काठमाडौँ। उपत्यकामा हुने सावरी जाम कुनै नौलो कुरा हैन। उपत्यकामा चल्ने सबै सवारीले दिनहुँ भोग्ने सास्ती हो यो।
बढ्दो सावरी चाप र भिआइपीका नाममा हुने सवारीले जनतालाई थप सास्ती प्रदान गर्दै आएको छ। यहीँ समस्या समाधान गर्न विभिन्न उपायहरू अपनाउँदै आइएको छ। यस्तै दिनहुँ जामको समस्या भोग्नु पर्ने ठाउँ मध्ये एक हो नयाँ बानेश्वर चोक। यो चोक उपत्यकाकै धेरै जाम हुने चोकहरू मध्ये एक हो। यही समस्या समाधान गर्नको लागी अहिले नयाँ योजना सञ्चालन गर्ने तयारी भइरहेको छ।
व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु गरिएको हो।
सडक विभागका अनुसार माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको हो।
जापानी सहयोग नियोग जाइकाको सहयोगमा सवारी जाम घटाउन नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा पश्चिममा यस जोनको निर्माण भइरहेको विभागले जनाएको छ।
विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने “निर्माण सुरु भइसकेको छ । त्यसै अन्तर्गत सो क्षेत्रमा माइतीघर–तीनकुने सडकखण्डको बिच (मेडियन) मा लगाइएका रुखबिरुवा उखेल्ने र तार पोल हटाउने काम भइरहेको छ,” उनले भने, “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब साठी लाख रुपियाँ अनुदान सहयोगमा निर्माण भइरहेको छ । अब बढीमा डेढ महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’’
महानिर्देशक ढकालका अनुसार अहिले सडक बिचमा रहेको ‘मेडियन’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिने छ, जुन लेनबाट माइतीघरतिरबाट आउने सवारीसाधन शङ्खमूलतर्फ जाँदा अरू लेनका सवारीसाधन रोक्नु पर्दैन । त्यसै गरी तीनकुनेतिरबाट आउने सवारीसाधन पुरानो बानेश्वरतर्फ जाँदा अन्य लेनलाई असर गर्दैन । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनुका साथै सो क्षेत्रमा सवारी जाम हुने छैन ।