रामपुर (पाल्पा), माघ ५
कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।
खैरनी वनको माथिल्लो भागबाट तलतिर हेर्दा नदीले वनलाई घेरेर बहेको देखिन्छ । यो दृश्यलाई बाटोमा यात्रा गर्ने यात्रीले आफ्नो क्यामेरामा कैद गर्दछन् । यहाँका उपभोक्ताले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पर्यटन विस्तारको काम अगाडि बढाएका छन् । हेर्दै सुन्दर र मनमोहक देखिने यस वन क्षेत्रलाई पशुपक्षी संरक्षण, धार्मिक दृष्टिकोणले काम गर्ने र पर्यटन विकास गर्ने गरी तीन भागमा विभाजन गरेर पर्यटकीय क्षेत्र विकास गर्ने गरी योजनाबद्ध रुपमा अगाडि बढेको समितिका अध्यक्ष छायाँचन्द्र पङ्गेनीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वनले अथाह पर्यटनको सम्भावना बोकेको छ, यहाँ पर्यटक भित्र्याउन भौतिक पूर्वाधार विकासको खाँचो छ, पूर्वाधार निर्माणका कामलाई जोड दिएका छौँ, यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउनेछौँ” ।
खालीवनको माथिको डाँडाबाट झण्डै आधा घण्टाको ओरालो बाटो खैरेनी वनको दृश्य अवलोकन गर्दैगर्दा फेदीमा झरेको कसैलाई पत्तो हुदैन । प्रकृतिका विभिन्न छटासँगै डुबुल्की मार्दै फेदीमा झर्दा जोकसैलाई पनि सपनाबाट विपनामा ब्युझिएजस्तो आभास हुन्छ । पौराणिक कथनानुसार पवित्र कालीगण्डकी नदीको उद्गस्थल मुक्तिनाथदेखि नदी बहेर आएको बखत रामपुर नगरपालिका साविक खालीवन गाविसको खैरेनी सामुदायिक वनबाट दक्षिणतर्फ नदी बग्ने क्रममा खैरी नाम गरेकी गाई ब्याएर बसेको भन्ने कथन रहेको ७२ वर्षीय भोजराज न्यौपानेले बताउनुभयो ।
“हेर्दै आनन्द लाग्ने प्रकृतिकले दिएको यति सुन्दर दृश्यले सबैका मन लोभ्याएको हुन्छ, सोँचे अनुसार जति विकास हुनुपर्ने हो त्यो भएको छैन, तैपनि पछिल्लो समय भने पर्यटन विस्तारका कामको सुरुवात भइरहेको छ”, उहाँले भन्नुभयो । गाईले बच्चा जन्माएर बसेपछि बग्दै आएको नदी सोहीबाटो फर्केर उत्तरतर्फ बग्दै गएको भन्ने किम्बदन्ती छ । यस क्षेत्रलाई धेरैले गाईले बच्चा पाएर नदी घुमेको स्थान भनेर पनि चिनिन्छ ।
नदी बहेर फर्केको दक्षिणतिरको भागमा ठूला साना गरी १० वटा जति ओढार रहेका छन् । यी ओढारमा त्रेतायुगमा ऋषिमुनि यहाँ आएर बसेको पौराणिक कथन रहेको छ । यहाँ चार वटा ठूला गुफा पनि छन् । वन क्षेत्रमा एक वटा ठाँटी, गौतमबुद्धको मन्दिर निर्माण, गिद्धको आहार केन्द्र निर्माण भएको छ । यहाँको पर्यटन विकासका लागि रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु चार लाख बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा जिल्ला वन कार्यालय पाल्पाको रु पाँच लाख रकमबाट प्रवेशद्धार निर्माणको काम भइरहेको छ । गुरुयोजना बनाएर वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै अगाडि बढेको छ । वनभोजस्थल, खानेपानी, विद्युत्, गुफा निर्माणको विकास गर्ने वन समूहले जनाएको छ । यसवन क्षेत्रमा सिमल, खयर, साललगायतका बहुमूल्य प्रजातिका वानस्पति पाइन्छ ।
जलहाँस, कुखुरा, गिद्ध, कालीज, खरायो, मृग, चितुवा जस्ता जङ्गली जनावरको बासस्थानका रुपमा पनि यो वनलाई लिइने गरिन्छ । काठपात, घाँस दाउरा, स्याउला जस्ता वन पैदावार १४२ घरधुरीका उपभोक्ताले उपभोग गर्दै आइरहेका छन् । करिब ३१ दशमलव ८५ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । विसं २०४९÷५० मा सामुदायिकरण गरी उपभोक्ताबाट रेखदेख गर्न थालियो । सामुदायिकरण भएपछि उपभोक्ताले वन पैदावार उपभोग गर्न पाएका छन् । विसं २०५२÷५३ मा दर्ता गरी समुदायका स्थानीयवासीले भोगचलन गरी आएका छन् । यस वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्रका रुपमा विकास गरिएको छ । हाल यहाँ १३० को हाराहारीमा गिद्ध रहेका छन् ।
विसं २०४९÷५० को समयमा एक हजारको हाराहारीमा गिद्धले बासस्थान बनाइ बस्ने गरेको ६० वर्षीय रुक्मागत अर्यालले बताउनुभयो ।“पहिला पहिला वनभित्र ठूलो सङ्ख्यामा गिद्धका समूह हुन्थे, आहारको रुपमा उपचार गरिएका मरेका पशु खाँदा गिद्धको सङ्ख्या घट्दै गएको छ”, उहाँले भन्नुभयो । विसं २०५८ मा यस क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरिएको थियो । मरेका गाईभैँसी, गोरु आहारका रुपमा खाँदा गिद्ध मर्दै गएको स्थानीयवासी बताउँछन् । विभिन्न उपचार गरिएका पशु आहार सेवन गर्दा गिद्ध मासिँदै गएको बताइएको छ ।
वनलाई सामुदायिकरण गर्न थालिएपछि वन संरक्षण, विभिन्न प्रजातिका बोटबिरुवा निस्कन थाले, पशुपक्षी संरक्षण, वनमा सिकार खेल्न निषेध, पर्यावरण सुधार, गिद्ध संरक्षण, चोरी निकासी बन्द जस्ता कार्य भएको छ । गिद्धको आहार व्यवस्थापनका लागि मरेका पशु खान घेरबार गरिएको छ । वनभित्र खोरेत रोग लागेका, भ्याक्सिन लगाएका पशु बन्देज गरिएको छ । यहाँ विसं २०७२ देखि गिद्धको आहार व्यवस्थानको काम भएको छ । यसको प्रभाव राम्रो परेको छ । यहाँ १७४ मिटरको गोलाकारमा गिद्धको आहार गर्ने क्षेत्र निर्धारण गरिएको छ । नदीले घेरेको वनलाई सानो खैरेनी वन र नदीले नघेरेको वनलाई ठूलो खैरेनी वन भनेर यहाँका स्थानीय वन समूहका उपभोक्ताले नामाकरण गरेका छन् ।
यस वनक्षेत्रभित्र विभिन्न जातका चराचुरुङ्गीको आवाज, काली नदी कलकल बहेको मनोरम दृश्य, हराभरा घना जङ्गलमा साथीसङ्गी, प्रेमीप्रेमिका, आफन्त प्राकृतिक वातावरणमा रमाउन पुग्छन् । वनसम्म पुग्ने मोटरबाटो स्तरोन्नति गरेर पाटीपौवा, खानेपानी, वनभोजको लागि आवासगृह निर्माण, यहाँ रहेको गौतमबुद्धको मूर्तिसहितको कुटीको स्तरोन्नति, बर्खायामको समयमा नदीले दक्षिणतिरको क्षेत्रबाट पनि बहेर टापु आकारको खैरेनी वनलाई घेर्ने हुँदा त्यहाँसम्म पुग्नका लागि डुङ्गा सञ्चालन गर्न सकेको खण्डमा यस क्षेत्रमा दिनहुँ सयौैँको मात्रामा पर्यटक भित्रनेछन् ।
कालीगण्डकी करिडोरबाट नजिकै पर्ने हुँदा यो क्षेत्र पर्यटकीय हिसाबले प्रचुरसम्भावना बोकेको छ । यहाँ पर्यटन प्रवद्र्धनको कार्य गरी दैनिक सयौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ ।
सुशीला रेग्मी/रासस