्षे जात्रा आयोजना गरिन्छ। त्यतिबेला राजा र भद्रकालीबीच खड्ग साटासाट गर्ने परम्परा छ।
तानादेवीकी ‘कुमारी’
कुमारीलाई जीवित देवी मानिन्छ। तानादेवी मन्दिरको पनि आफ्नै कुमारी छिन्। अहिलेकी कुमारी मतिना डंगोल हुन्। उनी १४ असोज २०७९ देखि कुमारीमा स्थापना गरिएकी। यस अघि प्रकृति महर्जन कुमारी थिइन्।
यहाँ मखन ज्यापु गुठीले कुमारीको व्यवस्थापन गर्दै आएको छ। धेरै पहिलादेखि नै कुमारीलाई पूज्ने चलन छ। विशेषतः सर्बसाधारणका लागि तानादेवी खुला हुने दिन म्हःपूजा र गंगा दशहरामा कुमारीको दर्शन पाइन्छ। हिजोआज सन्ध्याकालीन आरतीमा समेत कुमारी सहभागि हुने गरेकी छन्।