काभ्रेपलाञ्चोक। कोभिड–१९ को महामारीसँगै ओरालो लागेको नेपाली पर्यटन क्षेत्रमा यति बेला उत्साह छाएको छ। पर्यटक आउनै मुस्किल रहेको अवस्थाबाट पार पाउँदै नेपालले एक महिनामा मात्र करिब एक लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को मार्चमा मात्र नेपालमा साढे ९९ हजार विदेशी पर्यटक भित्रिएका छन्।
आरोहण, ट्रेकिङ मात्र होइन; धार्मिक पर्यटनमा पनि विदेशी पर्यटकको रुचि बढ्दै गएको बोर्डको तथ्याङ्कले देखाएको छ। यसै सिलसिलामा काभे्रपलाञ्चोकको भौगोलिक रूपमा विकट तेमाल गाउँपालिका–८, टेकानपुर (योगरखुलुम)लाई पनि धार्मिक पर्यटनसँग जोड्ने कार्य सुरु भएको छ।
टेकानपुरबाट देखिने हिमालले मात्र होइन, यहाँको स्वच्छ हावापानी तथा धार्मिक, सांस्कृतिक महत्तव बोेकेको सम्पदाले पनि पर्यटकलाई लोभ्याउँछ। पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्याप्त सडक सञ्जालको अभाव र आवश्यक पूर्वाधार नहुँदा यो उपेक्षित हुने अवस्था थियो। यति बेला स्थानीयको पहलमा उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण भएपछि भने यहाँका बासिन्दा उत्साहित बनेका छन्। स्थानीयमा यो क्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बन्ने आशा पलाएको छ। बौद्ध परम्पराअनुसार हालै ह्राब्ने (प्राणप्रतिष्ठा) पूजा गरी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बौद्ध धर्मगुरु स्याल्पा तेन्जिन रिन्पोचेले संयुक्त रूपमा गुम्बा उद्घाटन गरेपछि सर्वसाधारणलाई पूजा, प्रार्थना दर्शनका लागि गुम्बा खुला भएको हो। यससँगै गुम्बामा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय आगमन हुनेमा स्थानीय विश्वस्त छन्।
सञ्चारकर्मी एवं सामाजिक अभियन्ता जगतमान दोङ तामाङका माता÷पिता च्याम्पु पाख्रिन र गुञ्जमान दोङले गुम्बा निर्माणका लागि दुई रोपनी १५ आना जग्गा दान दिएपछि करिब २७ महिनाको निरन्तर मेहनतले गुम्बाको मूल भवन निर्माण सकिएको छ। विगतमा पनि बौद्ध धर्मगुरुको तपोभूमिका रूपमा रहेको यस क्षेत्रमा गुम्बा बनाउन जग्गा दान दिन पाउँदा हर्ष लागेको गुञ्जमान दोङले बताए।
गुम्बा निर्माण समितिका अध्यक्षसमेत रहेका जगतमान दोङले गुम्बालाई पूजा, प्रार्थनालगायत कर्मकाण्डी स्थलका रूपमा मात्र सीमित नराखी गुम्बाको माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम पनि सञ्चालन गरिने दाबी गरे। उनले विशेष गरी गुम्बामा बौद्ध शिक्षा र सोही पद्धतिअनुसार धार्मिक, सांस्कृतिक अनुष्ठानको आयोजना गरिने भएपछि आधुनिक युगमा गुम्बालाई शिक्षा, स्वास्थ्य, पर्यटनको प्रवद्र्धनका माध्यम बनाइने बताए। बौद्ध धर्मका प्रख्यात गुरु पद्यसम्भव (गुरु रिन्पोछे) को तपोभूमिसमेत मानिएको तेमाल क्षेत्रमा बनाइएको यस गुम्बाका लागि भुटानका कलाकार उग्येन वाङ्दीको नेतृत्वमा पाँचवटा विशाल मूर्ति बनेका छन्। पारङ्गत कलाकार वाङ्दीको टोलीले निर्माण गरेको गुरु रिन्पोचे (सात फिट), गुरु ढाक्पो (पाँच फिट), सिङ्दोङमा (पाँच फिट), खान्डो हिसे छ्योजेल र मेन्दारावा (४–४ फिट) का मूर्तिहरूले गुम्बा शोभायमान छ।
वि.सं. २०७७ पुस २० देखि निर्माण सुरु भएको सो गुम्बाका लागि स्वदेश तथा विदेशमा रहेका श्रद्धालु भक्तजनले करिब एक करोड ७५ लाख रुपियाँ दान दिएका र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट बालुवा, गिट्टी सहयोग प्रदान भएको गुम्बा निर्माण समितिले जनाएको छ। गुम्बाको मूल भवन, मूर्ति, शौचालय निर्माण भइसकेको र भक्तजनको आगमनमा सुविधा उपलब्ध गराउन आवश्यक पूर्वाधार बाटो, धारा, पक्की पर्खाललगायतका पूर्वाधार बनाउन बाँकी रहेको जानकारी अध्यक्ष दोङले दिएकाे खबर गाेरखापत्र अनलाइनमा प्रकाशित भएकाे छ।