काठमाडौँ। नेपाल पर्यटन बोर्डले चालु नयाँ आर्थिक वर्ष २०८०/१ को बजेटको ८० प्रतिशत रकम पर्यटन प्रवर्द्धनमा खर्च गर्ने भएको छ।
बोर्डका निर्देशक मणिराज लामिछानेले चालु आ.व.को ८० प्रतिशत रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन खर्च गरिने जानकारी दिएका हुन्।
निर्देशक लामिछानेले भने, “बोर्डले साउन १५ भित्रै आर्थिक वर्ष २०८०/८१ का लागि करिब सवा अर्ब रुपियाँको हाराहारीमा रहेर बजेट ल्याउन लागेको छ। आगामी आवको बजेटमार्फत अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दा विगतमा भन्दा नयाँ ढङ्गले अगाडि बढ्दै डिजिटाइजेसनलाई प्राथमिकता दिन लागेका छौँ।”
विगतका आर्थिक वर्षहरुमा बोर्डले अन्तर्राष्ट्रियस्तरमा गरेको पर्यटन प्रवर्द्धनले राम्रो प्रतिफल प्राप्त भएकाले आगमी दिहरुमा पनि यसै प्रकृयामा जोड दिइने उनले बताए।
बोर्डले आगामी वर्ष मुख्यतः भारत, चीन, थाइल्यान्ड, मलेसिया, हङकङसहित युरोपेली मुलुकमा नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई प्रवर्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गराउन विश्व पर्यटन बजारको ध्यानाकर्षित गरिने उनको भनाइ छ।
चालु आवमा देशभित्रै आयोजना गरिएका हिमालय ट्राभल मार्ट, बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टलगायतका ठुला सम्मेलनबाट भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकमा नेपालको पर्यटन प्रवर्धन र सम्भावनाबारे भएका छलफलबाट पछिल्लो समय बाह्य पर्यटक आगमनमा सुधार देखिन थालेको उनले बताए।
सन् २०२३ भर करिब १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा आधारित हुँदै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायतका पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसारमा जोड दिइने लामिछानेको भनाइ छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विभिन्न अभियानसमेत सञ्चालन गरिने उनले बताए।