मनाङ। विश्वकको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा विदेशी आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढे्को हो। गत वर्ष २० हजार २ सय ६७ पर्यटक मनाङ भित्रिएका छन्।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सार्क राष्ट्रका ८ सय ४३ र अन्य राष्ट्रका १९ हजार ४ सय २४ पर्यटक भित्रिएका छन्। मनाङ भ्रमणमा आएका मध्ये १२ हजार ७ सय ७९ पुरुष, ७ हजार ४ सय ८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए।
नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो।
साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई यहाँ आकर्षित गर्ने उनको भनाइ छ।
यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन्।