कास्की। होटल सङ्घ पोखरा नेपालको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा हुने १८ औँ संस्करणको फेवा नववर्ष महोत्सवमा काठमाडौँवासीलाई निम्तो दिइएको छ। नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ वर्षलाई धुमधामका साथ मनाउन लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन काठमाडौँवासीलाई आग्रह गरिएको हो।
पर्यटन, संस्कृति र खानालाई जोड दिँदै आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको बताउँदै उनले यसले कोभिड–१९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पोखरामा हाल होटलको क्षमताको ८० देखि ९० प्रतिशतसम्म पर्यटक हुनुपर्नेमा मुस्किलले ३० प्रतिशत रहेको उनले जानकारी दिए। पृथ्वी राजमार्गको सुस्त र अव्यवस्थित स्तरोन्नति एवं माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले यहाँको पर्यटन व्यवसाय प्रत्यक्ष प्रभावित बनेको उनको भनाइ छ।
सन् २०२० मा भ्रमण वर्ष मनाउने नाममा सरकारले व्यवसायीलाई होटल क्षेत्रमा लगानी थप्न उक्साउँदा अहिले व्यवसायी समस्यामा परेको गुनासो गर्दै अध्यक्ष सुवेदीले भने, “बैंकले पनि ऋण लिन जोडबल गर्दा र सात प्रतिशतको ब्याज अहिले मनोमानीरूपमा १६ प्रतिशत पुर्याउँदा होटल क्षेत्र मारमा परेको छ।”
होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीका रूपमा विकास गरिनुपर्ने बताए। पर्यटन व्यवसायले विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने स्मरण गराउँदै उनले यस क्षेत्रलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने माग गरे।
सङ्घका केन्द्रीय सदस्य एवं होटल सङ्घ पोखरा नेपालका पूर्वअध्यक्ष भरतराज पराजुली, सङ्घका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकाललगायतले महोत्सवले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। बाह्रसिङ्गे वियर प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेको महोत्सवको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन एवं पोखरा महानगरपालिका सहयोगी रहेको खबर राससले प्रकाशित गरेकाे छ।