डोटी। मनसुनमा खप्तडका पाटनहरू रङ्गविरङ्का भुइँफूलहरूले रङ्गीन बन्छन्। कुनै पहेंला, कुनै निला, कुनै राता र कुनै सेता फूलहरू। यतिवेला खप्तड फूलैफूलको गलैंचाले ढाकिएको छ।
आध्यात्मिक भूमि खप्तड मनसुनमा रङ्गीन बन्छ। रङ्गविरङ्का भुइँफूलहरूले खप्तडका पाटन रङ्गीन बनिसकेका छन्।
रङ्गीन पाटनमा चरिरहेका गाईबस्तु, घोडा र खच्चडहरू। त्यस माथि निलो आकाश, कति सुन्दर दृश्य! ठूलठूला पाटन (चौर), दह, जिवजन्तु र हिमाल खप्तडका विशेषता।
सुदूरपश्चिमको आध्यात्मिक भूमि हो, खप्तड। योग र ध्यानका लागि उपयुक्त गन्तव्य। यहाँको जैविक विविधताले सबैलाई मन्त्रमुग्ध बनाउँछ।
पौराणिक कथाअनुसार उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए। स्कन्द पुराणमा पनि खप्तडलाई ‘खेचराद्री’ भनिएको छ। खेचर शब्द अपभ्रंश हुँदै खप्तड बन्यो।
खप्तडमा त्रिवेणीधाम, सहस्त्रलिंग, केदारढुँगा, खप्तडबाबा आश्रम, खापर दह, घोडा दाउनेलगायत धार्मिक सम्पदा छन्। त्रिबेणीधाममा गंगा दशहराका बेला (जेठ–असार)मा मेला लाग्छ। तिर्थालुहरू रातभर डेउडा नाचगान गर्छन्। अनि बिहान त्रिबेणीमा स्नान गर्छन्। यसरी स्नान गर्दा पाप पखालिने जनविश्वास छ।
खप्तडमा २२ ओटा पाटन छन्। सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटी पाइन्छन्। खप्तडमा जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँस हाँस्छन्।
नेपाल सरकारले ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज घोषणा गरेको हो। २२५ वर्ग किमिमा फैलिएको निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ जसको उचाई १,२६२ देखि ३,२७६ मिटरसम्म छ।
खप्तडमा बस्ती छैन, सेनाको एउटा गुल्म र निकुञ्ज कार्यालय मात्र छ। निकुञ्जले बीचपानी र मुख्यालयमा गेस्ट हाउस चलाएको छ।
खप्तड घोप्टिएको कचौरा आकारको छ। यहाँ आइपुग्ने धेरै बाटा छन् जस्तो कि डोटीको झिग्राना, बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट खप्तड उकालिन सकिन्छ। चल्तिको बाटो झिग्राना हो।
खप्तडमा वर्षैभरि घुम्न सकिन्छ। भदौ महिनासम्म भुइँफूलहरूले स्वागत गर्छन्। तपाईं पनि यात्रा योजना बनाई हाल्ने कि ?
कसरी पुग्ने ?
काठमाडौं–धनगढी ६५० किलोमिटर, बसमा १६ घण्टा। धनगढी–सिलगढी २०० किलोमिटर, बसमा ८ घण्टा। अथवा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा। डोटीको सदरमुकाम सिलगढीबाट झिग्रानासम्म सडक जोडिएको छ। खप्तड प्रवेशद्वार झिग्रानामा बास बसेर ८ घण्टा हिँडेमा निकुञ्ज मुख्यालयमा पुगिन्छ।
खप्तडका प्रवद्र्धक
खप्तड प्रवद्र्धनमा धेरैले योगदान पुर्याउँदै आएका छन्। त्यस्तै एक युवा उद्यमी हुन् दिपक खड्का। उनले खप्तड प्रवेशद्वार झिग्रानामा पर्यटकीय सुविधाको ‘खप्तड होमस्टे’ सञ्चालन गरिरहेका छन्। पर्यटकलाई मिठो खाना खुवाउने र आरामदायी बास बसाउने काम त गर्छन् नै, सामाजिक सञ्जालबाट पनि बरोबर खप्तडको जानकारी बाँड्छन्। कहिले पर्यटकलाई हिँडाएर खप्तडदेखि बडिमालिकासम्म पुर्याउँछन् त कहिले हेलिकोप्टरमा उडाएर। उनी खप्तडका प्रभावशाली प्रवद्र्धक हुन्।
सम्पर्क: ९८५८४४०१३७