काठमाडौं। उडिरहेको जहाज भित्र झगडा गर्ने यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्र्ने भएको छ।
बुधबार विराटनगरबाट काठमाडौंकालागि बेलुकी साढे ४ बजे उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा झगडा गर्ने दुई व्यक्तीलाई प्राधिकरणले कारबाहीको प्रक्रिया अगाडी बढाएको हो।
दुई यात्रुबीच झगडा गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेपछि प्राधिकरणले यसबारे बुद्धलाई स्पष्टीकरण मागेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार यो हवाई सुरक्षा विरूद्धको कार्य हो। उडान सुरक्षाको नियम तथा मर्यादा पालना नगर्ने यात्रुलाई कारबाही गर्न सकिने व्यवस्था रहेको छ।
जसअनुसार बुधबारको घटनालाई लिएर कारबाही गर्न बुद्धसँग स्पष्टीकरण मागेको उनले बताए।
‘पाइलटले रिपोर्ट गरेको अवस्थामा विमानस्थल कार्यालय प्रमुखको संयोजकत्वमा कारबाही अगाडि बढाइन्छ’ उनले भने, ’उडान सुरक्षा नियमावलीअनुसार कैद, जरिवानासँगै केही समयका लागि जहाज उडानमै प्रतिबन्ध लगाइने व्यवस्था रहेको छ।’
बुधबारको उक्त उडानमा सँगै सीटमा बसेका दुई यात्रुबीच झगडा भएको थियो। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार झगडा भएलगत्तै दुवैजनाको सिट परिवर्तन गरिएको थियो।
काठमाडौं विमानस्थल अवतरण गरेसँगै दुवै यात्रुलाई सुरक्षा विभागमा बुझाइएको उनले बताए।