काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाका अनुसार गत जेठ ३१ गते नेपाल भित्रिएको मनसुन देशभर फैलिएको छ।
शुक्रबार एक सूचना जारी गर्दै विभागलृअन्य वर्षको तुलनामा यस वर्षकेही ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ९ दिन पछि देशभर फैलिएको जनाएको हो।
देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सर्तकता अपनाउन महाशाखाले जानकारी दिएको छ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै सोही प्रदेशहरूका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी सूचनामा भनिएको छ।
‘मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहा सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।