काठमाडाैं। तत्कालिन समयमा पृथ्वीनारायण शाहले एकीकरणमा हमला नगर्ने सहमति भएको दरबार हो जाजरकोट दरबार। साँढे दुई सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस दरबार पर्यटकीय हिसाबले पनि उत्कृष्ट मानिन्छ।
दरबार जाजरकोट जिल्लाको भेरी नगरपालिकामा खलंगामा अवस्थित यस दरबारलाई खलंगा दरबार पनि भनिन्छ। अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ। उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गरेको ऐतिहासिका मान्यता रहको छ।
कला, संस्कृति तथा ऐतिहासिक दृष्टिकोणले यो दरबार महत्वपूर्ण मानिन्छ। जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथान लगायत रहेको इतिहासमा उल्लेख छ ।
इतिहासका जानकारहरुका अनुसार जाजरकोट राज्यका संस्थापक जगती सिंह र अन्तिम राजा स्वयंप्रकाश विक्रम शाह थिए । वि.सं. १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबारको तत्कालीन राजा गजेन्द्रनारायण शाहले सात तले भवनको निर्माण गरेका थिए। गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए भन्ने इतिहास पनि छ।
हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाइ इटा बोकाएर दरवार निर्माण गर्न लगाएका थिए। साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो। सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराई सकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन्।
जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथान लगायत रहेको इतिहासमा उल्लेख छ। १९९० सालको भूकम्पका कारण दरबारको स्वरूप परिवर्तन भएको स्थानीय धर्मराज सिंहको भनाइ छ। दरबार कला, संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पुजा गर्न ९ राँगा ९ बोकाको बली दिने चलन रहेको छ। विगतमा दरवारको सातौं तलामा रहेको नारायणथानको मन्दिरका तीन वटा अति प्राचीन मुर्तिहरु मध्ये एउटा हनुमानको मुर्ति द्धन्दकालमा हराएको थियो भने अन्य दुईवटा मात्र रानागाउँको कालीका मन्दिर र पिपलडाडाको गणेश मन्दिरमा सुरक्षित रहेको स्थानीयहरु बताउछन्।
दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृश्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृश्य पुर्वतीर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको खलंगाको पिपल डाडाँस्थित टाकुरोमा रहेको जाजरकोट दरवार प्राकृतिक सुन्दरताले मनमोहक छ।
यद्यपी, राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम् सम्वद्र्धनमा कुनै चासो दिइएन्। दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको जानकारहरु बताउँछन्। जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो ऐतिहासिक दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा हो।