काठमाडौ। नेपाली नयाँ वर्ष सुरु हुनै लागेको छ। नयाँ वर्षको अवसरमा परिवारसँग देशका विभिन्न पर्यटकीय स्थलहरू घुम्ने योजना बनिरहेका छन्।
यसै पनि हाम्रो देश पर्यटकीय गन्तव्यका हिसाबले विश्वका उत्कृष्ट देशहरू मध्ये एक हो। परिवारसँगको भ्रमणले सम्बन्धमा नयाँ पन ल्याउन मद्दत गर्दछ भने आफ्नो दैनिकी कामको ह्याम्पर हटाउन मद्दत गर्दछ।
साथै यसले केही नयाँ कुरा सिक्ने, मनोरञ्जन प्राप्त हुने साथै देशको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्न सक्दछ। हामीले हाम्रा पाठकहरुकालागि आज यस सामाग्रीमा नेपालका घुम्नैपर्ने १२ पर्यटकीय क्षेत्रहरूका बारेमा चर्चा गरेका छौं।
नगरकोट
नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो यस क्षेत्र काठमाडौंबाट ३२ किलोमिटर उत्तर– पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ। यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ।
गर्मीमा पनि चिसो हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ। नगरकोटबाट देखिने मनोरम हिमशृङ्खलाहरू कञ्चनजङ्घा हिमश्रृङ्लासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि हुन्। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध मान्ने गरिन्छ।
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्य देखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् काठमाडौँबाट मोटर यात्राबाट सजिलै पुग्न सकिने नगरकोट नेपालका पर्यटकीय गन्तव्यहरूको नाम भन्दै गर्दा काठमाडौंबाट नजिकै पर्ने गन्तव्यको रूपमा आउँछ
भक्तपुर–चाँगुनारायण– नगरकोट मार्ग, सुन्दरीजल– साँखु –नगरकोट, खरिपाटी– तेलकोट–नगरकोट पदयात्रामार्फत पनि नगरकोट पुग्न सकिन्छ। यसैगरी बौद्ध स्तुपा, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिरलगायतका क्षेत्रहरू पनि आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा रहेका छन्।
पोखरा
पोखरा नेपालकी सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ। नेपालीभन्दा विदेशी पर्यटक पोखरामा धेरै आउने गर्छन।
पोखराको मुख्य आकर्षण भनेको फेवाताल र बाराही मन्दिर हो। फेवातालमा बोटिङको मज्जा लिन र डुङ्गा चढेर मन्दिरमा पुगेर पूजाआजा गर्नु अधिकांश पर्यटकहरू पोखरा पुग्ने गरेका छन्। फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ जुन अत्यन्तै मनमोहक रहने गरेको छ।
फेवातालमा बोटिङ मात्र फिसिङसमेत गर्न पाइन्छ। फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैंमा आकर्षक छ। पोखरा पुग्ने पर्यटक लेकसाइडमै बस्न रुचाउँछन्। पश्चिमी गन्तव्यको आभाष गराउने लेकसाइड दिनमा भन्दा रातमा झिलिमिली देखिन्छ। पोखराका अधिकांश होटल तथा लजहरू यहीं लेकसाइडमा पर्दछन्।
पोखरामा फेवाताल जस्तै पर्यटकलाई लोभ्याउने गन्तव्य हो, डेभिड फल्स (पातले छाँगो)। फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीतर्फ हानिन्छ। वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ निकै मनमोहक देखिन्छ।
यसैगरी छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा खाल्डोमा रहेको छ । यहाँ गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र रमाउन सकिन्छ। गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डेभिड फल्सको पानी देख्न सकिन्छ । पोखराको अर्को प्रमुख गन्तव्य विन्दवासिनी मन्दिर हो।
अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ। विन्दवासिनी मन्दिर आफैँमा पनि सुन्दर र सफा रहेको छ। सराङकोट पोखराबाट उत्तर–पश्चिममा रहेको अग्लो डाँडा हो। पोखरा पुगेपछि सराङकोट पुग्नैपर्ने ठाउँ हो।
यहाँबाट पोखरा र लेखनाथ शहर र हरियाली वनजङ्गल सिङ्गै देख्न सकिन्छ। साथै, आँखैअगाडि माछापुच्छ«्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृखलाहरू पनि हेर्न पाइन्छ। प्याराग्लाइडिङ र जिप फ्लाई समेत सराङकोटबाट नै हुने गर्छ। बेगनास र रूपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन्।
तालको मीठो माछा खानका लागि बेगनास निकै चर्चित मानिन्छ। डाँडावारि बेगनास र डाँडापारि रूपाताल रहेको छ। बेगनास तालमा पनि डुङ्गा चढेर रमाइलो गर्न पाइन्छ शहरी कोलाहलबाट अलि टाढा भएकोले यहाँ पुग्दा आत्मशान्ति मिल्छ पोखराबाट बेगनास तालमा सार्वजनिक गाडी प्रशस्तै चल्छन्।
त्यस्तै महेन्द्र गुफा पोखराको निकै चर्चित ठाउँ हो। महेन्द्र गुफानजिकै अर्का चमेरे गुफासमेत रहेको छ। महेन्द्र गुफा पुगेपछि चमेरे गुफा पनि अवलोकन गरेर फर्किन सकिन्छ। पोखरा पुग्ने अधिकांश मानिसहरू प्याराग्लाइडिङ नगरी फर्कदैन। प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठुलो संख्यामा स्वेदशी÷विदेशी पोखरा पुग्छन्।
साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ। सारङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवाताल किनारमा ल्यान्डिङ हुन्छ।
पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट। अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमश्रृङ्खला हेर्न पाइन्छ। साहसिक पर्यटनमा रुची राख्नेहरूका लागि बञ्जिजम्म निकै रोमाञ्चक हुन्छ। पोखराको हेम्जामा टावरसहितको बञ्जीजम्म सञ्चालनमा छ। सराङकोटबाट हेम्जासम्म जीप फलाई गराइन्छ।
एकपटकमा दुईजनाले गर्न सकिने जीप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ। साहसिक खेलमा पर्ने जीप फ्लाई गर्दा थ्रिल महशुस हुन्छ। जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, गङ्गा चढेर रमाइलो आसपासको घना जङ्गल र हिमश्रृङ्खला हलबाट अलि टाढा अवलोकन गर्दै सराङकोटबाट हेम्जा झर्न पाइन्छ।
यसको अलवा पोखरामा थुप्रै घुम्न जाने ठाउँहरू रहेका छन्। माटेपानी गुम्वा, अन्य तालहरु पमे लगागतका ठाउँमा पुगेर पनि मज्जा लिन सकिन्छ। पोखरा माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण बेस क्याम्प गुरूङहरूको सुन्दर बस्ती रहेको घान्द्रुुक लागयतका विभिन्न ट्रेकिङका लागि प्रवेशद्वार समेत हो।
काठमाडौं
सामान्यतया काठमाडौं दशैं तथा तिहारको समयमा सुनसान हुने ठाउँ हो। तर ऐतिहासिक र पुरातात्विक सम्पदाहरूले भरिपूर्ण काठमाडौँ उपत्यका पर्यटकहरूका लागि अत्यन्त मन लोभ्याउने ठाउँको रूपमा चिनिन्छ। चाडवाडको समयमा परिवारसहित घुम्न मज्जा लाग्ने काठमाडौं उपत्यका नेपालको ऐतिहासिक शहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो काठमाडौं उपत्यका (नेपाल उपत्यका) मा ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर पर्दछन् यो पहाडी क्षेत्रको सबैभन्दा ठूलो उपत्यका हो।
सभ्यताको प्रतीकको रूपमा विकास भएको काठमाडौं वर्तमान नेपालको राजधानी मात्र नभई देशको मुख्य शहरी क्षेत्र पनि हो। देशको केन्द्रीय सचिवालय सिंहदरवार, नारायणहिटी दरवार, मन्त्रालयहरू विभिन्न केन्द्रीय कार्यालयहरू यसै उपत्यकामा रहेका छन्। २०७५ को महाभुकम्पले कतिपय पुराना संरचनाहरू ध्वस्त पारेपछि काठमाडौं नयाँ बन्ने क्रममै रहेको छ।
काठमाडौं नेपालको प्रमुख वाणिज्य केन्द्र पनि हो, पर्यटन स्थलको रूपमा वसन्तपुर दरबार, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, ठमेल बजार, पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, शिवपुरी निकुञ्ज, नगरकोट, चन्द्रागिरी, गोदावरी क्षेत्र सुन्दरीजल, धुलिखेल, चोभार, ककनी यसै उपत्यकामा रहेका छन्।
पछिल्लो समय निकै चर्चामा आएको काठमाडौंको एउटा पर्यटकीय गन्तव्य हो चन्द्रागिरी डाँडो। धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित चन्द्रागिरी पर्यटकीय गन्तव्यको रूपमा अगाडि आएको हो।
धार्मिक र ऐतिहासिक मानिने काठमाडौँको चन्द्रागिरी डाँडो अहिले दोस्रोपटक केबलकारको कारण चर्चामा छ। दैनिक हजारौं मानिस आधुनिक केबलकारमा चढेर समुन्द्र सतहबाट २,५५१ मिटर अग्लो चन्द्रागिरी पुग्ने गर्दछन्।
त्यसैगरी प्रकृति प्रेमी र एकान्तमा रमाउन चाहानेहरूका लागि चोभार अर्को गन्तव्य हो। मञ्जुश्रीले तरबारले डाँडो काटेपछि पानी त्यहाँबाट बगेर विशाल दह सुक्न पुगेको र कालान्तरमा त्यहाँ कान्तिपुर नगरी बस्न गएको मिथकलाई समेटेको चोभार डाँडो क प्रकृति प्रेमीहरूको आकर्षणको केन्द्र हो।
काठमाडौँ उपत्यकाको अर्को पर्यटकीय गन्तव्य हो सुन्दरीजल। काठमाडौँबाट करिब ९ किलोमिटर उत्तरतिर गएपछि यहाँ पुगिन्छ।
शिवपुरी राष्ट्रिय निकुञ्ज, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको सिमानामा रहेको सुन्दरीजलमा स्यालमती र नागमती नदीको सङ्गममा रहेको प्रसिद्ध नदी बागमतीको मूलद्वार समेत रहेको छ।
काठमाडौं उपत्यकाको पर्यटकीय गन्तव्य पाटन दरबार रहेको छ। पाटन उपत्यकाको सबैभन्दा पुरानो शहर हो।
प्राचीन कालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरीजस्ता नामले चिनिन्थ्यो। पाटन शहर नरदेवले स्थापना गराएका हुन् १७ औं शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले सिँगारिएको हुनाले यस क्षेत्र धार्मिक र ऐतिहासिकरूपमा विशेष मानिन्छ। भूकम्पले ढलेको पाटन दरबार क्षेत्र उठ्ने क्रममा छ।
उपत्यकाको अर्को ऐतिहासिक शहर हो भक्तपुर दरबार। त्यतिमात्रै नभई भक्तपुर दरबार सांस्कृतिक प्राचीन शिल्पकला एवम हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ।
प्राचीन कालमा मल्ल राजाहरू बसोवास गर्ने गरेको यो क्षेत्रमा पचपन्न झ्याले दरबार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, भैरवनाथ मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचीन तथा ऐतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरूको विशाल एवम् अनौठो भण्डार विद्यमान रहेको पाइन्छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र वास्तवमा खुल्ला सङ्ग्रहालयहरूको रूपमा रहेको छ। भक्तपुर दरबार आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्यमध्येमा पर्ने गर्दछ।
