पोखरा। पर्यटकीय सहर पोखरामा आरामदायी होटल तथा स्वादिला रेष्टुराँको कमि छैन्। दिनभर घुमफिर गरेर भिडभाडभन्दा बाहिर शान्त गाउँले वातावरणमा रमाउन चाहनेहरूका लागि भने वेगनासताल र रुपातालको शिरमा रहेको ‘पचभैया’ गाउँ उपयुक्त गन्तव्य बन्न सक्छ।
भिडिओ:
पचभैया अर्थात् प्रकृतिको काखमा आत्मीय वातावरण पाइन्छ। त्यसमाथि सस्तोमा खाना र बास पनि। त्यसैले एकपटक पचभैयाको आतिथ्यता चाखेको मान्छे दोहोर्याएर आइपुग्छन्। विदेशी हप्तौं बसेर आनन्द लिन्छन् भने नेपालीहरू सामान्यतयाः एक रात विताउँछन्।
हाइकिङ, बोटिङ, फिसिङ, साइक्लिङ, बर्डवाचिङ र योग तथा ध्यानका लागि पचभैया गाउँ उपयुक्त छ। यहाँ हजार रुपैयाँको प्याकेजमा ब्रेकफास्ट, लन्च, डिनर र बेड सुविधा पाइन्छ।
‘हाम्रो गाउँमा आउने पर्यटकले आफ्नै घरमा बसेको अनुभव गर्न पाउनुहुन्छ’, पचभैया सामुदायिक होमस्टेकी अध्यक्ष निलकुमारी थापा भन्छिन्, ‘हामी मन खोलेर स्वदेशी तथा विदेशी पाहुनाको स्वागत गर्छौं।’
वेगनासताल र रुपातालका बीचमा लमतन्न फैलिएको गाउँ नै ‘पचभैया’ (८५० मिटर) हो। पोखरा महानगरपालिका–३१ मा अवस्थित पचभैया प्रकृतिको सुन्दर उपहार। गाउँबाट हेर्दा तालका दृश्य आँखैमा टाँसिन आइपुग्छन्। यहाँबाट धौैलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण, मनास्लुदेखि गणेश हिमालसम्मको रमणीय दृश्य देखिन्छ।
पचभैयामा पर्यटनको अथाह सम्भावना छ। त्यसैले वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिएर राम्रो प्रसारप्रसार गर्न सके पचभैया संसारमै चिनिन सक्छ। यसका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पचभैयालाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ।
जैविक विविधताका दृष्टिले पचभैया भुस्वर्ग नै हो। यहाँ २०० प्रजातीभन्दा बढीका चरा र त्यति नै प्रजातिका पुतली पाइन्छन्। थरीथरीका रुख र वनस्पति पनि।
यस क्षेत्रका आकर्षणमा वेगनासताल, रुपाताल, देउराली मन्दिर, गोखरनाथ मन्दिर, मंगल धर्म चक्र वौद्ध गुम्वा, पोखरा जुलोजिकल पार्क (वन्यजन्तु उद्धार केन्द्र), सुन्दरीडाँडा भ्यूटावर, विपश्यना ध्यान केन्द्र, सिड फाउन्डेसन (महिला सशक्तिकरण केन्द्र), माझीकुना, वेगनास वराह मन्दिर, वेगनास कोट बारी, सीता गुफा आदि हुन्।
पचभैया सहित वेगनास क्षेत्रको समग्र विकासमा ‘सिड फाउन्डेसन’ले ठुलो योगदान पुर्याएको छ। यसले विगतमा जातीय विभेद विरुद्ध अभियान चलाएको थियो। पिछडिएका बालबालिकालाई पढाउने काम पनि गर्यो। कास्की जिल्लाकै ४० भन्दा बढी विद्यालयको पुननिर्माणमा हातेमालो गर्यो। त्यति मात्र होइन, वातावरण संरक्षणमा पनि अभियान चलाउँदै आएको छ। रुपाताल र वेगनासतालमा जलकुम्भी नियन्त्रण गरायो। पछिल्लो समय स्थानीय महिलालाई आत्मनिर्भर बनाउन ‘महिला सशक्तिकरण केन्द्र’ सञ्चालन गरिरहेको छ। महिलालाई विभिन्न सिपमुलक तालिम दिँदै आएको छ।
घुमन्तेहरूका लागि महिला सशक्तिकरण केन्द्र पनि अध्ययन थलो बन्दै आएको छ। पचभैयालाई रोयल ट्रेक, सिकलेस इको ट्रेक, गुरुङ हेरिटेज ट्रेक र अन्नपुर्ण सर्किटको प्रस्थान वा अन्तिम विन्दुका रुपमा समेत लिन सकिन्छ।
पचभैयामा ४५० घर धुरी छन्। क्षेत्री, बाहुन, गुरुङ, मगर, दलितलगायत विभिन्न जातजातिको सुन्दर फूलबारीका रुपमा मुस्कुराइरहेको छ पचभैया।
खाना र बासका लागि पचभैयामा पर्यटकीय मापदण्डका होमस्टे, होटल तथा रिसोर्ट सुविधा छ। सबैभन्दा पुरानो होटल ‘वेगनास लेक रिसोर्ट’ हो। यहाँ ठुला होटल निर्माणको क्रम सुरु भैसकेको छ।
