बलेवा, पुस २५
ढोरपाटन नगरपालिका– ९ देउराली कटेपछि उपत्यका देखिन्छ । यहाँबाट देखिन्छन्, सानो बस्ती, नेपालको एकमात्रै ढोरपाटन सिकार आरक्षको कार्यालय, नेपाली सेनाको ब्यारेक, निरन्तर बगिरहेको उत्तरगङ्गा र लामो समयदेखि बन्द रहेको ढोरपाटन विमानस्थल ।
योसँगै उपत्यकामा चरिरहेका गाईवस्तु, घोडालगायतका घरपालुवा जनावर पनि देखिन्छन् । फरक खालको जनजीवन देखेपछि ढोरपाटन सिकार आरक्ष घुम्न जानेहरु त्यही भुल्छन् र फर्किन्छन् । छोटो समय लिएर ढोरपाटन सिकार आरक्ष घुम्न जानेका लागि अन्तिम गन्तव्य हुन्छ, विमानस्थलसमेत रहेको उपत्यका ।
उपत्यकाभन्दा माथि धेरै बस्ती नहुनु, सिकार आरक्ष क्षेत्रमा रहेका घुम्न मिल्ने ठाउँको विषयमा जानकारी नहुनु र पहुँचमार्गको अभावमा ढोरपाटन पुग्ने पर्यटक विरलै त्यहाँ भन्दामाथि पुग्छन् । सिकार आरक्षको कार्यालय पुगेका पर्यटकले आरक्षमा हुने सिकार, पाइने वन्यजन्तु र जडीबुटीको जानकारी त लिन्छन् तर गहिराइमा पुग्न सम्बन्धित क्षेत्रमा पुग्नै पर्छ ।
“एक दुई दिनको समय लिएर आउनेहरु उपत्यकामै अल्मलिएर फर्किनुहुन्छ”, सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले भन्नुभयो, “उपत्यकामै रहेको सामुदायिक होटलमा बास बसेका यही हो ढोरपाटन भनेर फर्किन्छन् । तर, ढोरपाटन अथाह छ ।” विदेशी साहसी सिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा घुम्न मिल्ने ठाउँको विकास गर्न सके पर्यटकका लागि राम्रो गन्तव्य हुने उहाँको भनाइ छ । सिकारका लागि आउने सहासिक सिकारी मात्रै ढोरपाटन सिकार आरक्षका विभिन्न ब्लकमा पुग्छन् । उनीहरुले थाहा पाएको ढोरपाटन र पैदल मार्गको बाटो उपत्यकामा पुगेर फर्किने पर्यटकले थाहा पाएको ढोरपाटन आकाश पातालको फरक रहेको उहाँको बुझाइ छ ।
एक दुई किलोमिटरमाथि रहेको नवी गाउँसम्म नपुग्ने पर्यटकलाई कम्तीमा हाइअल्टिच्युड अनुभव हुने ठाउँसम्म पु¥याउने गरी सिकार आरक्ष कार्यालय पूर्वाधार विकासको काम थालेको छ । ढोरपाटन सिकार आरक्ष क्षेत्रको सबैभन्दा नजिकैको पुग्नैपर्ने गन्तव्य हो, म्याग्दी जिल्लाको सिमानामा पर्ने जलजला । ढोरपाटन उपत्यकादेखि २४ किलोमिटर दूरीमा पर्ने जलजलाको बीचमा पर्छ गुर्जाघाट । ढोरपाटन, गुर्जाघाटहुँदै जलजला पुग्ने मोटर गुड्ने पदमार्गको निर्माण तथा स्तरोन्नतिमा सिकार आरक्ष कार्यालय लागेको छ ।
“गतवर्ष हामीले गुर्जाघाटदेखि जलजलासम्म १२ किलोमिटर कच्ची पदमार्गलाई मोटर गुड्न मिल्ने बनाएका थियौं, यो वर्ष त्यो स्तरोन्नति हुन्छ”, आरक्षका प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयोे, “ढोरपाटन गुर्जाघाटको पनि सडक सुधार गर्न आवश्यक छ ।” यो सडक स्तरोन्नतिका लागि सिकार आरक्षले रु १५ लाख खर्च गर्दै छ । जलजलामा पुगेपछि तीन हजार ४०० मिटरको उचाइमा हुने हावापानीको महसुस गर्न सकिन्छ । यात्रा गर्न सक्नेले गुर्जाघाटदेखि जलजलासम्म ‘हाईअल्टिच्युड ट्रेकिङ’ गर्न सक्ने र यात्रा गर्न नसक्नेलाई सवारीमै जलजला पुग्नेगरी सडक निर्माण भएको उहाँको भनाइ छ । जलजलाबाट १२ वटा भन्दा धेरै हिम शृङ्खला स्पष्ट देख्न सकिन्छ भने हिमाली हावापानीको महसुस त्यहाँ गर्न सकिने आरक्षका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।
सिकार आरक्षको सार्वजनिक निर्माणअन्तर्गत पर्यटक पदमार्ग (मोटरेबल) मर्मत तथा स्तरोन्नतिको काम गर्दै आएको कार्यालयले गार्पा लेकदेखि टीकाधारा क्षेत्र हुँदै फागुने धुरिसम्म पदमार्गसमेत निर्माण गरेको छ । तीन हजार मिटरदेखि चार हजार २०० मिटरको उचाईमा पैदलयात्रा गर्न सकिने यो मार्गमा यात्रा गर्ने पर्यटकले हाईअल्टिच्युटको अनुभव गर्न सक्छन् । गाईभैँसीसमेत हिँड्न नसक्ने पदमार्ग स्तरोन्नति गरेर पर्यटकका लागि उपयुक्त बनाउने र सिकार आरक्ष क्षेत्रभित्रका घुम्न मिल्ने ठाउँमा पु¥याउने योजना रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ ।
धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्यता र विविधताले ढोरपाटन पर्यटकीय गन्तव्य हो । ढोरपाटन उपत्यकाको सेरोफेरो बागलुङ, म्याग्दी र रुकुम जिल्लाको भूगोलमा फैलिएको छ । कूल एक हजार ३२५ वर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्ष सामुन्द्रिक सतहबाट दुई हजार ८५० मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाईमा रहेका छन् । प्राकृतिक आनन्द, हिमाली भेगको दृश्यावलोकन र वन्यजन्तु सिकारको रोमाञ्च अनुभूति लिन चाहनेका लागि यो आरक्ष आनन्दको स्थल मानिन्छ ।