तनहुँ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बने बनेको छ।
तीन वर्ष अघि निर्माण पुरा भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गए पनि संरक्षणको लागि चासो देखाएको पाइँदैन। करिब पौने तीन करोड लागतमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाएर राख्नुपर्दा संरचना कमजोर बन्दै गएको छ। झ्याल ढोकामा राखिएका सिसा फुट्न थालेका छन्, काठलाई धमिराले खान थालेको छ। आफ्नो पालिकाभित्रको साहित्यिक स्थल भएकाले चासो देखाए जस्तो गरे पनि यसको संरक्षणबाट नगरपालिका पन्छिने गरेको स्थानीयवासी बताउँछन्।
पछिल्ला समयमा भवनका समान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिने स्थल जस्तै बन्दै गएकोमा दुःख लागेका सोही ठाउँ निवासी पम्फा परियारले बताइन्। सडक खराब भएकोले घुम्न आउने पर्यटक र स्थानीय बासिन्दालाई पैदल हिँड्नु पर्ने भएकोले असुविधा भएको परियार बताउछिन्।
भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचारका उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्म स्थान प्रति गरेको बेबस्ताले गर्दा रामायण भवन अलपत्र परेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताए। आचार्यले भने, भानु जन्मस्थल प्रति गरिएको हेय भाव, समग्र भानुको विकासमा दुरावस्था रहेको तितो यथार्थलाई चिर्न आवश्यक छ।’’
यथोचित विकास र प्रचार प्रसारका लागि सम्बद्ध सबैको ध्यानाकर्षण हुनु पर्ने आचार्य बताउँछन्। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो।
करिब १० रोपनी क्षेत्रफलभित्र भानु गृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भए पनि हाल अलपत्र अवस्थामा रहेको छ। उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रहेको छ। पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको छ। चुँदीरम्घाबेंसीदेखि शिखरकटेरीसम्म पुग्ने धनञ्जय मोटर मार्ग स्तर उन्नति नहुँदा सवारी साधन सञ्चालन गर्न सकिएको छैन।
साहित्यिक कार्यक्रम गर्ने सभा हल, भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धी तस्बिरहरू कुदिने योजना रहेको छ। राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अलपत्र हुँदा चुँदेलीहरु दुःखित भएका छन्।
भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ। रामायण भवन अलपत्र अवस्थामा देख्दा आँसु आएको भानु नगरपालिका–५ सेपाबगैंचा निवासी भरत पोख्रेलले बताए। रामायण भवन कलात्मक बुँदा कुँदेर निर्माण गरिएको छ। नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते बुबा धनञ्जय र आमा धर्मावतीदेवीको कोखबाट चुँदीरम्घा जन्म भएको यो खबर गोरखापत्रअनलाइनमा प्रकाशित भएको छ।