बर्सेनि कम्तीमा एउटा यात्रा गर्ने भन्ने मूल आशयका साथ अघि बढेको हाम्रो अभियानमा यसपटकको रोजाइ तिलिचो ताल बन्यो।
भाइटीकाको दिन टीका लगाएर हिँड्ने भन्ने पूर्वतयारीका साथ लागेको हाम्रो टोली योजनाको सुरूमा ८ देखि १० जनाको टिम बने पनि अन्तिममा हिँड्ने बेला भने ४ जना भयौं।
सुरूका केही समय तिलिचो जाने भनी योजना बनाउनुभएको तर विशेष कारणवश जान नमिलेका साथीहरूलाई सम्झना गर्दै करिब दिउँसो २:५० मा हाम्रो यात्रा सुरू भयो।
त्यस रातको हाम्रो बसाइँ लमजुङको सदरमुकामस्थित गेटवे हिमालय रिसोर्टमा भयो।
पहिलो दिन
हाम्रो पहिलो दिनको यात्रा मनाङ जिल्लाको सदरमुकाम चामे हुँदै खाङसारसम्म पुग्नुपर्ने थियो। लगभग ११२ किमी पार गर्नुपर्ने थियो। हाइड्रोपावरको जिल्ला भनेर चिनिने लमजुङदेखि मलेवर, भुलभुले, रामबजार, स्याँगे हुँदै जगत गाउँमा खाना खाने मेसो मिल्यो। तिलिचो हिमाल उद्गमस्थल रहेको मर्स्याङ्दी नदीको तिरतिरै पछ्याउँदै लागिरहेको साँघुरो अनि अप्ठ्यारो बाटा पार गरिरहँदा आउने मनमोहक बुङ, अक्टोपस साथै विभिन्न झरनाहरूले मन तरंगीत हुन्थ्यो।
च्याम्चे, खोत्रो, धारापानी, कोटो, चामे, स्वर्गद्वारी, ढुकुरपोखरी, हुम्दे, राँका, मनाङ गाँउ हुँदै करिब ३७०० मिटर उचाइमा अवस्थित खाङसारमा हाम्रो दोस्रो रातको बसाइँ भयो।
खाङसारस्थित पोटाला होटलमा कतिपय घुमन्ते तिलिचो पुगेर फर्किसकेका, कतिपय तिलिचो जाँदै, त कतिपय माथि जान नसकेर फर्किएकाहरू बास बस्नुभएको रहेछ।
उहाँहरूको अनुभव सुन्दा डर, त्रास, भय एकैपटक आउँथे, मनमा जुन किसिमको उत्साह अनि उमंग थियो तिलिचोको, ती सबै हराउँथे।
तिलिचो आफैंमा एउटा साहसिक यात्रा हो भन्ने त सुनिरहेकै हो, त्यहाँ पुगेर जे सुनियो, त्यो कुराले आत्मबल घट्नु त स्वभाविक नै थियो।
भोलिपल्टदेखि ट्रेकिङ सुरू गर्नुपर्ने भएकोले त्यस रात खाना खाइवरी समयमै आराम गरियो।
दोस्रो दिन
सुस्केरा हाल्दै बहिरहेको हिमालबाट आउने चिसो हावासँगै निद्रा खुलेपछि तातो चिया लिएर यात्रा अगाडि बढाउनतर्फ लाग्यौं। बेलुका जतिसुकै डर, त्रास भए पनि बिहान उठ्दाको उत्साह प्राकृतिक मनोरम दृश्यले भरिसकेको थियो।
खाङसारदेखि बिहान करिब ७:३० तिर हामीले यात्रा सुरू गर्यौं। बाटोमा हिँड्दै गर्दा बगिरहेको खोलाको छेउमा जमिरहेको ढिस्काहरू देख्दा चिसो भएको अनुभूति हुन्थ्यो। हिँडाइको पहिलो दिन भएको हुँदा हामीलाई हिँड्न सजिलै लागिहेको थियो।
लगभग ३६० डिग्री नै हिमालको दृश्य हेर्दै हिडिरहँदा थकान, दुखाइ केही पनि महसुस हुन्थेन।
