काठमाडौं। पछिल्लो समय दिन प्रति दिन तापक्रम बढ्दो छ। यस्तो समयमा हरेकलाई शितलता चाहिएको छ। बढ्दो गर्मी छल्न के गर्ने कहाँ जाने भन्ने प्रश्न यती बेला सायद सबैको मनमा होला नै !
आज हामी यस सामग्री मार्फत तपाईको यही प्रश्नको जवाफ दिने प्रयास गर्ने छौं।
बढ्दो गर्मी छल्न उपयुक्त स्थानको रुपमा नेपालको सुन्दर, पर्यटकीय गन्तव्यको रुपमा परिचित दोलखा जिल्लाको जिरीलाई लिन सकिन्छ। जिरीलाई नेपालको स्विट्जरल्यान्ड पनि भनिन्छ। यहाँको भू–बोट स्विट्जरल्यान्डको जस्तै देखिने भएकाले त्यहाँको सरकारले लामो समयदेखि यसस्थाको विकासमा सहयोग गर्दै आएको छ। गर्मी मौससमा जिरीको भ्रमण उपयुक्त हुनसक्छ।
नजिकै बहने तामाकोसी, चारैतिर हरियाली र अग्लो डाँडाबाट झर्ने झरनाहरूले जिरीलाई थप सुन्दर बनाएका छन्। जिरीलाई अर्काे उपनामले समेत चिनिन्छ। त्यो हो सगरमाथाको प्रवेशद्वार। पहिलो सफल सगरमाथा आरोही तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले जिरी हुँदै सगरमाथाका आरोहण गरेपश्चात हजारौं पर्यटकहरुले यहि मार्ग हुँदै सगरमाथाको शिखर चुमिसकेका छन्। जिरी बजार कुनै समयमा सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित थियो।
जीरीको प्रमुख आकर्षणको रुपमा यहाँका झरना, गुफा, पोखरी, खोलानाला, कोणधारी हरिया बनजंगल साथै अग्ला डाँडाकाँडा देखि सुन्दर उपत्यकाहरु आदिबासी जिरेल, शेर्पा, तमाङ, सुनुवारहरुको पृथक कला संस्कृति, भेषभुषा र स्थानीय खाद्यपरिकारहरु रहेका छन्।
जिरीमा घुम्न लायक थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन्। जसमध्ये आज हामी केही गन्तव्यका बारेका यहाँ चर्चा गरिएको छ।
पाँचपोखरी तथा जटापोखरी
धार्मिक पर्यटनको हिसावले चर्चित यो पोखरी समुन्द्र सतहबाट ४५ सय मिटरको उचाईमा रहेको छ। यस पोखरीको दर्शन गर्नाले आफूले चाहेको सन्तान प्राप्ति हुने रोग व्याधी नलाग्ने पशुचौपायमा एवं बालिनालीमा फलिफाप विश्वास रहि आएको छ। यहाँ हरेक वर्ष जनै पूर्णिमाका दिन यहाँ मेला लाग्ने गर्दछ। खिम्ती खोलाको उद्गम स्थल पाँचपोखरी तथा जटापोखरी पदयात्रा एवं दृष्यावलोकनको लागि पनि यो निकै उत्कृष्ट गन्तव्य हो। बाटामा भेटिने चौरी गाई तथा याक र विभिन्न जडिबुटिहरु अन्य आर्कषणहरु हुन।
कसरी पुग्ने: जिरी बजारबाट पुम्पा स्टोनर्पाक हुँदै करिव २ दिनको पदयात्रामा पुग्न सकिन्छ। जिरी बजारबाट खहरे सम्म बोलेरो जिप रिर्जभ गरेर पनि जान सकिन्छ। गर्जाङबाट खहरे हुँदै करिव ८ घण्टाको उकालो उक्लेपछि पहिलो दिन मानेडाँडा पुगेर बास बस्नु पर्छ। दोश्रो दिन करिव ४ घण्टाको यात्रामा जटापोखरी पुग्न सकिन्छ। जटापोखरीबाट करिव १ घण्टा ठाडो उकालो चढेपछि पाँच पोखरी पुगिन्छ।