ओलाङ्चुङ गोला
ताप्लेजुङमा सामान्यतथा पाथिभरा देवीको मन्दिरले प्रख्यात छ। धार्मिक आस्थाको केन्द्र रहेको पाथिभरा साथै यहाँ रहेका ऐतिहासिक गुम्बाहरू पर्यटकका लागि आकर्षण हुन्। ताप्लेजुङको ओलाङ्चुङ गोला पनि पर्यटकको लागि अर्को आकर्षण हो। एक त लेकाली बस्तीमा रहेको ओलाङ्चुङ गोला हिमालको काखमा रहेको छ। सुन्दैमा आकर्षक लाग्ने नामभित्र घुम्दाको मज्जा पनि छुट्टै आनन्दको छ। ताप्लेजुङको फुङ्लिङ बजार हुँदै सहजैरूपमा जान सकिने यो ठाउँ काठमाडौंबाट हवाई यात्रा हुँदै सुकेटार बिमानस्थलमा उत्रिएर पनि जान सकिन्छ। गाडी, जिप तथा पैदलै पनि पुग्न सकिने यो गन्तव्य सपरिवार घम्न्नको लागि उत्तिकै रोमाञ्चक छ।
इलाम
इलाम नेपालको सुदूरपूर्वको प्राकृतिक र भौगोलिकरुपमा सुन्दर जिल्ला हो। सामान्यतया चियाको नामबाट प्रख्यात रहेको इलाम भौगोलिक बनावट र नगदेबालीले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोम्याउने गर्दछ।
नेपालको पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले जोकोहीलाई लोम्याउन सक्ने क्षमता राखेको छ। इलाम एक पर्यटकीय हिसाबले भरिपूर्ण क्षेत्र मानिन्छ।
यहाँका धार्मिक क्षेत्र, जातीय संस्कृति, तालतलैया सिमसारजस्ता ठाउँले पर्यटकहरूलाई तान्ने गरेका छन्।
झापाको चारआलीदेखि इलाम जाँदा धेरै घुमाउरो बाटोको यात्रा गर्नुपर्दछ विराली बाटोमा यात्रा गर्दाको रमाइलो नै छुट्टै छ। यहाँको चियाबारी, हरियाली वातावरण, साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ।
नेपालको पूर्वी जिल्लामा पर्ने इलाम पाँचथर र झापाको बीचमा पर्दछ। सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, छिन्तापु, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङ, भालुढुङ्गा, इलाम को बजार, झ्याउपोखरी, गुफाथुम्कीजस्ता पर्यटकीय स्थलहरू घुम्नयोग्य स्थल हुन्।
इलाममा अर्गानिक चिया, ओलन, अकवरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्पादनमा उत्कृष्ट भूमिको रूपमा समेत इलाम अगाडि आउँछ। इलाम पुग्ने जोकोही पनि कन्याम नपुगी पर्कदैनन्। कन्याम मेची राजमार्ग सँगै जोडिएको कन्याम झापाबाट इलाम आवागमनमा विच बाटोमा नै पदर्छ।
चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ। कन्याम, नजिकैको हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन्। यसैगरी माईपोखरी जिल्लाकै अर्को प्रमुख पर्यटकीय तथा धार्मिक आकर्षणको गन्तव्य हो।
इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरीमा दैनिक सयौं धर्मवलम्बीहरू पुग्ने गर्दछन्। यहाँ विभिन्न प्रजातीका चराचचुरूङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पती पाइन्छन्। मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर उत्तरमा रहेको माइपोखरीमा पूजापाठसहित घुमघामका लागि आउनेहरूको भीड देखिन्छ। सडकको अवस्था सुधार र अन्तुपोखरीमा डुङ्गा निरन्तर चल्ने हुँदा १२ महिनानै पर्यटकको उपस्थिति हुने गर्दछ।
जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर इलामको उत्तरी क्षेत्रमा पर्दछ। भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ।
