पोखरा। पर्यटकीय उपत्यका पोखरामा केही वर्षदेखि माझीकुना चर्चामा छ। पोखरेली मात्र होइन, स्वदेश तथा विदेशी पर्यटक माछाका थरीथरीका परिकार चाख्न माझीकुनामा आइपुग्छन्।
बेगनासतालको पूर्वी कुनामा पर्दछ माझीकुना। कुनाको हरियाली थुम्कोमा केही घर छन्। यहाँ दिनहुँ माछा खानेको घुइँचो लाग्छ। यो गर्मी याममा त चिसो वियरको चुस्कीसँगै माछा खानेहरुको मेला नै लागिरहेको छ। यहाँका दुई दर्जन रेष्टुराँले माछाका परिकार बेच्छन्।
विशेषत ग्रिल्ड, पोलेको, फ्राई र ग्रेभी माछा ग्राहकले रुचाउँछन्। ग्रिल्ड गर्न टिलापिया जातको माछा प्रयोग गरिन्छ। त्यसो त यहाँको बेगनासतालमा स्थानीय जातका माछा पनि पाइन्छन्।
माझीकुनालाई माछा परिकारको जक्सन बनाउने श्रेय सूर्य लामिछानेलाई जान्छ। उनैले वि.सं. २०६४ साउन १५ गते पहिलो रेष्टुराँ खोलेका थिए। उनको सिको गर्दै उनकै परिवार र छिमेकीले होटल तथा रेष्टुराँ खोल्दैजाँदा माझीकुना माछा जक्सनका रुपमा स्थापित बन्न पुग्यो।
विशेषतः आन्तरिक पर्यटकहरु खाजा खाएर साँझ आआफ्ना गन्तव्यमा फर्कन्छन्। बास बस्नका लागि यहाँ केही लज, होटल र रिसोर्ट छन्। माझीकुनाको सेरोफेरोका सुन्दरीडाँडा, पचभैया, बेनासमा पनि होटल, होमस्टे र रिसोर्ट सुविधा छ।
माझीकुनाको यात्रामा रुपाताल र बेनासतालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। साथै माछापुच्छ्रे, धौलागिरि र अन्नपूर्ण हिमालको दृश्य पनि।
पोखराको पृथ्वीचोकबाट १७ किलोमिटर दूरीमा पर्दछ माझीकुना। त्यस्तै बेगनासतालबाट मात्र ४ किलोमिटर दूरीमा। माझीकुनासम्मै मोटर, मोटरबाइक वा साइकलमा पुग्न सकिन्छ।
के तपाईंले माझीकुनाका माछा चाख्नु भयो ? छैन भने यता आउने योजना बनाइहाल्नुस् है। एकपटक माछा खानुभयो भने तपाईं पल्किनु हुन्छ।
सम्पर्क :
सूर्य लामिछाने: ९८४६०३०९७४
दामोदरभक्त थापा: ९८५६०२३८२८