धनगढी। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र झिलमिलामा चिनियाँ बकुल्ला फेला परेको छ। बेल्डाँडी गाउँपालिकाको झिलमिलामा गत सोमबार सो बकुल्ला फेला परेको हो।
चरा अनुगमनको क्रममा संरक्षणकर्मी एवम् नेपाल पंछी संरक्षण सङ्घका हिरुलाल डङ्गौराले चिनियाँ बकुल्ला फेला परेको बताए। सुदूरपश्चिममा पहिलो पटक चिनियाँ बकुल्ला देखिएको उनको भनाइ छ।
उनका अनुसार नेपालमा यो तेस्रो पटक फेला परे पनि सुदूरपश्चिममा पहिलो पटक हो। नेपालमा पहिलो पटक गतवर्ष चितवनमा चिनियाँ बकुल्ला भेटिएको थियो। आसकोटे बकुल्ला, वस्तु बकुल्ला, मझौला सेतो बकुल्ला र सानो सेतो बकुल्लाको समूहमा धान खेतमा चरिरहेको अवस्थामा चिनियाँ बकुल्ला भेटिएको चराविज्ञ डङ्गौराले जानकारी दिए।
उनले चिनियाँ बकुल्ला फेला पारेपछि काठमाडौंका सिम्रन ढकाल, नेचर गाइड महानन्द जोशी, विद्यार्थी नवदीप डङ्गौरा र शुक्लाफाँटाका गेमस्काउट अर्जुनदत्त जोशीले बकुल्लाको अवलोकन गरेको बताएका छन्।
प्रजनन समयमा बाहेक आसकोटे बकुल्लाझैं देखिने चिनियाँ बकुल्ला टाउको, छाती र घाँटीमा हुने कटुसे रङले पहिचान हुनेगर्छ। मुख्यतः चीन, दक्षिण कोरिया र जापानको रैथाने यो बकुल्ला नेपालका लागि फिरन्ते प्रजाति रहेको जनाइएको छ।
चिनियाँ बकुल्ला भेटिएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६१ पुगेको छ। नयाँ चराको आगमन र अभिलेखले शुक्लाफाँटाको सिमसार र वनजङ्गल चराहरुको लागि महत्वपूर्ण रहेको पुष्टि भएको डङ्गौराको भनाइ रहेको खबर गोरखापत्र अनलाइनले प्रकाशित गरेको छ।