भक्तपुर। साँगा भक्तपुर र काभ्रेको सिमानामा रहेको पर्यटकीय स्थल हो । यहाँ रहेको शिवको मूर्ति एसियाकै अग्लो मूर्तिको रुपमा चिनिन्छ। शिव मुर्ति स्थलबाट भक्तपुर र काठमाडौँ शहर देख्न सकिन्छ ।
साँगा काठमाडौँ, भक्तपुर, ललितपुर र अन्य जिल्लाहरुबाट आउने भ्रमणकर्ता र पर्यटकको लागि गतिलो स्थान बनेको छ।
साँगाको कैलाशनाथ महादेवको मन्दिर तथा उक्त स्थान नजिकै नवनिर्मित झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको थियो। तर हालै सरकारले गरेको प्रतिवन्धका कारण केही कमि आएको छ।
प्राकृतिक मनोरमको रुपमा रहेको साँगाबाट उपत्यकालाई नियाल्न मात्र सकिने नभई दर्जनौं हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । स्वच्छ वातावरण, मनोरम ठाउँ, हरियाली, सफा, सुन्दर र हराभरायुक्त साँगामा आन्तरिक पर्यटकको रोजाईको ठाउँमात्र नभई सयौं स्थानीयवासीलाई रोजगारी तथा आयआर्जनको बाटो समेत बनेको छ ।
आन्तरिक पर्यटकहरु पुलको मध्यभागमा गई उपत्यकालाई नियाल्दै उत्साहित भएको देखिन्छ। वृद्धवृद्धा, युवा युवाती तथा वालवालिकाको समेत रोजाईमा परेको उक्त स्थानले भक्तपुरको विकास र समृद्धिको यात्रामा एउटा महत्वपूर्ण इँटाको रुपमा स्थापीत भएको छ।
झोलुङ्गे पुलमा पुग्दा लाग्यो कि कोरोनाको कहरलाई मानिसले विर्सिएर प्राकृतिक मनोरममा रमाइरहेका छन्, पर्यटकले दृष्यावलोकनको साथमा उपत्यकालाई केन्द्रविन्दु बनाई सेल्फी लिइरहेका थिए, खुसीयाली मनाइरहेका थिए, प्राकृतिसँग रमाइरहेका थिए।
सुन्दर प्राकृतिक वातावरण, डाँडाकाँडा सहित हिमाल, उपत्यका तथा काभ्रेका विभिन्न ठाउँहरुको दृष्यावलोकन गर्न सकिने उक्त स्थानमा घुम्न जाने रोजाईको ठाउँ बनेको छ।
हेर्नुहोस् तस्बिरहरू