काठमाडौं। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र यसबाट हुने आम्दानी वृद्धि हुँदा पर्यटकको बसाइँ अवधि र खर्च पनि घटेको छ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी गरिएको ‘नेपाल पर्यटन तथ्याङ्क २०२२’ का अनुसार यस्तो तथ्याङ्क देखिएको हो।
तथ्याङ्क अनुसार विगतको तुलनामा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। सन् २०२१ १ लाख ५० हजार ९ सय ६२ पर्यटक भित्रिएका थिए जसमध्ये हवाइ क्षेत्रबाट १ लाख ५० हजार ६ सय २५ र स्थलमार्ग बाट ३ सय ३७ पर्यटक भित्रिएका थिए।
गत वर्ष २०२२ मा नेपाल आउने पर्यटकको संख्या बढेर ६ लाख १४ हजार ८ सय ६९ पुगेको छ। यसरी नेपाल भित्रने पर्यटकको सङ्ख्यामा हवाईमार्ग बाट भित्रने पर्यटकको संख्या बढी रहेको छ। हवाईमार्ग बाट त्यस वर्ष ५ लाख ९२ हजार ६ सय ३१ पर्यटक भित्रिएका थिए भने, स्थलमार्गबाट २२ हजार २ सय ३८ पर्यटक नेपाल आएका थिए।
भ्रमणका लागि नेपाल आउने पर्यटकहरू धेरैजसो हिमाल आरोहण, तीर्थयात्रा र मनोरञ्जनका लागि आउने गर्छन्।
कोभिडपछि २०२२ मा पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रबाट आर्जन हुने आम्दानी पनि वृद्धि भएको छ। सन् २०२१ मा पर्यटन क्षेत्रबाट ३२ करोड ६२ लाख विदेशी मुद्रा आम्दानी भएकोमा सन् २०२२ मा भने यो आम्दानी बढेर ४६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
यता अघिल्लो वर्ष २०२१ को तुलनामा पर्यटकको औसत बसाइँ अवधि घटेको हो। सन् २०१९ मा १२.७ दिन रहेको पर्यटकको औसत बसाइँ अवधि सन् २०२० मा १५.१ दिन थियो भने, सन् २०२१ मा सरदर बसाइँ अवधि १५.५ दिन रहेको थियो। गत वर्ष अर्थात सन् २०२३ मा यो अवधि घटेर औसतमा १३.१ दिनमा झरेको छ।