३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजङ्घा लगायत नेपाल, भारत र भुटानका थुप्रै हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्वपूर्ण छ। यहाँ चैत वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याउने स्थानीय बताउँछन्।
इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धीथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृङ्खला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न सकिन्छ। यसैगरी ढापपोखरी माङसेबुङ, गजुरमुखी लगायतका प्रमुख पर्यटकीय गन्तव्यका लागि इलाम निकै प्रख्यात मानिन्छ।
मुस्ताङ
मुस्ताङ आफैंमा नेपालको चर्चित पर्यटकीय गन्तव्यको नाम हो। हिमालपारिको जिल्लाको नामबाट चिनिने मुस्ताङ जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ। करिब ३००० वर्षभन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्व कालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।
पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत रहेको यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो। त्यस्तै, माथिल्लो मुस्ताङलाई हिमालयको मरूभूमि भनेर पनि चिन्ने गरिन्छ यहाँको कला–संस्कृतिले नेपाली सांस्कृतिक विविधतालाई प्रष्ट्याएको छ।
बीचमा बन्जर मरूभूमि र छेउ छाउमा सेता हिमालहरूका दृश्यले जोकोहीलाई पनि मोहित तुल्याउँछ। वर्षेनी हजारौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू माथिल्लो मुस्ताङको भ्रमणको लागि पुग्ने गर्दछन्। मुस्ताङ जिल्लामा लोमान्थाङ ऐतिहासिक दरबार, मुक्तिनाथ क्षेत्र, टुकुचे, निलगिरी हिमाल, धौलागिरी हिमाल, दामोदर कुण्ड, कागबेनी लगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पर्दछन्।
मुस्ताङमा यारूझो भ्युटावर, नीलगिरि र धौलागिरि हिमालको दृश्यावलोकन, स्नो लियोपार्ट, घरपझोङ किल्ला, कुछ पतेरगा गुम्बा, ऐतिहासिक सङग्राहलय, मेसोकोन्दोपास र तिलिचो पदमार्ग छन्। यहाँको ठिनी गाउँ थकाली सभ्यताको उद्गमस्थलसमेत मानिन्छ। मुस्ताङ आएका पर्यटकको अर्को रोजाइ पर्यटकीय गाउँ मार्फा हो। स्याउ र पर्यटकीय स्थलको रूपमा प्रख्यात मार्फा गाउँ धेरैको रोजाइको गाउँ हो। मार्फ संस्कृतिले उत्कृष्ट ठाउँ हो। यहाँका परम्परागत शैलीका एकआपसमा जोडिएका घर, स्याउका बुट्यान, डिस्टिलरी, कृषि फर्म हेर्नलायक छन्।
त्यसो त उपल्लो मुस्ताङमा हेर्नलायक दर्जनौं ऐतिहासिक गुम्बासमेत छन्। मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको छ। मुस्ताङको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङ्गी सभ्यता र संस्कृतिले पर्यटकहरूलाई लोभ्याउँछ।
कतिपय पर्यटकहरू भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा पुग्ने गर्छन् मुक्तिनाथ पुग्नका लागि म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङको यात्रा गर्न सकिन्छ पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ।
लुम्बिनी
बौद्ध धर्मावलम्बीहरूको लागि प्रख्यात कपिलबस्तु सबै धर्मका पर्यटकका लागि उत्तिकै महत्वपूर्ण ठाउँ हो। कपिलबस्तु जिल्लामा पर्ने लुम्बिनी गौतम बुद्धको जन्म स्थल हो। विश्वप्रसिद्ध गन्तव्यका रूपमा परिचित लुम्बिनी विश्वभरका बुद्धप्रति आस्था राख्ने भक्तजनहरूका लागि मुख्य धार्मिक केन्द्रको रूपमा रहेको छ। भैरहवाको सिद्धार्थनगरदेखि २२ किलोमिटर पश्चिममा पर्ने लुम्बिनीमा ईसापूर्व ६२३ मा शाक्यमुनि माता मायादेवी देवदहबाट पतिको घर तौलिहवा जाँदाजाँदै पवित्र बगैँचामा सिद्धार्थ गौतमको जन्म भएको तथ्य भेटिएको छ।
शान्त वातावरण तथा विभिन्न मुलुकले बनाएका बिहार तथा चैत्यले आर्कषक बनेको लुम्बिनीमा नेपाल भ्रमणमा आउने प्रायः पर्यटक पुग्ने गर्दछन्। मायादेवी मन्दिर, विश्व शान्तिस्तुप, अशोक स्तम्भ, विश्व शान्तिदीप, लुम्बिनी म्युजियम, तिलौराकोट, देवदह आदि लुम्बिनीको पर्यटकीय गन्तव्य हुन्।
पाथीभरा
ताप्लेजुङ जिल्लामा पर्ने पाथिभरा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र हो। पाथिभरा मन्दिर हिन्दु र बौद्ध धर्मालम्बीहरूको प्रमुख धार्मिक स्थलसमेत मानिने गरेको छ। ताप्लेजुङको १२ हजार फिट उचाइमा पर्ने यो मन्दिर जिल्ला सदरमुकाम फुङ्लिङबाट १९.४ किमी पूर्वोत्तरतर्फ ३७९४ मिटरमा छ। फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेपछि पाथिभरा मन्दिर पुगिन्छ। यस मन्दिरमा वर्षैभरि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्दछ। यहाँबाट सुन्दर हिमशृङ्खलाहरूको समेत अवलोकन गर्न सकिने भएकाले पनि यस मन्दिरमा जाने पर्यटकको सङ्ख्या उच्च हुन्छ। पाथिभरा मन्दिर ३७९४ मिटर उचाइमा रहेकाले यहाँको तापमान शून्यको हाराहारीमा झर्ने गर्दछ। चिसोबाट बच्न यहाँ जाँदा घरेलु उपचारको सामग्री तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडा साथै लैजाने चलन छ। पछिल्लो समयमा शारीरिक अशक्त पर्यटकहरूका लागि पाथिभरा दर्शनका लागि सुनसरीको धरान तथा धनकुटाको भेडेटारबाट हेलिकोप्टर सेवा पनि सञ्चालन गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज
चितवन जिल्लामा अवस्थित चितवन राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको ठाउँ हो। चितवनको सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो।
नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्जको रूपमा सन् १९७३ मा स्थापना भएको राष्ट्रिय निकुञ्ज सन् १९८४ मा विश्व सम्पदा सूचीमा परेको थियो। यो निकुञ्जले ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।
यो नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यको रूपमा चिनिने गर्छ। विशेषगरी एक सिँगे गैंडा र हात्तीको लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज जङ्गल सफारी र हात्ती सफारीको लागि प्रख्यात छ। पछिल्लो समयमा यस निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न होटलहरू पनि सञ्चालनमा आइसकेका छन्।
बेनी
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार अत्यन्तै सुन्दर बजारमा रुपमा परिचित छ। एक समय आगलागी हुँदा ठुलो क्षति व्यहोरेको यो बजार अहिले पुनःस्थापना भइसकेको छ। कालीगण्डी र म्याग्दी नदीको दोभान रहेको यो बजार एकदमै शान्त र सुन्दर छ। बेनी बजार धौलागिरी क्षेत्रका चार जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत हो।
