महेन्द्रनगर। तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ।
विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ वटा गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो। भारतसितसमेत जोडिएको शुक्लाफाँटामा लामो समयदेखि सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले गस्ती गर्ने गरेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले एउटा छावा (बच्चा)सहित सातवटामात्रै रहेको बताए। ‘अहिले छवटा हात्तीबाट निकुञ्ज गस्ती भइरहेको छ’, रेञ्जर केसीले भने, ‘हात्ती माग गर्दागर्दा मुस्किलले तीन महिनाअघि चितवनबाट यहाँ एउटा पोथी र अर्को बच्चा हात्ती ल्याइएको हो।’
यहाँ निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्तीलगायत वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति परिचालित छ। ‘हात्तीकै अभावले केही पर्दा मात्रै पूर्वी सेक्टरमा हात्ती पठाउने गरेका छौँ’, केसीले भने, ‘निकुञ्जलाई १५ देखि २० वटा हात्ती आवश्यक छ।’ उनले हरेक दुई–तीन महिनामा राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज संरक्षण विभागमा हात्तीको मागसहित पत्राचार गर्दै आएको बताए। यहाँ निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीनवटा स्थानमा हात्तीसार छन्। एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुत, पछुवा र फणित गरेर तीन कर्मचारी खटिने गरेको केसीको भनाइ छ।
“सातवटा हात्तीमा अहिले २१ जना कर्मचारी खटिएका छन्”, उनले भने। हात्ती अभावले यहाँ आउने पर्यटकलाई हात्तीबाट अवलोकन भ्रमण गराउन सकिएको छैन।
“पर्याप्त हात्ती भए पर्यापर्यटनलाई पनि सहज हुन्थ्यो”, केसीले भने, “गस्तीकै लागि हात्ती पुर्याउन नसकिएको अवस्था छ।” निकुञ्ज कार्यालयका अनुसार केही वर्षयता मात्रै बूढो भएर दुईवटा हात्तीको मृत्यु भइसकेको छ। “शुक्लाफाँटामै जन्मिएको हात्ती ‘नारायणप्रसाद’ हो”, उनले भने, “नारायणप्रसाद अहिले १५ वर्षको भइसक्यो।” विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको खबर राससले प्रकाशित गरेको छ।