कीर्तिमानी आरोही कामिरिता शेर्पाले नेपाली माउन्टेन गाइडलाई तत्काल परिचय पत्र वितरण गर्न माग गरेका छन्।
पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) ले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै २५ औं पटक सगरमाथाको सफल आरोहण गरेका शेर्पाले हिमालमा परिचयविहिन शेर्पालाई तत्कालै परिचय वितरण गर्न माग गरेका हुन्।
यसअघि नेपाली माउन्टेन गाइडलाई सरकारले परिचय पत्र वितरण गर्न सुरू गरेकोमा अत्यन्तै खुसी लागेको स्मरण गर्दै सर्वोच्चको आदेशपछि निराश बन्नुपरेको बताए।
केही अन्तर्राष्ट्रिय तालिमप्राप्त गाइडले सर्वोच्चमा दिएको रिटका आधारमा नेपाल सरकारले परिचय पत्र वितरणमा रोक लगाको भन्दै उनले आक्रोश पोखे।
‘वर्षेनी हिमाल चढ्ने रूट खोल्ने, आइसफलमा डोरी टाँग्ने, आरोहणको लागि बाटो बनाउने सबै क्लाइम्बरले हो। अन्तर्राष्ट्रिय गाइडले होइन। हामीले बाटो नखोलेसम्म हिमाल चढ्न कोही पनि सक्दैन’, उनले भने, ‘जुन पर्वतीय श्रमिकले खोलेको बाटोमा अन्य आरोही हिमाल चढ्छन्, तिनीहरूलेनै लाइसेन्स नपाउने? उनीहरूनै अयोग्य हुने? यो कस्तो कुरा हो? यो नियम के हो?’
उनले नेपालको पर्वतीय क्षेत्रका सयौं हिमालमा नयाँ बाटो खोल्न आफूहरू तयार रहेको भन्दै अन्याय र पक्षपात नगर्न सरकारसमक्ष आग्रह गरे।
‘नेपालमा सयौं हिमाल छन्, नयाँ बाटो र रूट खोलेमा हामी साथ दिन तयार छौं। नयाँ हिमाल एक्स्पलोर र खुलाउन हामी क्लाइम्वर र माउन्टेन गाइड बिना असम्भव छ। माउन्टेन गाइड र अन्तर्राष्ट्रिय तालिम प्राप्त गाइडहरु संयुक्त एकसाथ मिलेर हिमालमा काम गरे मात्र सफलता हुन्छ, राज्यलाई पनि फाइदा हुन्छ,’ उनले अगाडि भने,‘यस्तोमा हामी नेपालीलाई चै किन पक्षपात?’
बन्द गरिएको लाइसेन्स तत्काल सुचारू गर्न माग गर्दै शेर्पाले वर्षौदेखि परिचयविहिन पर्वतीय पथप्रदर्शकलाई सम्मानजनक ढंगले आफ्नो पेशामा लाग्नदिन आग्रह गरे।
‘यदि हामीलाई लाइसेन्स दिइएन भने हाम्रो हतियार 'आईसएक्स' सहित क्लाइम्विङ गियर लिएर प्रतिकारमा उत्रन वाध्य हुनेछौं,’ उनले भने।
पर्वतारोहण सम्बन्धि तालिम दिने नेपालको एक मात्र संथा नेपाल पर्वतारोहण संघ (एनएमए)को सिफारिसमा नेपाल सरकारको पर्यटन विभागले पर्वतीय पथप्रदर्शकहरूलाई वि.सं. २०७७ चैत १ गतेबाट परिचय–पत्र दिन सुरु गरिएको थियो।
त्यहीँ क्रममा १२० जनाले परिचय–पत्र पाएका थिए। ३०० जना भन्दा बढीले एनएमएबाट सिफारिससमेत लिइसकेका छन्।
यहीँ बीचमा एनएमएको बुक भएका र संघको हरेक तालिमका प्रशिक्षक समेत रहेका ४३ जना बुक होल्डरले यसरी परिचयपत्र दिन नहुने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
पर्वतारोहणका लागि योग्य बुक होल्डर पथप्रदर्शकनै अयोग्य भएको जिकिर गर्दै उनीहरूले मुद्दा हालेपछि सर्वोच्चले अन्तरिम आदेश दिँदै विभागलाई परिचय पत्र वितरणमा रोक लगाएको थियो।
कार्यक्रममा पर्यटन विभागका पर्वातारोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्यायले लामो समय नेपालका पर्वतीय क्षेत्रमा कार्यरत मजदुरको समस्यालाई विभागले गम्भीर रूपमा लिएको बताए।
‘पर्वतीय क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुरको सुरक्षा, पारिश्रमिक, इन्सुरेन्स र उनीहरूको समस्यालाई मध्यनजर गर्दै विभागले काम गरिरहेको छौ’, उनले भने।
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनमा लागेका हजारौं मजदुरको हक हित र अधिकारको लागि संघको सदैव सद्भाव रहेको भन्दै उनीहरूको आवाजमा जुनसुकै सरकारी निकायमा गएर साथ दिन तयार रहेको बताए।
त्यसैगरी टानका अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायी र मजदुरहरु एक सिक्का दुई पाटा भएको भन्दै उनीहरूको मागप्रति संस्था सकारात्मक रहेको बताए।
कार्यक्रममा सहभागी गाइडहरुले पर्वतीय पथ प्रदर्शकको समसामयिक मुद्दाहरू जस्तै पर्वतीय पथप्रदर्शक परिचय पत्र, सामाजिक सुरक्षा कोष, उद्धार कोष तथा तालिम व्यवस्थापनलगायत विभिन्न विषयमा सम्बन्धित निकायले सम्वोधन गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा पर्यटन विभाग, टेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), एक्सपिडिसन अपरेटर एसोसिएसन, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, पर्यटन क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरू, पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) र पर्वतीय पथप्रदर्शकहरूका बिचमा छलफल तथा अन्तरक्रिया भएको थियो।