काठमाडौं। यस वर्षको असार १५ गते गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्दधनमा नुवाकोटको बेलकोटगढीमा ‘धान दिवस तथा रोपाइँ महोत्सव–२०८०’ मनाउने भएको छ।
नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसलाइ महत्वपुर्ण पर्वको रुपमा मनाइन्छ। करिव डेढ दशक वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको हो।
नेपालको इतिहासमा धान मुख्य खाद्य वाली रहेको , र सभ्यता र संस्कृतिसँग जोडिएको साथै साथै जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ लाई किसानहरुले महत्वपुर्ण उत्सवका रुपमा लिइन्छ।
असार १५ लाई वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन समेत हो। यस दिनमा मानिसहरु रोपाइँमा सहभागी हुदै , खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांस्कृतिक पर्व समेत बनेको छ।
यो दिनमा दहि र चिउरा खाने, हिलोमा खेलेर गीत गाउदै धान रोपेर उत्सवको रुपमा मनाउने गर्दछ। यसैको अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्चले वर्षेनि विभिन्न गाउँमा पुगेर किसानसँग हर्षोल्लासको साथमा धान दिवस मनाउने गरिएको छ।
‘कृषि पर्यटनद्वारा स्थानियलाई रोजगारी सिर्जना गर्ने तथा आय आर्जनमा टेवा पुग्ने हुनाले वर्षेनी किसानहरुसँग रोपाइँमा सहभागि भई महोत्सव आयोजना गर्दै आएको छौ’ भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले बताए।
धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैको ध्यान किसानतर्फ आकर्षित गर्ने अभिप्रायले नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान समेत सशक्त रुपमा अगाडि बढ्दैछ।
ग्रामिण पर्यटन प्रवर्द्धनका साथै ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका विषयहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रवर्द्धन गर्ने (भिटोफ) नेपालको प्रमुख उदेश्य रहेको उनले बताए।
२०५४ सालमा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको स्थापनाकालदेखि देशको कुनाकाप्चा पुगेर ग्रामिण पर्यटनको प्रवर्द्धन गर्दै आएको छ।