कास्की। आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११औँ संस्करणको सो महोत्सव गरिएको हो। हेमजाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ।
महोत्सवको मुख्य आकर्षणमा आलुको पहाड निर्माण गरिएको छ। स्थानीय कृषकबाट सङ्कलित ३५ टन आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताए। आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ भने बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने आयोजकले जनाएको छ।
आलुको पहाडले मेलामा सहभागी दर्शकलाई आकर्षित गरेको छ। पहाडअघि तस्बिर लिनेको भीड बढेको तिमिल्सिनाले बताए। मेलास्थलबाटै आलु खरिद गर्नेको बाक्लो उपस्थिति छ। महोत्सवस्थलबाट प्रतिकिलो रु ३५ मा आलुको बिक्री वितरण गरिएको छ। महोत्सवमा करिब ४० टन आलु बिक्री हुने अपेक्षा गरिएको छ। महोत्सवमा कूल एक सय २० वटा स्टल रहेकोमा करिब २५ प्रतिशत कृषि स्टल छन्। महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताए।
नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा उनको जोड छ। “कृषि नीति सुधार्ने तयारीमा छ। आगामी बजेट किसानमुखी बनाउने गरी काम गरिरहेका छौँ ”, गुरुङले भने। प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुसी हुने संस्कारको सुरुआत गर्नुपर्ने बताए। कृषि पेशालाई प्रविधिमैत्री बनाउन उनले आग्रह गरे।
कृषि मन्त्रालयका सचिव डा।सहदेवप्रसाद हुमागाईंले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै महोत्सवले बजारीकरणमा सहयोग पुगेको बताए। विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए। महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान गरिनेछ।
यसैगरी कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायत कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सुविन श्रेष्ठले बताए। महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्नेलगायत उद्देश्य पनि राखिएको छ। कोरोना भाइसरका कारण विगत तीन वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो। महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने खबर राससले प्रकाशित गरेकाे छ।