बिहानी यात्रा सुरू भएसँगै हामी लाग्यौं श्रीखर्कतर्फ, करिब दुई घण्टाको पैदलयात्रापछि श्रीखर्क पुगियो। निश्चल मन भएकी साहुनी दिदीको आतिथ्यले त्यहीँ खाना खाएर जाने निधो गरियो, जसले गर्दा हामीलाई केही समय आराम गर्ने मेसो पनि भयो। आतिथ्य जुन किसिमको थियो त्यहीअनुसारको स्वाद खानामा त थिएन, तै पनि मिठै मानेर खाइयो। तर उक्त खाना धेरै बेरसम्म टिकेन, हामीमध्येकै एक जना साथीलाई खाना खाएर हिँडेको केही समयमै बान्ता भयो। साहुनी दिदीको आतिथ्य सत्कार जस्तै खाना मीठो हुँदो हो त यात्रामा अझै उल्लास आउँदो हो, हामी हल्का अतालिन थालेका थियौं, किनकि उचाइको यात्रामा बान्ता राम्रो संकेत होइन।
बान्ता भैसकेपछि एकछिन साथीलाई आराम गर्न लगायौं, हामी पनि आराम गर्यौं, केहीबेरको आरामपछि थोरै राहत महसुस भएपछि पुन: हिँड्न थाल्यौं।
केहीबेर अगाडि बढिसकेपछि दायाँ अनि बाँया गरी दुई बाटो आए, स्थानीयसँग बुझ्दा दायाँको बाटो बायाँको तुलनामा छोटो तर अप्ठ्यारो भएको भन्ने भएपछि बायाँको बाटोतर्फ लागियो।
बीचमा आराम गर्दै हिँड्दै गर्दा हाम्रो गति मन्द भैसकेको थियो। हामीलाई तिलिचो बेसक्याम्प साँझसम्म पुगे पनि हुने भएकोले हतार नगरी आराम गर्दै हिँड्न थालियो। हामी तिलिचो जाँदा सबैभन्दा खतरा मानिने पहिरोमा पुग्दै थियौं।
हल्का हावा चल्न थालेपछि उक्त पहिरोमा माथिबाट सानासाना ढुङ्गा माटोका कणहरू खस्न थाल्थे। हामीहरू पहिरोमा पुग्दा हावा नचलेको भए पनि माथिबाट हल्का परिरहेको थियो।
कुनै-कुनै ठाउँमा पहिरिएर बाटोको डोरी मेटिएको हुन्थ्यो, हामी माथिबाट पुन: पहिरो खस्ला भनेर सकेसम्म छिटो पन्छाएर बाटो बनाउँदै हिँड्थ्यौं।
जति गाह्रो भएको भए पनि सक्दो चाँडो पहिरो पार गरियो। पहिरो पार गरेर एकछिन थकाइ मार्न बसियो। अहिलेसम्म तिलिचो बेस क्याम्प देखिएको थिएन।
पहिरो पार गरिसक्दासम्म हामी थाकिसकेका थियौं। अझैसम्म पनि बेसक्याम्प नदेखिँदा अत्यास लागिसकेको थियो।
बल्लतल्ल बेस क्याम्प देखिन थालेपछि अब भने आउन लागेछ भन्ने लागेको थियो।
हाम्रो थकानले होला, जति अघि बढ्यो बेस क्याम्प त्यति नै अगाडि सरेझैं लाग्थ्यो। जसोतसो बेस क्याम्प पुगियो र मुनलाइट होटलमा बसियो।
दिनमा बाटोमा माथिबाट फर्कंदै गरेको जोकोहीलाई कस्तो छ के छ, कति समय लाग्छ यावतयावत प्रश्न सोध्दै गैरहेका हामी उक्त होटलमा फर्किएर बसेकालाई समेत सोध्न थालियो।
प्राय:को प्रतिक्रिया गाह्रो छ नै भन्ने भए पनि त्यहाँसम्म गैसकेपछि अब भने पुग्नैपर्छ भन्ने लागेको थियो।
होटलमा बस्दै गरेका घुमन्तेहरूको अनुसार यो खाँदा ठिक हुन्छ भनेको कुरा खाँदा हाम्रो एक जना साथीलाई फेरि बान्ता भयो।
अब भने हामी साँच्चिकै डराउन थालेका थियौं, हामीलाई भएको सानोतिनो दुखाइ, थकान सबै बिर्सिसकेका थियौं।
हामी सबैको दिमागमा अब के हुने हो भन्ने मात्र थियो, फेरि अर्को कुरा, त्यतिबेला केही अपरझट परेमा सम्पर्क गर्नलाई नेटवर्क पनि लाग्थेन।
गएर फर्किसकेकाहरूको अनुसार ताल पुग्नुअघि लगभग डेढ घण्टा हिउँमा हिँड्नुपर्ने थियो। माथि जाँदा सकेसम बिहान छिटो जानसके फर्कंदासम्म हिउँ पग्लन सुरू नहुँदै फर्कन सकिने भएकोले बिहानको अवस्था हेरेर अनि निर्णय गर्ने भनि बेलुका आराम गरियो। चिसो ठाउँमा भएर होला निद राम्रो पनि परेन।
तेस्रो दिन
बिहानै माथि जानलाई तयार हुँदै गरेकाहरूको होहल्लाले छिट्टै आँखा खुल्यो। हामी उठेर माथि जाने नजाने भन्दाभन्दै धेरै टोली उकालो लागिसकेका थिए। अन्तमा हाम्रो बिरामी साथीले आफू माथि जानलाई जोखिम नउठाउने कुरा गरेपछि उहाँलाई सक्दो उचाइ कम गराउनलाई तल झर्न लगाएर उकालो चढ्न थालियो।
जति उकालो चढ्यो त्यति हिमालको नजिक पुगेझैं सिरेटो हान्थ्यो। बाटो पार गर्दैगर्दा हिँड्न नसकेर थकाइ मार्न बस्दा ’म किन आएको होला’ भन्दै सुस्केरा हालेको पनि देखियो।
बिहानीको समय भएर पनि होला चिसो अत्यधिक थियो। बेला-बेला मनमोहक दृश्यहरूले तान्थे, तर चिसोले गर्दा क्यामेरा खोल्नको गाह्रोले कैद गर्न जाँगर लाग्थेन, अनि यी सबै दृश्य त आफैंले हेर्न पो आएको भन्ने सोच आउँथ्यो।
अब त चिसोले गर्दा हिँड्न गाह्रो भैसकेको थियो। ४,५ पाइला हिँडेपछि नै सास बढ्न थाल्थ्यो। बाइस घुम्तीसम्म बल्लतल्ल पुगियो, त्यसपछि उकालो देख्दा एकपटक त फर्कौं जस्तो लाग्न थालेको थियो, तर अब त्यहाँसम्म आइसकेपछि पुग्नुपर्छ भन्ने लागेर एकछिन थकाइ मारेर हिँड्न थालियो।
गाह्रो मान्दै उकालो चढेर सकेपछि हिँउको बाटो सुरू भयो।
अब भने अहिलेसम्म लागेको थकाइ,पीडा सबै बिर्सन थालियो। जता हेर्यो त्यतै हिउँ भएकोले यात्रा गर्नुको आनन्द बेग्लै थियो। पैंलादेखि जमेर बसेको हिउँमा भने थोरै चिप्लो हुन्थ्यो।
हिउँमा ट्रेकिङ जुत्ता नलगाएकाहरू बढी चिप्लन्थे, उनीहरूलाई त गाह्रो भएको हुँदो हो, तर हेर्दा रमाइलो महसुस हुन्थ्यो।
वरपर पूरै हिउँको बीचमा आफूला पाउँदा त हिमाल चढिरहेझैं फिल आउँथ्यो।
रमाइलो गरेर हिँड्दाहिँड्दै लगभग डेढ घण्टाको हिउँको यात्रा गरेको बाटो बितेको पत्तै भएन।
