भक्तपुर। तनहुँको सदरमुकाम दमौली बजारमा बसेर गीत लेखनमा सक्रिय गीतकार सागर उदास आइतबार भक्तपुरमा सम्मानित भएका छन्।
विगत तीन दशकभन्दा लामो समयदेखि निरन्तर गीतसंगीतमा सक्रिय भएर नेपाली साहित्यको उन्नयनमा योगदान पुर्याएस्वरुप उनलाई सिर्जना अभियान समाज भक्तपुरका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार सुबासचन्द्र ढुङ्गेलले सम्मानपत्र र काठको मयुर झ्याल दिएर सम्मान गरेका हुन्।
समाजका सचिव ध्रुब मधिकर्मीकाअनुसार गीतकार उदास साहित्य सृजनासँगै समाजसेवा र व्यवसायमा सक्रिय छन्। उनी गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुन्। उनले आमाबाबाको नाउँमा खुमपार्वती कलासाहित्य कोष गठन गरेर साहित्यकर्मको शुभारम्भ पनि गरेका छन्।
उनलाई सम्मान गर्नु अघि कार्यक्रममा उदासका दुई ओटा गीती सङ्गहरु फैलन्छकि माया र सागर सुसेलीमाथि परिचर्चा गरिएको थियो। विशेषत विरहका गीतहरु लेख्दै आएका उदासका गीत मुटु छुने खालका भएको कार्यक्रममा टिप्पणी गरियो।

उदासजीका गीतहरु मर्मस्पर्शी छन्, वरिष्ठ गीतकार ढुंगेलले भने, हदयले लेखिएका गीत हुन् यी। परिपक्कव स्रष्टाहरुले भरिएको हलमा लेखक एवं अध्येता केशब सिग्देलले रमाइलो पारामा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमा टिप्पणीकार विमला राना मगरले पनि उदासको तारिफ गरिन्। यी गीतमा आञ्चलिक स्वाद छ, उनले भनिन्, विम्व र प्रतीकको राम्रो प्रयोग गरिएको छ।

त्यसैगरि गीतकार हरिहर तिमिल्सिनाले पनि उनका गीत माथि बोलेका थिए। लोकलयको स्वाद दिने गीतहरु मन छुने खालको भएको भन्दै उनले गीतकार उदासलाई बधाई दिए।
विरही भावका गीत लेख्दै आएका उदास व्यवहारमा ज्यादै रसिक छन्। उनको खास नाम अर्जुन अधिकारी हो। भक्तपुरको मायाले आफू ऋणी बनेको उनले बताए।
कार्यक्रमको सुरुमै समाजका अध्यक्ष धनमान श्रेष्ठले कालो भादगाउँले टोपी लगाइदिएर उदासको स्वागत गरेका थिए।
भक्तपुर भ्रमणमा आएका भारतका चर्चित लोककवि हल्दर नाग लाई पनि कार्यक्रममा स्वागत गरिएको थियो। भारतको प्रतिष्ठत पद्यश्री पुरस्कारबाट सम्मानित उनले आफ्नो मातृभाषामा एउटा कविता सुनाएका थिए।
