रामेछाप। ‘धर्तिकै स्वर्ग’ उपमा पाएको ‘शैलुङ’ पर्यटक माझ चर्चित गन्तव्य हो। विशेषतः हिउँदमा शैलुङ घुम्नेहरूको मेला नै लाग्छ। त्यतिबेला अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरूसँग आँखा जुधाउन पाइन्छ।
शैलुङका थुम्कामा भुइँकुहिरोको लुकामारी चलिरहन्छ। जब बादलुको घुम्टो उघ्रिन्छ तब पाखामा चरिरहेका सेता भेडाहरू टलक्क टल्किन्छन्। चौंरी गाईका दृश्यमा आँखा अडिन्छन्।
यतिबेला अर्थात् मनसुनमा नि? भुइँकुहिरो, बादल, हरियाली र भुइँफूलको सौन्दर्यले मोहनी लगाउँछ। शैलुङका थुम्कामा भुइँकुहिरोको लुकामारी चलिरहन्छ। जब बादलुको घुम्टो उघ्रिन्छ तब पाखामा चरिरहेका सेता भेडाहरू टलक्क टल्किन्छन्। चौंरी गाईका दृश्यमा आँखा अडिन्छन्।
शैलुङको मनसुनी प्रकृतिमा रमाउन भने पर्यटक कमै आइपुग्छन्। शैलुङ्का पर्यटन अभियन्ता दाबा सङ्बु शेर्पा भन्छन्, ‘मनसुनको मिठास बेग्लै हुन्छ। तन र मनमा ऊर्जा बढ्छ।’
दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बाशैलुङ गाउँपालिकामा पर्दछ शैलुङ (३१४८ मिटर)। यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छन्। साथमा सूर्योदय र सूर्यास्त पनि।
तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का। धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ। कुनै अग्ला त कुनै होचा। जुन थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन्। त्यसैले शैलुङ प्राकृतिक भ्यू टावर हो।
जैविक विविधताका हिसाबले हेर्दा वनजंगल, जडीबुटी, जंगली जनाबर र चराचुरुङीको भण्डारै हो शैलुङ। शैंलुङ प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तिर्थ पनि हो।
थुम्कामा गुरु पद्मसंभवका पाइला, माने र चैत्य छन्। त्यस्तै शैलुङेश्वर महादेव र गोदावरी गुफा पनि छ। यहाँ जनैपूर्णेमा ठूलो मेला लाग्छ।
यो क्षेत्र तामाङ, शेर्पा, नेवार, मगर, थामी, क्षेत्रीलगायत जातजातिको सुन्दर फूलबारी हो। सबै आपसमा मिलेर बसेका छन्।
शैलुङ यात्रामा निस्कनेहरूका लागि दोलखापट्टि कालापानी र रामेछापतिर खोलाखर्क, डडुवा र दोरम्बामा होटल तथा होमस्टे सुविधा छ।
कसरी पुग्ने ?
काठमाडौंबाट नेपालथोक १२० किलोमिटर। काठमाडौंको बौद्धनाथ नजिकै नारायणटारबाट बिहान ६ बजे दोरम्बा हुँदै डडुवासम्म जाने गाडी छुट्छ। यसले दिउँसो २ बजेतिर गन्तव्यमा पु¥याउँछ। डडुवाबाट ७ किलोमिटर हिँडेमा खोलाखर्क पुगिन्छ। अर्को रुट काठमाडौं मुडे–शैलुङ १३२ किलोमिटर। कम्तिमा दुई रात बस्ने गरि यात्रा योजना बनाउनु बेस हुन्छ।
शैलुङमा पर्यटक डाकिरहेको मान्छे
शैलुङका थुम्का मुन्तिर राजभिरमा जन्मे/हुर्केका दाबा सङ्बु शेर्पा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील अभियन्ता हुन्। विगत १० वर्षदेखि उनी पश्चिमी रामेछाप पर्यटन विकास केन्द्रको अध्यक्षका रुपमा काम गरिरहेका छन्। त्यसैगरि ४ वर्ष अघि उनकै नेतृत्वमा खोलिएको शैलुङ–खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवद्र्धन समिति पनि सक्रिय छ।
उनले यहाँ शैलुङखोलाखर्क होमस्टे पनि चलाउँदै आएका छन्। अर्को महत्वपूर्ण कुरा उनी हरेक बिहान शैलुङका थुम्कामा पुग्छन्। अनि कि त फेसबुक लाइभ गर्छन् कि त टिकटक बनाउँछन्। वा तस्बिरहरू पोस्ट गर्छन्। यसरी सामाजिक सञ्जालबाट सबैलाई शैलुङ घुम्ने निम्तो बाँडिरहन्छन्।
उनको सपना जपना दुवैमा शैलुङ नाचिरहन्छ। शैलुङका प्रवद्र्धका रुपमा उनी चिनिएका छन्। ‘हामीले वातावरणमैत्री भएर यहाँ पर्यटकीय पूर्वाधार विकास गर्नु पर्नेछ’, ४२ वर्षे शेर्पा भन्छन्, ‘खानेपानीको व्यवस्थापन राम्रो गर्नुछ। सडक पक्कि बनाउनु पर्ने आवश्यकता छ। पर्यावरण संरक्षण गर्दै हामी पर्यटन विकासमा निरन्तर लागिरहनेछौं।’
सम्पर्क–९८४४३१९३६०