काठमाडौं। काठमाडौंको टुँडिखेलमा यहीँ असार १ गतेदेखि ३ सम्म भब्य रुपमा भूमे/भूम्या पर्व २०८० मनाइने भएको छ।
मगर समुदायले मनाउने यो पर्व राजधानीको टुँडीखेलमा भब्य रुपमा मनाउन लागिएको हो। नेपाल मगर संघ केन्द्रीय कमिटीको आयोजनामा टुँडीखेलमा ३ दिन सम्म भूमे/भूम्या पर्व मनाउन लागिएको संघका केन्द्रीय उपाध्यक्ष जीवन रोका मगरले बताए।
कार्यक्रममा नेपाल भरबाट मगर समुदायका मानिसहरुको उपस्थिति भइ मगर समुदायको संस्कृती विश्वमाझ झल्काइने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनः मगरले बताए।साथै, उनले विश्वभर छरिएर रहेका मगर सुदायहरुलाई आ–आफ्नो स्थानमा यस पर्वलाई भब्य रुपले मनाउन आह्वन समेत गरेका छन्।
मगर समुदायले भूमे/भूम्या पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा मनाउने गर्दछन्।
पर्वमा मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र मगरको पहिचान झल्किने पोशाकमा सजिने गर्दछन्।
महिला गुन्यौँ चोली, पटुका र पछ्यौरामा सजिने छन् भने पुरुषहरु फेटा, ढाका टोपीसँगै कम्बरमा खुकुरी भिरेर मगर संस्कृतीको प्रर्दशन गर्दछन्।
परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका बासिन्दा मगर तथा दलित समूदायहरुले हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ।
भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ। अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सदभाव राख्न यो पर्व विशेष रूपमा मनाउँदै आइएको छ।