दोलखा। दोलखा प्राकृतिक सुन्दरताले भरीपूर्ण जिल्ला हो। यहाँ गौरीशंकर हिमाल, कालिञ्चोक भगवती, भिमेश्वर मन्दिर, शैलुङ्ग डाँडा, जिरी, च्छोरोल्पा हिमताल, तामाकोशी बगर लगायत दर्जनौ धार्मिक तथा पर्यटकिय स्थलहरु रहेका छन्।
प्राकृतिक सुन्दरताले भरिपूर्ण दोलखा देशकै प्रमुख पर्यटकिय गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको छ। यहाँ रहेका धेरै पर्यटकिय सम्भावना बोकेका ठाउँहरु अझैपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। ती मध्येको एक हो , वैतेश्वोर गाउँपालिकाको वडा नम्बर ८ सितल बस्तीमा रहेको कालाघारी झरना।
सदरमुकाम चरिकोटबाट ३७ किलोमिटर टाढा रहेको कालाघारी झरना अत्यन्तै मनमोहक रहेको छ। १२ सय मिटर उचाँइमा रहेको यो झरना ६० मिटर लामो छ। वरिपरि भीरपाखाले घेरिएर सुनसान जंगलको बिचमा रहेको यो झरनाले त्यहाँ पुग्ने जो कोहीँको पनि मन लोभ्याउने गरेको छ। कालो ढुङ्गाबाट छेडिएर झरेको भएकोले उक्त झरनालाइ कालाघारी झरना भनिएको स्थानियको भनाइ छ। माथिबाट झर्रर आवाज सहित झरेको झरनाको दृश्यले पर्यटकहरुलाई रोमाञ्चित अनुभव गराउँछ। झरनाको मनोरम दृश्यको मज्जा लिदैँ पौडी खेल्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन्।
सडकको नजिकै भए तापनि झरना जाने बाटो अप्ठ्यारो हुँदा सोचे अनुरुप पर्यटकहरु आउन नसकेको स्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाले गोरेटो निर्माणका लागि बजेटसमेत विनियोजन गरेको छ। गाउँपालिकाले ३८ लाख वजेट छुट्याएर सो झरनासम्म जाने सिढी तथा अन्य संचरनाहरु निमार्ण गरिरहेको छ।
बाह्रै महीना एकैनाशले पानी बगिरहने सो झरनामा बञ्जिजम्प सहितको संरचनाका लागि बागमती प्रदेश सरकारको सहयोगमा डीपीआर निमार्ण गरिएको छ। पालिकाले सो झरनामा रक क्लाइमिङ्ग लगायतका साहसिक खेलको पनि राम्रो सम्मभावनालाई मध्यनजर गर्दै त्यस्ता खेलहरुको बारेमा अध्ययन गरिरहेको जनाएको छ।