जुम्ला। जुम्लाको अन्न भण्डार ‘पातारासी’ भ्यालीलाई पर्यटनधामका रुपमा चम्काइने भएको छ। स्थानीय पर्यटनकर्मी अमर बिस्टको नेतृत्वमा इको टुरिजम विकास गर्न लागिएको हो।
पर्यटन प्रर्वधनमा क्रियाशील हुँदै आएका युवा अमर बिस्टको समूहले आउँदो अक्टोबरमा पातारासी हिमाल आरोहण गर्ने।
पातारासी गाउँपालिका–१, जुम्लामा पर्दछ पातारासी बेस क्याम्प। जुम्ला बजारबाट पातारासी (६,४५० मिटर) हिमालको आधारशिविरसम्मको पदमार्गलाई ब्रान्डिङ गरेर यसलाई डोल्पाको फोक्सुन्डो तालसम्म जोड्ने अभियानमा अमर बिस्ट र सिप बुढालगायतका युवा जुटिसकेका छन्।
‘प्रकृति र संस्कृतिको अनुपम भण्डार हो पातारासी। त्यसैले पर्यटनबाट गाउँलेले फाइदा लिन सक्ने वातावरण बनाउँदैछौं’, पर्यटन अभियन्ता बिस्टले भने, ‘हामी पातारासीको राम्रो ब्रान्डिङ गर्नेछौं। र, पूर्वाधार विकासका लागि सरोकारवालालाई झक्झक्याउँछौं।’
घुम्नलायक छ पातारासी जहाँ हिमाल, जडीबुटी, हिमताल, तातोपानी कुण्ड, झरना र हरियाली वनजङ्गल आदि सम्पदा छन्। यहाँबाट पातारासी हिमाल, काँडे हिउँचुली (६,३०० मिटर) र काञ्जिरोवा (६,८५८ मिटर) हिमालको मनोरम दृश्य देखिन्छन्।
पातारासी आधारशिविर चरन क्षेत्र हो। यहाँ घोडा, भेडा, बाख्रा र चौंरी चराइन्छ। त्यस्तै जङ्गली जनावरहरु नावर, घोरल र झारल पनि चरिरहेका देखिन्छन्।
सांस्कृतिक हिसाबले यहाँ क्षेत्री, दलित र भोटे समुदायको जीवनशैलीमा रम्न पाइन्छ। पातारासीको चुलीमा आजसम्म मानव पाइला परेको छैन। हिमाल आरोहण गरेर संसारभर सुखद् सन्देश फिँजाउने तयारी भैरहेको छ। ‘आउँदो अक्टोबरमा हामी पातारासी हिमाल आरोहण गर्नेछौं’, बिस्टले भने, ‘त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं।’ जुम्ला बजारबाट तिला नदी किनारैकिनार हिँडेर तीन दिनमा पातारासी बेस क्याम्प पुगिन्छ। पहिलो क्याम्पमा होटल सुविधा छ। बाँकी दुई दिन भने क्याम्पिङको विकल्प छैन।
पातारासी हिमाल चढ्छौं
हामीले कृषि, संस्कृति र पर्यटनलाई जोड दिएका छौं। हामी समग्र पातारासी क्षेत्रलाई पर्यटनधाम बनाउने छौं। अर्को कुरा, आजसम्म पातारासी चुलीमा कोही पुगेको छैन। आउँदो अक्टोबरमा हामी पातारासी हिमाल चढ्ने छौं। हाम्रो अभियानमा स्थानीय गाउँपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारले हातेमालो गर्नु पर्छ।