काठमाडौं। वर्षेनी बाढी र डुबानबाट प्रभावित हुँदै आएका किसान परिवारलाई लक्षित गर्दै कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ।
जिल्लामै सबभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो।
गत वर्षको बाढीबाट विस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोबास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए।
उनले बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरूलाई खेती प्रणालीको प्रशिक्षण समेत दिने गरिएको बताए।
उनले भने, ‘बाढी प्रभावितहरूको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीका लागि प्रोत्साहन गरेका हौं। बाढी प्रभावित क्षेत्रहरूमा एकदमै गरिबी छ। आर्थिक अवस्था नाजुक छ। अब स्थानीय सरकारको सीमित स्रोत, साधन हुन्छ। त्यसैले आर्थिक अवस्थामा सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएका हौं। यो गाउँपालिका जिल्लामै सबभन्दा बढी बाढी प्रभावित क्षेत्र हो। गत वर्षको बाढीले वडा नम्बर ३ को शिव रत्नपुरमा १६ घर परिवारसहितको बस्ती नै बगाएको थियो। उनीहरूको एकधुर पनि जमिन छैन। मोहनाजस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन। पूरै एरिया नै तटबन्ध गर्नुपर्ने हुन्छ।’
गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन्।
गाविसले उनीहरूलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।
अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरूले बगर खेती गरेको देख्न सकिन्छ। नदी किनारका अधिकांश स्थानहरू बगर खेतीका कारण हरियो देखिने गरेका छन्।