मुस्ताङ। मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा शुक्रबार वर्षा र वेमौसमी हिमपात भएको छ।
मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो। यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो।
हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए। मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ। वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजिवन प्रभावित भएको बताए। उनका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन्। गाईवस्तु र भेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहाराको समस्या भएको जनाइएको छ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ। डाँडाहरु हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरी–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
यसपाली पुस र माघमा हिमपात भएको थिएन। हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको खबर राससले प्रकाशित गरेकाे छ।