म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ। नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ। झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ। थकान मेटाइदिन्छ, दुःख बिर्साइदिन्छ।
अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ। हुमखोलाबाट एक घण्टाको पैदल यात्रापछि झरनामा पुग्न सकिन्छ।
माथिबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन गर्दै रमाउने गरेका छन्। झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन्। झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ। झरनाको अवलोकन गर्दा निकै आनन्द अनुभूति हुने पदयात्रामा गएका अन्नपूर्ण गाउँपालिका–५, शिखका सुरेन गुरुङले बताए। स्थानीयहरू आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई तीन वर्षअघि ‘मौरिस हर्जोग ट्रेल’ नामकरण गरी पूर्वाधार निर्माणमा जुटेका छन्। १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गरेका थिए। त्यसैले पालिकाले मौरिसको नामबाट पदमार्गको नामकरण गरेको हो। यो पदमार्ग मिस्त्री खोलाको किनारै किनार भएर अन्नपूर्ण आधार शिविर पुग्छ।
पछिल्ला पाँच वर्षयता पर्यटन मन्त्रालय र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मार्फत पदमार्गलाई व्यवस्थित बनाउन करिब साढे तीन करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए।
उनका अनुसार पदमार्ग, झोलुङ्गे पुल, फड्के पुल र सिँढी निर्माण गरिएको छ। छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी छवटा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ भने छ स्थानमा आश्रयस्थल निर्माण गरिएको छ ।
समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ। शिविरमा नीलो रङ र गोलो आकारका पाँचवटा ताल छन्। नारच्याङवासीले उक्त ताललाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन्। ती तालबाट हिमालको छायाँ हेर्न सकिन्छ। अन्नपूर्ण आधार शिविरमा अहिले आठवटा आरोही टोली पुगेको गुरुङले बताएको खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ।