काठमाडौं। के तपाईंले भगवानलाई भाँडावर्तन चढाएको देख्नु भएको छ ? काठमाडौंको एउटा मन्दिरमा विभिन्न किसिमका भाँडावर्तन चढाउने चलन छ। पितृहरूको स्वर्गमा बास होस् र जिवितहरू पनि रोगव्याधीबाट मुक्त भएर बाँच्न सकुन भन्ने कामना गर्दै भाँडावर्तन चढाइन्छ।
कीर्तिपुर नगरपालिका–६, चोभार डाँडामा पर्ने ‘आनन्दादी लोकेश्वर मन्दिर’का सत्तलभरि भाँडावर्तन टाँगिएका छन्। विशेषतः पित्तलबाट बनाइएका भाँडावर्तन टाँगिएका छन् जहाँ कसौंडी, थाल, डाडु, पन्युँ, पूजाथाली, करुवा, गाग्री, ताउलोलगायत सजाइएको छ।
दिवंगत आत्माहरूको स्वर्गमा बास होस् र जिवितहरू रोगव्याधीबाट मुक्त भएर आनन्दित हुन सकुन भनेर चोभार डाँडा, काठमाडौंको आदिनाथ मन्दिरमा भाँडावर्तन चढाइन्छ।
तिर्थालुहरूले परिवारका दिवंगत सदस्यहरूको स्मृतिमा भाँडावर्तन टाँगेका हुन्। त्यसैले भाँडामा उनीहरूको नाम लेखिएको देखिन्छ।
पूजारी इन्द्रबहादुर शाक्यकाअनुसार पहिलापहिला पितृहरूको नाममा मन्दिरमै भाँडावर्तन टाँगिन्थ्यो। हिजोआज वरिपरिका सत्तलमा मात्र टाँग्ने व्यवस्था मिलाइएको छ। त्यसैले मन्दिरको भित्री र बाहिरी भित्तामा टाँग्न पाइन्न।
‘रोग र कष्ट निवारण गर्ने शक्ति भएका भगवान भएकाले, शरीरमा कसैलाई रोग नलागोस्, लागेको रोग पनि सन्चो होस् भनेर’, शाक्यले भने, ‘अचेल जिवित मान्छेका नाममा पनि भाँडावर्तन चढाइन्छ। यसरी चढाउँदा मनले चिताएका राम्रा कुरा पुरा हुन्छन् ।’
यो मन्दिर हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो। यहाँका भगवानलाई बौद्धमार्गीले लोकेश्वर र हिन्दूले आदिनाथका रुपमा पूजा गर्छन्।
यहाँका पूजारी बौद्धमार्गी हुन्। यहाँ नित्य पूजा गरिन्छ। त्यस्तै वर्षमा एक महिनासम्म मेला लाग्छ। चैते दशैंमा पनि विशेष मेला लाग्छ। चैते अष्टमीका दिन रथ यात्रा गरिन्छ। त्यो दिन नख्खु खोलादेखि मन्दिरसम्म रथ यात्रा गराइन्छ।
बडा दशैंको कोजाग्रत पूर्णिमादेखि चल्ने एक महिने मेलामा धेरैतिरका तिर्थालु आउँछन्। मेलाको अन्तिम ५ दिन पानीको भरमा मात्र ‘निर्जला व्रत’ बस्ने चलन छ।
पहिलापहिला झैंझगडा भएर छुट्टिएर बसेको अबस्थामा सम्बन्धलाई पुन जोड्न वा औपचारिक रुपमा सम्बन्ध विच्छेद गर्न यस मन्दिरमा व्रत बसिन्थ्यो। व्रतको अन्तिम दिन परिवारका सदस्य लिन नआएमा पारापाचुके भएको मानिन्थ्यो।
लोकका इश्वर भएकाले यहाँ सबै जातजातीका तिर्थालु आउँछन्। हिन्दू र बौद्धमार्गीले आआफ्नै हिसाबले पूजाअर्चना गर्छन्। खासमा सबैलाई आनन्द दिने करुणामय हुन् लोकेश्वर।