च्योर्दोङ्ग तथा क्याङसे पोखरी
हिमश्रृंखलाको दृष्यावलोकनको लागी यो ठाउँ सबैभन्दा उपयुक्त स्थान हो। यहाँबाट नुम्बुर, गौरीशंकर लगायत रोल्वालिङ हिमश्रृंखलाको दर्जनौ हिमालहरुको साथै लामाबगर, कालिन्चोक, शैलुङ्ग, सिन्धुली गढी जस्ता प्रसिद्ध स्थानहरु अवलोकन गर्न सकिन्छ।
च्योर्दोङ हिन्दु र बौद्ध धर्मालम्वीहरुको साझा तिर्थस्थल पनि हो। यहाँ रहेको महादेवको मन्दिरमा हजारौ त्रिशुलहरु चढाईएको छ। अविर, ध्वजा तथा खादाहरुले मन्दिर सिंगारिएको छ। यस मन्दिरमा पुजाआजा गरेमा रोग व्याधि नलाग्ने, पशु चौपायालाई जंगली जनावरले दुख: नदिने जनविश्वास रहेको छ। बैशाख १ गते नयाँवर्षमा र कार्तिक पुर्णिमा मा यहाँ मेला लाग्ने गर्दछ।
कसरी पुग्ने: जिरी लिङ्गन बजारबाट करिव ६ घण्टाको उकालो हिडेपछि च्योर्दोङ पुग्न सकिन्छ। च्योर्दोङ पदयात्रामा क्रममा पाईने सुनखरी, लालिगुराँस, चिमाल र ठिंग्रेको घना जंगल र त्यसमा पाईने वन्यजन्तुहरुले यात्रालाई थप मनोरन्जन प्रदान गर्दछन्। पदयात्राको क्रममा सुन्दर क्याङसे पोखरी भेटिन्छ। यो स्थान विश्राम र क्याम्पिङ को लागि उपर्युक्त रहेको छ। यहाँ धुप धुवाँर गरेर उकालो लाग्दा आकाश खुला हुने र पानि नपर्ने जनविश्वास पनि छ। क्याङसे पोखरी सम्म मोटरमा पुग्न पनि सकिन्छ।
हनुमन्ते
दोलखा जिल्लाको सवै भुभाग एकै ठाँउबाट अवलोकन गर्न सकिने एकमात्र स्थान हनुमन्ते डाँडा हो। यहाँबाट दोलखाको प्रशिद्ध पर्यटकीय स्थलहरु कालिन्चोक भगवती, दोलखा भिमसेन, शैलुङ थुम्का लगायत पुर्वमा नुम्बुर हिमाल देखि पश्चिममा लाङटाङ हिमाल सम्मको हिमशृंखलाहरु देख्न सकिन्छ।
अग्लो पहराको विचमा हनुमानको हात र खुट्टाको चिन्ह देख्न सकिन्छ। पहराको फेदमा विशाल ओडारमा हनुमन्तेश्वर महादेव अवस्थित छन्।
मन्दिर परिसरको चट्टानी भित्ताहरुमा शिवलिङ्ग, गाईको थुन जस्ता अनौठो तर आर्कषक आकृति र बनोटहरु देख्न पाईन्छ। मन्दिरभित्र सानो कुवा छ जसमा रहेको पानि रातो छ। यो पानि छुएमा घर परिवारमा अनिष्ट हुने जनविश्वास छ।
कसरी पुग्ने: जिरीको प्रबेशद्धार खावाडाँडाबाट करिव ३ घण्टाको पदयात्रामा हनुमन्ते पुग्न सकिन्छ। हनुमन्तेको फेदसम्म मोटरमा पनि पुग्न सकिन्छ। त्यसपछि करिव आधा घण्टामा हनुमन्ते डाँडा।
गुराँसपार्क
हाईकिङ, पिननिक, क्याम्पिङ, वर्ड वाचिङ र जंगल सफारीको यो स्थान उपयुक्त मानिन्छ।
ठुलोनागी सामुदायिक वनक्षेत्रको विचमा खुला चौर हो गुराँसपार्क। यस चौरको वरीपरि विभिन्न गुराँस प्रजातिको मात्र बाक्लो जंगल रहेको छ।
फागुन चैत्रतिर ढकमक्क गुराँस फुल्दा यहाँको बातावरण निकै मनमोहक हुने गर्दछ। पछिल्लो समय यहाँ ठुलो कृतिम पोखरी, ट्रष्टको टहरा, ट्वाईलेट पिकनिक स्पट लगायत अन्य संरचनाहरु पनि निर्माण गरिएको छ। यहाँबाट करिव आधा घण्टामा ठुलोनागी पुग्न सकिन्छ। यहाँबाट विभिन्न हिमालहरुको दृष्याअवलोकन गर्न सकिन्छ।
कसरी पुग्ने: जिरी बजारबाट करिव ३ घण्टामा हाईकिङ मार्फत बुद्धपार्क हुँदै गुराँस पार्क पुगिन्छ। गुराँसपार्क सम्म जिप, बोलेरो जस्ता हलुका सवारी साधनहरु पनि लान सकिन्छ।
बुद्धपार्क
जीरी नगरपालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको यो जिरी बजारबाट मात्र ६ किमि सडक दुरीमा रहेको छ।
यहाँबाट जिरी उपत्यकाको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ। पार्कको विचमा २० फिट अग्लो शाक्यमुनी बुद्धको प्रतिमा स्थापित गरिएको छ। पार्कलाई आर्कषक बनाउन वगैंचा, ध्यानकेन्द्र लगायतका संरचना समेत निर्माण गरिएको छ। थप संरचनाहरु निर्माणका क्रममा छन्।
कसरी पुग्ने: जिरी बजारबाट अस्तला देविथान हुँदै करिव १ घण्टाको हाईकिङ मार्फत बुद्धपार्क पुग्न सकिन्छ। देविथान सम्म ढलान सिँढी बनाईएको छ। गाडी मार्फत जिरी बजारबाट करिव २० मिनेटमै पुग्न सकिन्छ।
स्टोनपार्क
नाम जस्तै यस क्षेत्रमा स्टोन (ढुङ्गा)बाट कलात्मक ढंगबाट सज्जाइएको छ। जिरी नगरपालिकाको पूर्वी सिमाना स्यामाको पुम्पामा रहेको स्टोन पार्क निकै आकर्षक र मनमोहक छ। खिम्ति खोलाको चिसो हावा संगै यहाँको स्थानीय माछाको स्वाद र आनन्द लिन सकिने स्टोनर्पाक पिकनिक र मनोरन्जनको लागि उपर्युत्त छ।
कसरी पुग्ने: जिरी बजारबाट करिव २ घण्टामा सडकमार्ग प्रयोग गरि मालि एलुङ हुँदै जान सकिन्छ वा रामेछापको ठोसे सिवालय गर्जाङ्ग हुँदै पनि जान सकिन्छ।
लौती झरणा तथा ट्राउट फार्म
यस झरणामा लौती भन्ने बनझाँत्री ले नुहाउने गरेको र त्यस वरपर गाईबस्तु हेर्ने थुप्रै बालबालिकाहरुलाई समेत उक्त बनझाँक्रीले लाने र विभिन्न तन्त्रमन्त्र एवं झाँक्री विद्या सिकाई पठाउने गरेकोले यस झरणाको नाम लौती रहेको स्थानीय वुढापाकाका भनाई छ। पहिले लौती झरणाकै पानि प्रयोग गरेर अलि तल ठुलो व्यावसायिक ट्राउट माछा फार्म पनि संचालन गरिएको छ। संगै रहेको कलङ्ग चिया बगान र महादेव गुफा लगायत अन्य ससाना छहराहरु एकैसाथ अवलोकन गर्न सकिन्छ।
करिव ५० मिटर अग्लो लौती झरणा पनि जिरीको प्रमुख आकर्षणको रुपमा रहेको छ।
कसरी पुग्ने : जिरी मानेडाँडाबाट करिव ३ किमि पक्कि सडक मार्फत यहाँ पुग्न सकिन्छ। हाईकिङको लागि पनि यो रुट राम्रो छ। मानेडाँडाबाट करिव १ घण्टामा पुग्न सकिन्छ।
