‘चेर्दुङ डाँडैबाट हिमालै हिमाल हेरौंला
क्याङ्गग्से पोखरीमा मायाको डुबुल्की मारौंला
हामी पर्यौं जिरिको ठिटो, लगाउँछौं माया झन मिठो
सोचे है बेलैमा, एकबारको जुनीमा...’
चेर्दुङ, नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित नगरी जिरीको शिर भएर उभिएको सुन्दर डाँडा। जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाईरहेको छ।
कात्तिक २९ गते, हाटडाँडा बजारमा घामको किरण पुग्नासाथ मनमा अनेक कुरा खेल्न थाले। ‘म त केही समयपछि अध्ययन गर्न जापान जाँदै छु। त्यसबेला बिहानी घामको किरण, साँझपख, चेर्दुङडाँडाको न्यानो छहारी, मेरो जिरीको बाल्यपन कति सम्झन्छु होला।’
सँगै भएको याकुपलाई भनिहाँले, ‘केही समयपछि म यो गाउँ-ठाउँ जिरी अनि नेपाल केही समयका लागि छोड्दैछु। त्यसैले केही दिन अझै जिरीको हरियाली र खुला आकाशमा रम्ने मन छ, जाऔं न कतै।’
यसैबीच हामीले चेर्दुङ जाने निर्णय गर्यौं। हामी सात जनाकै आ-आफ्नो विशेषता छ, त्यो सबै अन्तिममा खोतल्छु।
सबैसँग जनही ३ हजार पैसा उठायौं। आवश्यक किनमेल गर्यौं।
यात्राको पहिलो दिन,
आमाले छोराहरूको बाटोमा खाजा होस् भनेर मकै बटमास र आफ्नो न्यानो पछौरी दिदैँ भन्नुभयो, ‘चिसोबाट जोगिनू, बाघ भालु होलान् है बाटोमा ख्याल गर्नू, लौ राम्रोसँग घुमेर आउनू।
हामी फुरूङ्ग, भाइ रूपेसले भनिहाल्यो, ‘बुहारी भेटेँ भने ल्याउँछु है, आमा।’ आमा हाँस्दै घरधन्दामा लाग्नुभयो। हामी टोली भएतिर अगाडि बढ्यौं।
योजनाअनुसार टेन्ट, बिछ्याउन म्याट, खाजा र खानाका सरसमान ठीक पारी यात्रा सुरू गर्यौं। क्याङ्से पोखरीसम्म हामी गाडी रिजर्भ गरेर गयौं।
क्याङसे पोखरी
वाह! सानो भए पनि मनै लोभ्याउने, रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्सेलाई निकै नजिकबाट नियाल्यौं।
नजिकै सानो चौरी गोठ थियो। त्यहाँ भएका बा सँग हामीले पोखरीबारे जान्न चाह्यौ। कथा रोचक रहेछ। वरिपरी रूख भए पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने रहेछन्। त्यसैले पोखरीमा पात हुँदैन रे।
यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन्। हामीले पनि एक हुल चौरीले पानी पिइरहेको देख्यौं।
जिरीबाट करिब ३-४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करि १ घण्टामै पुगिन्छ।
यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका मधुर भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाईरहेको हेर्न र चाख्न पनि पाईन्छ।
यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ। पोखरीको पूजा गरेर हल्का खाजा खायौं अनि बासँग बिदा मागेर उकालो लाग्यौं।
‘हाम्रो त जिरी खोलाको फलामे साँघुमा काँटी छ
कान्छाले कति जाऔं भन्छ, कान्छी त साह्रै लाटी छ।
छड्के आँखाले नहेर, मोहनी लाग्ने डर होला....’
