पनौती। पनौती क्षेत्रको पर्यटन विकासमा क्रियाशील हुँदै आएको ‘पनौती पर्यटन विकास केन्द्र’ले स्थापना गरेको पर्यटक सूचना केन्द्र विधिवत् रुपमा सञ्चालनमा आएको छ। केन्द्रको १५ औं स्थापना दिवसका अवसरमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।
बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले केन्द्र शुभारम्भ गरेका हुन्। कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यलगायतले पनौतीलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए।
पनौती नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सूचना केन्द्र बनाइएको हो। ‘पनौती घुम्न आउने पर्यटकलाई सहज ढङ्गमा हामी सूचना दिनेछौं’, केन्द्रका पूर्व अध्यक्ष जयराम मानन्धरले भने।
केन्द्रको शुभारम्भ गर्नु अघि प्रमुख अतिथिसहितको समूहलाई बाजाबागाजाका साथ नगर परिक्रमा गराइएको थियो।
स्मरण रहोस्, सांस्कृतिक नगर पनौतीमा इन्द्रेश्व महादेवलगायत धेरै देवदेवीका मन्दिर छन्। यहाँको त्रिवेणीघाटमा हरेक १२ वर्षमा मकर मेला लाग्छ। एउटै ढुङ्गामाथि बसेको सहर भएकाले भुइँचालो जाँदा समेत पनौतीलाई असर पर्दैन।
अर्को महत्वपूर्ण कुरा, पनौतीलाई ‘योमरी सहर’ पनि भनिन्छ। विशेषतः नेवार समुदायले मंसिरे पूर्णिमामा बनाउने मिठाई योमरी पनौतीबाटै सुरु भएको मानिन्छ।
आज पनौतीको नेटो काटेर स्वदेश तथा विदेशसम्म योमरी पुगिसकेको छ। चाडपर्वका बेलामा मात्र होइन, रेष्टुराँमा वर्षैभरि पाइन्छ। पर्यटकका लागि पनौती बजार र सेरोफेरोमा होटल, होमस्टे र रिसोर्ट सुविधा छ।
तस्बिरहरु: