मोरङ। सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ। उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन्।
मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी। लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किएका थिए। उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ।
दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन्। यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्। बगानमा एक हजार दुई सय कागतीका बोट छन्। फार्मले तीन जनालाई रोजगारी दिएको छ। बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा रु तीन र बिरुवा प्रतिगोट रु ८० का दरले बिक्री हुँदै आएको छ।
उनी भन्छन्,“चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुआत गरेँ। अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन्।” बगानमा वार्षिक रु सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ। कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन्। बिरुवा बिक्रीबाट रु आठ लाखसम्म आम्दानी हुने गरेको छ। कागतीको दाना र बिरुवाबाट वार्षिक रु २० लाखमाथि आम्दानी हुने गरेको कृषक न्यौपाने बताउछन्।
कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए। कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउछन्। उनका अनुसार ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको उनले बताएको खबर राससले प्रकाशित गरेको छ।