पर्यटकीय दृष्टिले निकै आकर्षक मानिएको बेनी बजार काठमाडौंबाट बसमा एक दिनमा पुग्न सकिन्छ। हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश स्थललको रुपमा समेत बेनीलाई चिन्ने गरिन्छ। सडक सञ्जालले घेरिएको बेनीमा सुविधा सम्पन्न होटलहरू पनि छन्। विभिन्न जातजातिको रैथाने बस्ती रहेको बेनीमा धौलागिरि हिमश्रृङ्खला, भीर पाखा, गुराँसे जङ्गल, उत्तीस, निगाले, थार, नाउरजस्ता वन्यजन्तु र चराचुरूङ्गीका अवलोकन गर्न सकिन्छ।
रारा ताल
रारा ताल नेपालकै सबैभन्दा ठूलो प्रसिद्ध तालको रूपमा चिनिन्छ निकै मनमोहक यहाँको जैविक विविधता र प्राकृतिक सौन्दर्यलाई बयान गर्न धौधौ नै पर्छ वि.सं. २०२० सालमा तत्कालीन राजा महेन्द्रले स्वर्गकी अप्सरासमेत भनेर रारा तालको नामकरण गरेका थिए।
कूल १०.८ किलोमिटरमा फैलिएको राराको लम्बाई ३.२ किलोमिटर र गहिरो १ सय ६७ मिटर छ। रारा लेक ट्रेकिङ पनि पर्यटकहरूका अति रूचाइएका गन्तव्यको रूपमा चिनिएको छ। त्यसपछि यसको चर्चा चुलिँदै गएको अनुमान गर्न सकिन्छ।
समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान पछिल्लो समय सहज हुँदै गइरहेको छ। काठमाडौँबाट बढीमा ३० घण्टामै जुम्ला सदरमुकामसम्म पुग्न सकिन्छ भने जुम्लाबाट ६–७ घण्टाको यात्रापछि सहजै रारा पुग्न सकिन्छ। सुन्दर राराबाहेक पनि मुगुमा अन्य पर्यटकीय गन्तव्यहरू प्रशस्त रहेका छन्। मुगुमा राराबाहेक पनि साना–ठूला गरी १ सयभन्दा बढी ताल, कुण्ड आदि छन्।
यी स्थानहरूको पनि प्रचारप्रसार हुन सको मुगुमा सम्भावना निकै रहेको छ। राराबाट दुई दिनको पैदल यात्रापछि सके मुगुमा पर्यटकीय पुग्न सकिने माथिल्लो मुगु, कोइजी, मरक्का हिमाल, डोल्फु गाविसस्थित प्राचीन छायाँनाथको मन्दिर, त्यहाँको तामा खानी, तिहार गुम्बालगायतका स्थानहरू पनि आन्तरिक तथा पर्यटकीय गन्तव्य हुन्। तर, यी स्थानहरू पनि चर्चामा आउन सकेका छैनन्
यसैगरी रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तुरी, नाउर, घोरल, गिद्ध आदि पशुपन्छी र यार्सागुम्बा, पाँचऔंले, उत्तीस, कटुकी, भोल्तेजस्ता जडिबुटीहरू पाइन्छ। मुगुको ग्रामीण क्षेत्रमा पुग्ने पर्यटकहरूले साना–ठूला विभिन्न ताल, कुण्ड, ढुङ्गाले कुँदिएका सुन्दर मूर्ति, साना–ठूला गरी १ सय ५० भन्दा बढी झरना अवलोकन गर्न सक्नेछन्।
सिन्धुलीगढी दरबार
प्राकृतिक सुन्दरता एवम् ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सिन्धुलीगढीलाई लिन सकिन्छ। सिन्धुलीगढी काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको ४ हजार ६ सय ४८ फिट उचाइमा रहेका छ।
नेपाल–अंग्रेज युद्धको जिउँदो इतिहास मानिने सिन्धुलीगढीमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अझै पनि सुरक्षित छन्।
सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्धुलीगढीमा पुगेर हेर्दा हाम्रा पुर्खाले कसरी युद्धको रणनीति बनाउने गरेका रहेछन् भन्ने कुरा थाहा पाउन सकिन्छ।
सिन्धुलीगढी जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दुरीमा पर्छ।
सिन्धुलीगढी अवलोकन गर्दा इतिहासको कालखण्डमा निकै कुख्यात घटनाक्रमबारे जानकारी लिन सकिन्छ। १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्र आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ।