म्याग्दी। ६ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा रहेकी नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला आज म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुगेकी छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णसहित हरिलाले आठवटा हिमालको सफल आरोहण गरिसकेकी छन्। आज बिहान ६ बजे हरिला र पाँचजना नेपाली पर्वतारोहीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले बताए।
हरिला सेभेन समिटमार्फत अन्नपूर्ण आरोहण गर्न जेठ १९ गते आधार शिविर पुगेकी थिइन्। हरिलासँगै तेन्जिन शेर्पा, पासाङनेर्बु शेर्पा, लेक्पा तेम्बा शेर्पा, मिङ्मा तेन्जिन शेर्पा र लेक्पा ज्याल्जिन शेर्पाले अन्नपूर्णको सफल आरोहण गरेका गुरागाईँले बताए।
मौसम सफा र अनुकूल भएकाले हरिलालाई अन्नपूर्ण आरोहणका लागि धेरै समय पर्खनु परेन। अन्नपूर्ण जानुअघि हरिलाले एक हप्ताअघि म्याग्दीमै रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन्।
हरिलाले चालु याममा अन्नपूर्ण, धवलागिरि, सिसा पाङ्मा, चो ओयु, मकालु, कञ्चनजङ्जा, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरिसकेकी सेभेन समिट टे«क्सले जनाएको छ। आरोहण टोली अन्नपूर्णको चुचुरोबाट आधार शिविर फर्किएको आरोहणको समन्वय गरेका म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्री सिंह शेरचनले जानकारी दिए।
सन् २०१९ मा म्याग्दीको दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने निर्मल पुर्जाले ६ महिना छ दिनमा आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए। पुर्जाको कीर्तिमान तोड्ने लक्ष्य राखेकी हरिलाले गत वर्ष १२ वटा हिमाल आरोहण गरेर चीन तर्फका दुईवटा हिमाल आरोहण गर्न अनुमति नपाएपछि सफल भइनन्। उनले चालु याममा चोयु र सिसापाङमा हिमाल आरोहण गरिसकेकी खबर राससले प्रकाशित गरेको छ।