राम्बोले कालिदेवी
धार्मिक पर्यटनका हिसावले यस ठाउँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो जिरी नगरपालिका वडा नं. ८ ठुलोपातलको राम्बोले कालिदेवीथान। यहाँ कार्तिक शुक्ल पक्षको एकादशी देखि पुर्णिमा सम्म भव्य मेला लाग्ने गर्दछ। यस स्थानमा दोलखा, रामेछाप, ओखलढुङ्गा, काठमाण्डौ लगायतका स्थानहरुबाट हजारौंको संख्यामा भक्तजनहरु मेला भर्न आउने गर्दछन्। देवीको दर्शणले पराक्रम प्राप्त हुने र चिताएको कुरा पुग्ने जनविश्वास छ। यस शक्तिपिठमा भाकल गर्ने र मेलाका अवसरमा हजारौं बोका, कुखुरा तथा परेवाहरु पशुबलि पनि दिने गरिन्छ।
कसरी पुग्ने : जिरीको प्रवेशद्वार खावाडाँडाबाट करिव १५ मिनेटमा सवारी साधन मार्फत राम्बोले पुग्न सकिन्छ। पैदलयात्रा मार्फत पनि करिव १ घण्टामा पुग्न सकिन्छ।
जिरेश्वर महादेव
किम्वदन्ती अनुसार एक जना किसानको एउटा गाई चरणबाट सधै ढिलो आउने र दुध पनि कम दिने गर्दोरहेछ। एक दिन उक्त किसानले पछ्याउदै जाँदा अहिलेको जिरेश्वर मन्दिर रहेको स्थानमा त्यस गाईले दुध चढाउने गरेको देखेपछि उत्खनन् गर्दा महादेव प्रकट भएको जनविश्वास रहेको जिरेश्वर महादेव मन्दिर जिरीको सवैभन्दा नजिकको पर्यटकीय स्थल हो। जिरेश्वर महादेवलाई किसानको देवता पनि भनिन्छ।
सानो खोलामाथि विशाल पहराको ओडारमा रहेको यस मन्दिरमा नागको प्रतिमा स्थापना लगायत धेरै अन्य संरचनाहरु समेत निर्माण गरिएको छ। कन्चन पानीको कलकल आवाज र चराचुरुङ्गीहरुको चिरविराहट यहाँको अर्को विशेष्ता रहेको छ।
जिरेश्वर महादेवको दर्शण गर्नाले मनोकामना पुरा हुने तथा अन्नपात एवं पशुपंक्षिको फलिफाप हुने धार्मिक विश्वास रहेको छ। नाग पन्चमी र जनै पुर्णिमामा यहाँ ठुलो मेला लाग्ने गर्दछ।
कसरी पुग्ने : जिरी बजारबाट करिव १० मिनेटमा सवारी साधन मार्फत पुग्न सकिन्छ। हाईकिङको लागि यो निकै उपर्युक्त छ। बजारबाट करीव ३० मिनेटमा पैदलमार्फत यहाँ पुग्न सकिन्छ।
चिज उत्पादन केन्द्र
नेपालमा नै पहिलो पटक स्वीसहरुले यहाँ चिज उत्पादन सुरु गरेको यस ठाउँ जिरी बजारको उत्तरतर्फ काप्तिमा रहेको छ। यहाँ चिज बनाईरहेको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ साथै आवश्यक परेमा ताजा चिज तथा नौनी घिउ किन्न सकिन्छ। चिज उत्पादन केन्द्र केहि तल ऐतिहासिक ल्वासा गुम्बा छ। यहाँ लामागुरुद्वारा दैनिक पुजापाठ गरिनुका साथै लामा शिक्षाको पढाई पनि हुने गर्दछ।
कसरी पुग्ने : जिरी बजारबाट करिव आधा घण्टामा यातायात मार्फत पुग्न सकिन्छ। हाईकिङको लागि करिव २ घण्टा लाग्छ।
सिक्री उपत्यका
आदिबासी जिरेल जातिको प्रमुख उद्गम स्थल सिक्री खोला किनारमा अवस्थित सानो उपत्यका हो। यहाँ जिरेल जातिको कला संस्कृति, भेषभुषा र रहनसहन अवलोकन गर्न सकिन्छ। यहाँ बजुस्थान, आविथान जस्ता जिरेल जातीका देवी देवता तथा धार्मिक मठमन्दिरहरु रहेका छन्। सिक्रीमा जिरेल होमस्टे पनि संचालित छ।
कसरी पुग्ने : जिरी मानेडाँडाबाट करिव ३० मिनेट ओरालो झरेपछि सिक्री पुगिन्छ। मोटरबाट करिव १५ मिनेटमा पुगिन्छ।
यलुङ उपत्यका
यलुङ खोलाको तिरमा यस रहेको यस उपत्यकाबाट शेर्पा जातिको धर्म, संस्कृति र रहनसहन अवलोकन गर्न सकिन्छ। यहाँ भुटानी शैलिको कलाकृति सहितको ठुलो गुम्बा छ र त्यस वरपर स्तुपा, माने लगायत छन्। यलुङ उपत्यकाको उत्तरतर्फ करिव ३०० वर्ष पुरानो सर्वखासा गुम्बा निर्माण भईरहेको छ भने पुर्वतर्फ विशाल चट्टानमा बौद्ध मन्त्र लेखिएको छ। बस्न र खानाको लागि शेर्पा होमस्टेहरु संचालित छन्। यात्राको क्रममा गुफामा अवस्थित हलेश्वर महादेवको दर्शन गर्न सकिन्छ।
कसरी पुग्ने : जिरी बजार बाट करिव २ घण्टाको पदयात्रामा यलुङ पुग्न सकिन्छ। मालिको डाँडा पार गरेपछि यलुङ पुगिन्छ। सवारी साधन मार्फत जिरी बजारबाट करिव १ घण्टामा पुग्न सकिन्छ।
तेन्जिङ हिलारी पार्क
विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको सम्झनामा जिरी बजार भन्दा केहि तल पशु विकास फार्म नजिकै यो पार्क स्थापित गरिएको छ। सगरमाथा आरोहण गर्ने क्रममा उनिहरु बास बसेको घरलाई घेराबार सहित संरक्षण गरेर पार्क निर्माण गरिएको हो। पार्कको विचमा तेन्जिङ र हिलारीको आकर्षक अर्धकदको शालिक प्रतिस्थापन गरिएको छ।
कसरी पुग्ने : जिरी बजारबाट दक्षिणतर्फ करिव १५ मिनेटको हिँडाईमा पुगिन्छ। पार्क भन्दा तल रहेको समथर हवाई मैदान तथा छेवैमा रहेको पोखरी पनि निकै आकर्षक रहेको छ।
टोनी हेगन ईकोलोजिकल पार्क
नेपाल र जीरी र विश्वसामु चिनाउने बरिष्ठ स्वीस भुर्गभविद टोनी हेगनको सम्झनामा गोकुलगंगा सामुदायिक बनक्षेत्रलाई समेटेर यो पार्क निर्माण गरिएको छ। यहाँ विभिन्न प्रजातिका बोटविरुवा, जडिबुटि लगायतलाई संरक्षण गरिएको छ। यस पार्क भित्र ढुंगेश्वरी महादेव, गोकुलेश्वर महादेवको मन्दिर को साथै झरणा र गुफाहरु रहेका छन्। मागे सक्रान्तिको अवसरमा यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। पार्कको शिरमा रमिते डाँडा छ जहाँबाट जिरी बजारको सुन्दर दृष्य अवलोकन गर्न सकिन्छ। पार्कको विचमा टोनी हेगनको शालिक स्थापना गरिएको छ।
कसरी पुग्ने : जिरी बजारबाट उत्तरतर्फ रहेको यस पार्कमा करिव १५ मिनेटको हाईकिङमा पुग्न सकिन्छ।