गाउँको होमस्टे उत्कृष्ट छ। वि.सं. २०६८ सालमा पर्यटन कार्यालय पोखरामा दर्ता भई ‘पचभैया सामुदायिक होमस्टे’ले सेवा दिँदै आएको छ। ९ घरबाट होमस्टे सुरु भएकामा हाल २५ घर सदस्य पुगिसके। सामुदायिक होमस्टे सञ्चालन भएदेखि संचालकहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन, प्रचारप्रसार, नियमित सरसफाई, पैदलमार्ग निर्माण आदि काम भएका छन्।
ढुङ्गा छापिएको पदमार्गमा हिँड्दै हिमाल, ताल, डाँडापाखा र बस्ती हेर्न पाउँदा पर्यटक रमाउँछन्।
होमस्टेमा एक हजार रुपैयाँको प्याकेज बनाइएको छ। यसमा वेड, ननभेज डिनर, ब्रेकफास्ट र भेज लन्च सुविधा हुन्छ। दुई रात भन्दा बढी बस्दा दश प्रतिसत छुट पाइने होमस्टे समितिले जनाएको छ। गाउँमा साँझ ८ बजेदेखि ९ः३० सम्म सांस्कृतिक कार्यक्रम देखाइन्छ। यसका लागि समूहले दुई हजार रुपैयाँ तिर्नु पर्छ। त्यस्तै साइटसिन, वर्डवाचिङ, फिसिङ र बोटिङ सुविधा पनि पाइन्छ।
गाउँबाट रुपाताल र वेगनासतालको मनोरम दृश्य देखिन्छ। दुवैतालमा डुङ्गा चढ्ने सुविधा पनि छ। गाउँको अर्को आकर्षण केन्द्र पोखरा जुलोजिकल पार्क हो जहाँ घाइते र विरामी जनाबरको उपचार गरिन्छ। प्रकृतिमा छोड्न मिल्नेलाई उपचारपछि छाडिन्छ भने नमिल्नेलाई यहीं राखिन्छ। टिकट काटेर यहाँका चरा र जनावर अवलोकन गर्न पाइन्छ। यहाँ चितुवा, चरा, निलगाई, मृग आदि छन्।
शान्त प्रकृतिको आँगन भएकाले पचभैयामा योग तथा ध्यान गर्न सकिन्छ। गाउँलेले आफ्नै खेतबारीमा फलेका अन्न, फलफुल र करेसाबारीका तरकारी खुवाउँछन्। अर्गानिक मह र कफीका लागि पचभैया प्रख्यात छ। स्थानीय कृषक अर्जुनप्रसाद लम्सालले कफी र महको ब्रान्डिङ गरेका छन्। उनी आफ्ना उत्पादन विदेसमा समेत पठाउँछन्।
पचभैयामा घुम्दा तन र मनमा ऊर्जा भरिन्छ। घुमेर फर्कंदा आफन्त र इष्टमित्रलाई गाउँबाट सिजनेवल अर्गानिक तरकारी, माछा, मह, कफी र लोकल कुखुराका साथै महिला सशक्तिकरण केन्द्रका हस्तकला कोसेली ल्याउन सकिन्छ।
अब लागौं ‘पचभैया’ नामको विषयमा। यसका विषयमा विभिन्न किंवदन्तीहरू छन्। उहिल्यै पाँच पाण्डवहरू १२ वर्षे गुप्तवास बस्ने समयमा यहाँ आई पुगेकाले ‘पचभैया’ नाम रहेको भनाई छ। त्यसैगरि गुरुङ, थापा, अधिकारी, भण्डारी र खनाल ५ थरका दाजुभाई मिली वसेका हुनाले ‘पचभैया’ भनियो। र, पॉचओटा डाँडाहरू सिमलडाँडा, ढकालडाँडा, सुन्दरीडाँडा, चैनपुरडाँडा र लाँकुरीडाँडा लमतन्न फैलिएर पन्चभातृ पर्वत भन्दाभन्दै ‘पचभैया’ नाम रहेको भनाई छ।
पचभैयामा पर्यटनको अथाह सम्भावना छ। यसलाई एग्रो टुरिजम हब बनाउन सकिन्छ। आध्यात्मिक पर्यटन केन्द्रका रुपमा चम्काउन सकिन्छ। त्यसैले वातावरणमैत्री पूवार्धार विकासमा जोड दिएर राम्रो प्रसारप्रसार गर्न सके पचभैया संसारमै चिनिन सक्छ। यसका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पचभैयालाई प्राथमिकतामा राख्नु पर्छ।
‘हामी दिगो पर्यटनका प्रति सचेत छौं’ सिड फाउन्डेसनका संस्थापक एवम् सामाजिक अभियन्ता दामोदरभक्त थापा भन्छन्, ‘त्यसैले वातावरणमैत्री पर्यटनमा जोड दिएका छौं।’
समग्रमा, पचभैयामा हप्तौं बसेर घुमफिर गर्न, आनन्द लिन र अध्ययन सकिन्छ। त्यसैले कम्तिमा दुई रात विताउने गरी यात्रा योजना बनाउनु बेस हुनेछ। एउटा महत्वपूर्ण कुरा, होमस्टेमा बास बस्ने गरी जाँदा पहिल्यै खबर गर्नुपर्छ र घाम नडुब्दै पुग्नु पर्छ है !
कसरी पुग्ने ?
काठमाडौंबाट १९० किलोमिटरमा पोखराको तालचोक, बसमा ६ घन्टा। तालचोकबाट ६ किलोमिटरमा पचभैया गाउँ, बसमा २० मिनेट। गाउँसम्मै सडक पुगेको छ, मोटरबाइक, कार वा बसमा जान सकिन्छ। पचभैयाबाट पोखराको फेवाताल १७ किलोमिटर दूरीमा पर्दछ।
सम्पर्क
निलकुमारी थापा–९८४६२०१५५२
अध्यक्ष, सामुदायिक होमस्टे
दामोदरभक्त थापा–९८५६०२३८२८
सामाजिक अभियन्ता