काठमाडौं। पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फस्टिभल’ आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवम् होटल एसोसिएसन नेपाल (हान) र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा यही असार ८–९ गते फेस्टिभल आयोजना हुन लागेको हो।
सो फेस्टिभलमा सहभागी हुनेहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान मार्फत पोखरामा ल्याउने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले जानकारी दिए।
फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए। उनले यो कार्यक्रम एक पटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिने गरी अगाडि बढाउने सोच रहेको समेत जानकारी दिए।
त्यस्तै, चिनियाँ दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीन बीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए।
कार्यक्रमका अवसरमा फेस्टिभलको लोगो तथा प्रवर्द्धनात्मक भिडियो समेत अनावरण गरियो।
नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा गत २१ वैशाखमा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारी तथा पोखरा महानगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।