रौतहट। अन्नबालीको उत्पादन घटेपछि रौतहटका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै किसान केरा खेतीतर्फ आकर्षित भएका हुन्।
यस जिल्लाको १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर, वृन्दावन, गरुडा, मौलापुरलगायत नौ स्थानीय तहका ३० वटा वडाको ३सय २१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिए।
उनका अनुसार सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा केरा खेती गर्न प्रोत्साहन गरेको छ। चन्द्रपुर नगरपालिका–३, गैँडाटारका किसान जीवन तिमल्सिनाले आठ कट्ठा जमिनमा केरा खेती गरी वार्षिक चार लाख रुपियाँ आम्दानी गरेका छन्। उनले भने, “रासायनिक मल, उन्नत बिउ र समयमा सिँचाइ उपलब्ध नहुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि बहुवर्षीय केरा खेती गर्न थालेँ। यसबाट आम्दानी पनि राम्रो भयो।”
यस्तै मौलापुर नगरपालिका–३ का किसान अनिरुद्धप्रसाद यादवले १० कट्ठा जमिनमा लगाएको केरा खेतीबाट वार्षिक पाँच लाख रुपियाँ आम्दानी लिन सफल भएको बताए। केरा रोपेको नौ महिनादेखि पसाउन थाल्छ र एक वर्षमा बिक्रीका लागि तयार हुन्छ। एक पटक रोपेपछि त्यसबाट उत्पादन भएका बिरुवाले कम्तीमा पाँच वर्षसम्म फल दिने हुनाले पनि केरा खेती गर्न सहज भएको चन्द्रपुर–५, चिडियादहका किसान मधु पौडेलको अनुभव छ।
केरा खेतीमा सरकारले बिमाको समेत व्यवस्था गरेको छ। कृषि प्राविधिक सुभाषप्रसाद साहले भने, “बिमाले केरा खेतीको जोखिम न्यूनीकरण गरेको हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो।”
रौतहटका किसानले मालभोग, चिनीचम्पा, धुसरे, हरिछाल, जिजाइनलगायतका जातका केरा खेती गरेका छन्। केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि चन्द्रपुर नगरपालिकाको १ देखि ६ नं. वडामा केरा खेती गर्ने किसानको सङ्ख्या अधिक रहेको कृषि सेवा चन्द्रपुरका अधिकृत उमेश चौधरीले जानकारी दिए।
व्यावसायिक रूपमै केरा खेतीमा लाग्ने किसानलाई तीनवटै तहले प्राविधिक ज्ञान, तालिम, प्राविधिक व्यवस्थालगायत आर्थिक तथा बजारीकरणको व्यवस्थापनमा सहयोग पु–याउन सके नेपाल केरामा आत्मनिर्भर हुन सक्ने किसान बताएकाे खबर गाेरखापत्र अनलाइनमा प्रकाशित भएकाे छ।