काठमाडौं उपत्यकामा चार ओटा करुणामय लोकेश्वरका मन्दिर छन्। ती मध्ये काठमाडौंका सेतो मच्छिन्द्रनाथ, पाटनका रातो मच्छिन्द्रनाथ, बनेपा नालाका सृष्टिकान्त र चोभारका आनन्दादी लोकेश्वर हुन्।
रातो मच्छिन्द्रनाथ र चोभारका लोकेश्वरको मुहार रातो रंगको छ भने अन्यत्रको सेतो। चोभारस्थित प्यागोडा शैलीको तीन तले मन्दिरमा लोकेश्वरको मूर्ति छ। यो मन्दिर पन्ध्रौं शताब्दीमा बनाइएको इतिहास छ। वि.सं. २०७२ सालको भुइँचालोले क्षतिग्रस्त भएपछि मन्दिर पुननिर्माण गरिएको छ।
मन्दिर भएको डाँडाको नाम ‘चोभार’ हो। नेवारी भाषाको ‘च्व’ को अर्थ माथि र ‘बाहाः’ को अर्थ बहाल हो। त्यसैले अग्लो भुगोलमा रहेको बहाललाई ‘च्वबहाः’ भनिन्थ्यो। पछि अपभ्रंस भएर ‘चोभार’ भन्न थालिएको पूजारी बताउँछन्।
त्यसैगरि चोभारडाँडालाई ‘कच्छपाल सुवर्णगिरि’ पनि भनिन्छ। टाढाबाट झलक्क हेर्दा कछुवा आकारको देखिने भएकाले कच्छपाल भनिएको। ‘सुवर्णगिरि’को अर्थ हुन्छ सुनैसुनको पहाड। त्यसैले स्थानीयहरू यसलाई अमूल्य डाँडाको रुपमा व्याख्या गर्दछन्।
डाँडामा लोकेश्वर दर्शन गर्न जाँदा सेरोफेरोका सुख्खा बन्दरगाहा, मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह र कीर्तिपुर बजार घुम्न सकिन्छ ।
लोकेश्वर हातामा होटल सुविधा छैन । खाजाघर भने छन् । नजिकैको कीर्तिपुर बजारमा चाहिँ होटल र होमस्टे सुविधा छ ।
डिर्भोस गर्न व्रत
वैवाहिक सम्बन्ध विच्छेदको कानुन नबनेको समयमा पारपाचुके गर्न र सम्बन्ध जोड्न समेत आनन्ददादी लोकेश्वर मन्दिरमा व्रत वस्ने चलन थियो। यहाँ कोजाग्रत पूर्णिमादेखि महिना दिनसम्म मेला लाग्छ । मेलाका अन्तिम ५ दिन पानी मात्र पिएर ‘निर्जला व्रत’ बस्ने चलन छ।
पहिलापहिला झैंझगडा भएर छुट्टिएर बसेको अबस्थामा सम्बन्धलाई पुन जोड्न वा औपचारिक रुपमा सम्बन्ध विच्छेद गर्न व्रत बसिन्थ्यो। व्रतको अन्तिम दिन परिवारका सदस्य लिन नआएमा पारापाचुके भएको मानिन्थ्यो। यसरी ‘सम्बन्ध विच्छेद’ भए पछि महिला र पुरुषले अर्को विवाह गर्न छुट पाउने धार्मिक मान्यता थियो।
‘हामीले पनि यस्तै घटना सुनेका हौं’, ७० वर्षे पूजारी इन्द्रबहादुर शाक्य भन्छन्, ‘निर्जला व्रत त अचेल पनि बस्छन्। तर यो उमेरमा आइपुग्दासम्म मैले सम्बन्ध विच्छेदका लागि व्रत बसेको देखेको छैन।’ सुस्वास्थ्य, निरोगिता र आनन्दका लागि निर्जला व्रत बस्ने चलन भने कायमै छ।