हिउँको सप्को ओढेको विश्वकै अग्लो स्थानमा (४९१९ मी उचाइ ० रहेको तिलिचो तालको पहिलो आवरण देख्दा केही सेकेण्ड सास रोकिएझैं महसुस हुन्छ।
तस्वीरमा मात्रै देख्न पाइएको स्वर्गको टुक्राझैं लाग्ने तिलिचो आँखाअगाडि देख्दा सम्पूर्ण थकान अनि पीडा सबै नाश भएर जान्छ।
देशको राष्ट्रिय झण्डा फहराएर पृष्ठभूमिमा निश्चल अनि सफा नीलो तालसहित तस्वीर लिरहँदा स्वर्गीय आनन्द पाइरहेका आँखा तालबाट विचलिन कदापि खोज्दैनन्।
हातमा कप समातेको मिनेटभरमै चिसिने चियाको चुस्की लिँदै ताल अवलोकन गर्दै गर्दा दुनियाँ अर्कै लाग्थ्यो। तथापी बहिरहने चिसो हावाले आँत छिचोलिरहेको भएर केही समय बसेर तस्विर लिइसकेपछि फर्कन लागियो।
बेस क्याम्पमा फोन सम्पर्क नहुने भए पनि केही उकालो चढेपछि भने टावर दिन थालेको थियो।
बल्लतल्ल बेस क्याम्पदेखि फर्किन लाग्नुभएको साथीलाई सम्पर्क भएपछि यात्रा सुरू गर्नुभएछ भन्नेमा ढुक्क भयो।
उकालोमा करिब ४ घण्टाभन्दा बढी समय लागेको बाटो फर्कंदा भने २ घण्टा १५ मिनेटमा झरिसकेका थियौं।
माथि गएर फर्कंदा भने मनमा एक किसिमको आनन्द आइरहेको थियो किनकि तिलिचो ताल पनि जानुपर्ने लिस्टबाट पुगिसकेको लिस्टमा गैसकेको थियो।
बेस क्याम्पमा फर्किसकेपछि हामीमध्येको एक जना तल ओर्लिसक्नुभएको साथीसँग बस्नेगरी उही दिन नै खाङसार आइपुग्ने गरी फर्किइयो।
अर्को दिन बिहानै बेस क्याम्प बस्नुभएको साथीहरू तल फर्किनुभएपछि खाङसारदेखि पुन: जीप चढेर बीचमा रहेको एग्रो मनाङ प्रा. लि., पिसाङमा अवस्थित स्याउ फार्म अवलोकन गरेर बेसीशहर आएर अन्तिम रात बिताएपछि भोलिपल्ट बेसीशहरदेखि पोखरासम्म आएर हाम्रो छोटो अनि मीठो यात्रा छिट्टै अर्को यात्रा गर्ने जमर्कोका साथ छुट्टिएको थियो।
अन्तमा, तिलिचो तालको अनुभव तीतो मीठो जे जस्तो भए पनि पुगेर फर्कंदासम्म प्राकृतिक सौन्दर्यले बिर्सन बाध्य बनाउँछ।
उक्त यात्रामा कतिपय स्थानमा नेटवर्कको पहुँच नभएकोले कसैलाई गाह्रो, अप्ठ्यारो पर्दा आपतकालीन उद्दारसमेत पाउन नसकेको घटना घटेको सुन्दा नेटवर्कको पहुँच विस्तार गर्न सके अझै उत्तम रहने पाइयो।
समग्रमा, तिलिचो ताल ट्रेकिङ रूट आफैंमा एउटा साहसिक यात्रा हो।
उचाइको हिसाबले पनि उच्च अनि बाटोको हिसाबले पनि कठिन मानिने तिलिचो, धर्तीको एउटा सुन्दर उपमा हो।
प्रकृतिमा रमाउने जोकोही एकपटक पुग्नैपर्ने ठाउँ हो तिलिचो ताल। हिमाल, पहाड अनि ताल सम्पूर्ण अनुभव एकैपटक लिन मिल्ने अमूल्य उपहार हो तिलिचो ताल।
पूर्णबहादुर मारूती/सेतोपाटी