हुम्ला। एक ३५ वर्षीय युवाले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने हिसाबले पैदल यात्रा सुरु गरेका छन्। उनी सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका लागि पैदल यात्रामा निस्किएका हुन्।
बाजुरा जिल्लामा जन्मिएर हाल कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–४, राजीवपुरमा बसोबास गर्दै आएका देशराज पाध्याय देशका ७७ वटै जिल्ला सदरमुकाम पुग्नका लागि पैदल यात्रामा निस्किएका छन्।
यसक्रममा हुम्लाको सदरमुुकाम सिमकोट आइपुगेका उनले सुदूरपश्चिम प्रदेश र साबिक कर्णालीका जिल्लामा रहेका पर्यटकीय र धार्मिक स्थलको प्रचारप्रसारका लागि पैदल यात्रामा निस्केको बताए।
उनले सुुदूरपश्चिममा रहेका पर्यटकीय तथा धार्मिक स्थल गोदावरी, बडीमालिका, पादुुका, वैजनाथ, परशुधाम, अपि सैपाल, खप्तड र साबिक कर्णालीमा रहेका चङ्खेली, पञ्चमुखी, रलिङ, खार्पुनाथ, रारा, छायानाथ, त्रिपुरासुन्दरी, शे–फोक्सुन्डोलगायतका पर्यटकीय स्थलको प्रचारका क्रममा यात्रा गर्दै आएका छन्।
उनले पर्यटकीय र ऐतिहासिक धार्मिक स्थल भए पनि तिनको प्रचारप्रसार हुन नसक्दा त्यसको प्रवद्र्धन हुन नसकेको देखिएका कारण पर्यटन प्रवद्र्धनका लागि देशभर पैदल निस्किएको बताए। हालसम्म उनि आठ जिल्लामा पैदलै पुगिसकेका छन्। उनि डडेलधुरा जिल्लाबाट चैत १ गते निस्किएका थिए भने त्यसयता बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा र हुम्ला जिल्लामा पुगेका छन्। हुम्लाबाट मुगु जिल्लाका लागि उनि आइतबार हिडेका छन्।
उनले जिल्ला सदरमुकाम पुग्ने र पर्यटकीय स्थलका बारेमा जिल्लाका प्रबुद्ध व्यक्तिहरूसँग छलफल तथा जानकारीसमेत गराउने गरेका छन्। त्योसँगै उनले स्थानीय प्रशासनसँग आफू जिल्ला सदरमुकाम पुगेको सिफारिससमेत लिने गरेका छन्।
देशका ७७ वटै जिल्ला सदरमुकाम पुग्नका लागि उनले १० देखि १२ महिना समय लाग्ने अनुमान गरेको बताए। सबै जिल्ला पुगेपछि पैदल यात्री पाध्यायले एउटा ज्ञापनपत्र तयार पार्ने र सो ज्ञापनपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई बुझाउने बताए।
उनले सम्भव भए मन्त्रीलाई एक पटक ती पर्यटकीय स्थल अवलोकन गर्न निम्तोसमेत दिने बताए। यात्रामा लाग्ने खर्चका लागि उनले घरबाट आठ हजार रुपियाँ बोकेका थिए भने बाँकी ठाउँठाउँमा व्यक्तिगत सहयोग स्थानीयले गर्दै आएको खबार गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ।