काठमाडाैं। श्रावणको १ गते रुकुम पूर्व र रोल्पा जिल्लामा राँख्या तिवार मनाउने प्रचलन रहेको छ।
उधौलीको शुरुवाट, राँख्या मगर खाम भाषाबाट बनेको शब्द हो। जानकारका अनुसार ‘राँ’ भनेको आगो ‘ख्या’ भनेको फाल्ने। यसरी घर भित्र लुकेर वसेका अदृश्य राकस, रोग व्यादी काना राकस, दुना राकस लाई आगोको माध्ययमवाट घरवाट धपाउनु नै हो।
कसरी गरिन्छ आगो पुजा ?
मगर समुदायमा जल, जमिन, आगो मुख्य गरि पुज्ने गर्दछन्। आगोलाई अग्नी माता भनेर चिन्छौ। हाम्रो शरिरमा काक्सी वोक्सी लागेमा पनि झाक्रीले आगोले हानेर काक्सी वोक्सी धपाउने चलन छ। यस राँख्या तिवारमा पनि सोही राकसहरुलाई धपाउन आगोको पुजा गरी राकस धपाईन्छ।
पुजाको बेला दुई राँका निस्कन्छ, चोयाले बुनेको काप्चेमा माथिल्लो तलमा एउटा राँका जुन आकाशे मातालाई, तलको तलामा एक राँका जुन धर्ति मातालाई साँक्षी राख्दै राकस धपाउने चलन छ। चुलोवाट राँका वाहिर निकाल्दा हो हो हो घर भित्र लुकेर बसेका सबै राकसहरु भाग नत्र यसै आगोले हान्छु भन्दै राँका बाहिर निकालिन्छ। फेरी चुलोको चार ओटा अगुल्टो तानेर लगि चार दिशा फालिन्छ।
फाल्ने बेला ‘काना झ्या दुना झ्या धोङनन्के ह ह’ भनिन्छ, भनेको काना राकस दुना राकस भाग भनिन्छ। यो दिन फालेको अगुल्टोले कुनै घरमा क्षती गर्दैन भन्ने मान्यता छ। किनकी हगुल्टोमा आगो हुन्छ त्यो आगोले खरको घरमा आगो लाग्न सक्छ भन्दा यो दिन कसैको घरमा आगो परेमा पनि आगलागि हुँदैन भन्ने मान्यता छ। घरको काल कष्ट रुघा मुघाले नछोस भनेर भनिन्छ।
आगोको मुनी एउटा थान बनाईन्छ त्यसमा मकैको बोट, आरु, ओखर, तिमुर, पुराने, थुन्के चढाईन्छ जस्को अर्थ यो फलफुल र अन्न खानयोग्य हुन लागेकोले खान अनुमति पनि मागिन्छ।
पुजा गरि राकस धपाउने बेला हामीले प्रयोग गर्ने सबै हात हतियार खर खजना थानमा राख्नु पर्छ। राकस धपाउने वेला बन्दुक पड्काई भाग राकस भाग भनिन्छ भने वन्द्क नहुनेले अगुल्टो पड्काउने चलन हुन्छ। त्यस पछि प्रत्यक हतियार उठाई ‘ह ह ह’ भाग भन्दै हतियार देखाईन्छ। थानमा राखिएको रोटी रक्सी सक फालिसकेपछि घर भित्रवाट मुल भैसीले लगाउने भेर गाईले लगाउने घानु सबै लगाएर वच्चाहरु राकस धपाउदै हल्ला गर्दै गाउँ घुमाउछन्। बाजा बजाउने दमाहा वाधक पनि दमाहा वजाएर गाउँको पन्च घरवाट शुरु गरि दमाहा बजाउँदै गाउँ घुम्ने चलन छ।
नाच गान संग सम्वन्धित राँख्या तिवार
चैते दशैमा झोरा, नचारु नयाँ ओखला पस्न नपाएमा साउनको एक गते नयाँ ओखरा जान सकिन्छ। त्यस कारण बन्द भएको बाजा–गाजा पनि फुकाउने दिनको रुपमा लिन सकिन्छ। साउनको एक गते भूमे नाच झोरा, नाच, नचारु नच, फाँक नाच नाच्ने चलन पनि छ । यसरी पहिले वर्षा याममा धेरै किसीमको रोग व्यादी लाग्ने भएकोले ती रोग व्यादीवाट वच्नको लागि यो आगोको पुजा गरिएको हो। राँ बाट बलेको आगोले आँखा सेक्ने चलन छ जुन आँखा पाक्नबाट बचाउछ भन्ने मान्यता रहेको छ।
त्यस्तै देशको पूर्वी भु–भाग तथा अन्य भू–भागहरुमा यस दिनलाई ‘लुतो फाल्ने’ दिनको रुपमा लिने गरिन्छ।
लुतो फाल्ने कर्म श्रावण १ गते साँझ गरिन्छ। यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ।
सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ। जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ। यी सबै चिजका अलावा बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ।
संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ। यसको अर्थ लुतो फाल्ने नै हो। यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने उपाय हो भन्छन् बुढापाकाहरु। पूजा सकेपछि दियालो बालिन्छ। कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैँ पड्किन सुरु हुन्छ। कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ। ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ। दाउरालाई सबै दिशातिर फालिन्छ।
कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ। यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्काे गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ। अर्काे गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन्।
-रुकुम पूर्व, क्याङ्सी निवासी रोका मगर सांस्कृतिक अध्येता र अनुसन्धाता हुन।