काठमाडौं। सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार सार्वजनिक गरिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना ल्याइएको हो। पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने साझा न्यूनतम कार्यक्रममा समेटिएको छ।
विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्नुका साथै पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी लगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता छ।
सांस्कृतिक, जैविक एवं भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने उल्लेख गरेको सरकारले निजगढ विमानस्थल लगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने भएको छ।
बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रक्रिया अघि बढे पनि वातावरणीय विषयमा टुंगो लाग्न नसक्दा उक्त आयोजनाको कामले गति लिन सकेको छैन। सरकारले यो आयोजनालाई शीघ्ररूपमा अघि बढाउने गरी आवश्यक प्रक्रिया थालेको छ। हालसम्म विमानस्थलको चारकिल्ला तोक्ने र तारबार लगाउने काम भएको छ।
हरित पर्यटनको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको सरकारले खेलकुदलाई उद्योगको रूपमा विकास गर्ने र अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार निर्माण तथा खेलकुद पर्यटनको विकास गर्ने योजना बनाएको खबर राससलाई उद्दृत गर्दै सेतोपाटीले प्रकाशित गरेको छ।