स्थानीय जिरीको लोकल भाकामा साथीहरू टिकटक बनाउँदै हाम्रो पैदल यात्रा सुरू भयो।
हरियाली जंगलमा गीत गाउँदै उकालो चढ्दा थप रोमान्चित भएका थियौं। मौसम खलेको थियो। निलो आकाशलाई धुपी र सल्लाका रूखले चिहाउँदै थिए। जति जति उकालो चढ्थ्यौं त्यति त्यति हिमालले हामीलाई स्वागत गरिरहेको थियो। मनमा औधी आन्नद छाईरहेको थियो। करिब ३ घण्टाको हिँडेपछि चेर्दुङ डाँडामा पुग्नासाथ हाम्रा सारा थकान निमेषभरमा मेटियो।
आँखै अगाडि सेताम्मे हिमालले हामीलाई अंगालिरहेको थियो। हल्का चिसो बतासले जिस्काइरहेको थियो। अनि प्रफुल्ल भएर सम्झिहालेँ मुना सरि फैलिदै गरेको मेरो मायालाई।
चेर्दुङ
समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो।
डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनी महादेव शीला छ। जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन्। ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ।
वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्छ।
यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाईन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ।
चेर्दुङ डाँडैबाट गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न पाइन्छ।
डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायतका दृश्य हेर्न पाईन्छ। डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ।
चिमाल, सुनपाती, धुपिका सुगन्धले मख्खै बनाइदिन्छ। डाँडाको मोहनीमा रनभुल्ल हामी लगभग ६ बजे तिर बासको बन्दोबस्त गर्न लाग्यौं।
कोही टेन्ट गाड्न, कोही दाउरा खोज्न, कोहि पानी खोज्नतर्फ लाग्यौं। केही समयमा नै सबै बन्दोबस्त भयो।
अनि सुरू भयो चेर्दुङमा बार्बिक्यू। आगो वरिपरी बसेका साथीहरू कोही मासु भुट्न थाले, कोही रोटी र अचार झिक्न थाले। त्यसपछि त्यो चिसो सिरेटोलाई पदमचालको चुस्की लगाउँदै रमाउन थाल्यौं। अगेना वरिपरी बसेर रमाइलो गरिरहेको बेला भाइ रूपेसले आफ्नो जुत्ता डढेकोसमेत पत्तो पाएन। सबै थकित भए पनि त्यहाँको मौसमा रमाइरहेका थियौं।
चिसो बतास चलिराथ्यो, खासै मिठो निद्रा परेन। बिहानी सूर्योदय हेर्न सबै उठ्यौं। फोटो र भिडिऔं लियौं, केहीले टिकटक भिडिओसमेत बनाउन भ्यायौं।
यति राम्रो चेर्दुङ डाँडा, सुन्दर हरियालीमा सेताम्मे हिमाल आँखै अगाडि देखेपछि साच्चीकै मायाँमा पर्यौं, चेर्दुङको मायामा।
घण्टौंसम्म भुलिन सक्ने गरी प्राकृतिक, धार्मिक र सुन्दर हिमश्रृङ्खलाहरु छन् । यहाँ पुगेपछि फर्किने मनै लाग्दैन । सिरसिर चल्ने चिसो हावाले झनै मनमा उमंङ्ग थपिदिन्छ ।
करिब १२ बजे तिर सबै सामान मिलाएर हामीले फर्कने तयारी गर्यौं। फर्कन मन नभए पनि चेर्दुङलाई फेरि भेट्ने बाचा गर्दै बिस्तारै ओरालो लाग्यौं।
यात्रामा थियौं
१. रविन लुईँटेल- फोटो र भिडिओ खिच्न पाए हुने
२. रूपेश - बाटोमा हतार गरिरहने
३. याकुव तामाङ -सोझो जसले जे भने पनि हस भन्ने
४. मोहन खत्री- नचाहिने-नचाहिने कुरा गर्ने हँसाउने
५. पेम्बा शेर्पा- रक्सी खानुपर्छ भनेर अरूलाई उक्साउने, तर आफू चै नखाने।
६. सुदीप जिरेल- सामान बोक्नै नमान्ने
७. आसिक नेपाली- हिँड्न अल्छी गर्ने
कसरी पुग्ने:
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ। विशेषतः जिरीबजार-गोकुलगंगा पार्क-रमिते डाँडा-पटासे डाँडा-क्याङ्से पोखरि-चेर्दुङ (पैदल यात्रा ६,७ घण्टा)
मोटरबाटो- जिरी बजार - रातमाटे-कुथामे- जोरमाने-क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घन्टा पैदल।
न्यानो कपडा साथै बाटोमा होटल नहुँदा खानेकुरा लान बिर्सनु हुन्न।
हेर्नुहोस् तस्बिरहरू