धादिङ सल्यानटार। साँझ पर्दै थियो। भोलिपल्ट यसअघि नाम मात्र सुनेको जिरी जाने योजना थियो।
धादिङको आँखुखोला तरेर अगाडि बढ्दै गर्दा झिलिमिली धादिङबेसी देखियो। केहीबेर मोटरसाइकल रोकेर त्यहाँको रमाइलो हेर्न लागेँ।
सोही बेला काठमाडौंबाट लिला जीले कल गर्नुभयो, ‘जिरी यात्राको लागि भोलि बिहान साढे ६ बजे नयाँ बानेश्वर आइपुग्नु होला है।’
मेरो साथमा गायक तथा नायक देवराज आले मगर हुनुहुन्थ्यो। रातको १२ बजे काठमाडौं पुग्यौं।
थकाइ र निद्रा भए पनि फ्रेस भएर म कम्प्युटरमा बस्न थालें।
ड्रोन र दुई क्यामेरामा भएको फुटेज पूरै कपि हुन झन्डै डेढ घण्टा लाग्यो। निदाउन सकिनँ उज्यालो भयो। तातोपानीसँगै मैले बानेश्वरको लागि पठाओ गरें बाइक लगेर कता राख्ने होला भनेर नलाने निर्यण गरें।
बानेश्वरको शंखमूल टावर पुग्दा सबै जना आइसकेका थिए। सबैमध्ये बाहिरै उभिएका थिए- सहकर्मी बैनीहरू जुना र अनुशा।
मन खुसीले गदगद भो। म नयाँ मान्छेसँग सजिलै घुलमिल हुन नसक्ने हुँदा बैनीहरू देखेपछि खुसी भएँ। तर गाडी भने बेग्ला बेग्लैमा पर्यो।
मसँगै बस्नुभएको थियो- सुरेन्द्र दाइ। पहिला मान्छे नचिने पनि पछि कुरा गर्दै जाँदा चिनजान भयो। दाइ धेरै मिजासिलो हुनुहुँदो रहेछ। बाटो काट्ने अनेक मेलो उहाँ निकालिरहनुहुन्थ्यो। यतिबेला अघिसम्म अपरिचित आयोजक लिला जी पनि मेरो नजिकको मित्रझैं लाग्न थालिसकेको थियो।
आयोजक भएकोले व्यवस्थापनको निम्ति उहाँको फोन तारन्तर बजिरहन्थ्यो। उहाँले अरूसँग कुरा गर्दा मैले पनि थोरै कता-कता पुगिन्छ बुझ्दै थिएँ।
म राति नसुतेकोले निदाउने कोसिस गर्थें तर सक्दिनथें।
ओहो! बीचमा गाडी रोक्दा थाहा भयो बैनीहरूलाई गाह्रो भएछ। औषधिको जोहो गरियो तर काम गरेन छ। खाना खाने ठाउँ दोलखाको मुडेमा पुग्दा थाहा भो।
मुडेमा कान छेड्ने चिसो थियो। घाम थिएन मौसम खराब थियो। कुहिरो डम्म पानी पर्ला-पर्ला जस्तो। हिमाल नदेखिए पनि हिमालमै छौं जस्तो चिसो।
कोही फोटो खिच्न त कोही नयाँ ठाउँ हेर्नमा व्यस्त। म खासमा पहिले पनि १-२ पटक त्यहाँ पुगेकोले खासै वास्ता भएन मात्र चिसोले जाडोको खुब महसुस गरिरहेको थिएँ। जस्तो भए पनि यहाँ ड्रोनबाट केही तस्वीर लिन्छु भनेर ड्रोन उडाएँ। खासै चित्तबुझ्दो केही देखिएन।
कुहिरो उडेर डाँडा छोप्न आउनु र मेरो ड्रोनले भुइँ छोड्नु एउटै समय पर्यो।
खाना खाने होटलमा बेच्नको लागि खुब राम्रोसँग छुर्पी झुन्ड्याइएको थियो। छुर्पीसँग फोटो खिच्नेहरूको एकछिन पालो चल्यो।
कुनै बेला हामीले सिन्धुपाल्चोकको भोटेचौरमा मैन बत्तीलाई त्यसरी नै बाँधेर छुर्पी बनाएर म्युजिक भिडिओ बनाएको थियौं।
मेरो मनमा एक दशक अघिको त्यो दिन खुब याद आयो।
खाना खाएर चरीकोट हुँदै मोटरहरू अघि बढ्यो। कच्ची बाटो र मोटरको हल्लाइ यादगर हुँदै थियो।
सुरेन्द्र दाइको कुरा भन्दा ज्यान कसरी बचाउनेमा ध्यान बढी भो। तर बाटोमा देखिएका केही दृष्यले भने बेला-बेला निकै ध्यान खिच्थ्यो। फोटो खिच्न पाए !
आधा निन्द्रा र थकाइको बीच साँझपख जिरी झर्दै थियौं। लिला जी र सुरेन्द्र दाइ जिरीको कुना कप्चेरा डाँडा काँडा पार्क पखेराको बारे भन्नुहुन्थ्यो। नबुझे पनि बुझ्दै गरौंला भनेर म सही थाप्थें। हो, मा हो मिलाउँदै जिरी नै पुगिएछ।
जिरीको सबभन्दा पुरानो सुविधासम्पन्न होटलमा हाम्रो बास हुने थाहा भो।
सबैलाई कोठाको बन्दोबस्त भो। म सिंगल मान्छे सिंगल रूममा बस्ने निर्णय गरें।
आधा निन्द्रा पर्यो। शरीर निदायो मनैदेखि निदाउन सकिनँ। म उठेर बाहिर हेर्छु साँझको बत्ती बल्न थालेको छ। भोलि के हो थाहा छैन। साँझको बेला जिरी बजार घुमौं भन्ने लाग्यो र फ्रेस बनेर बाहिर निस्कें।
बैनीहरूलाई घुम्ने इच्छा सुनाएँ, उनीहरू पनि घुम्न राजी भए। हामीलाई जिरी बजार वारपार गर्न खासै समय लागेन किनभने जिरी बजार त्यति नै रहेछ।
जिरीबारे जान्नभन्दा पनि जिरीको फोटो कस्तो होला? कस्तो खिच्न सकूँला भन्ने जिज्ञासा लाग्यो अनि गुगल गरें।
तर जिरी मैले सोचेको र रियलमा अर्कै पो रैछ। मैले नाम्चेलाई जिरी सोच्दै गएको रहेछु। गुगल गर्दा थाहा लाग्यो अनि यो चै कहाँबाट देखिन्छ भन्दा यो यहाँ हैन नाम्चे बजार हो भन्ने जवाफ पाएपछि थाहा लाग्यो म अन्तै पो छु!
भोलिपल्ट बिहानै जिरीलाई मैले ड्रोनबाट हेर्दै कैद गर्दै गएँ। बाँकी अनौठो केही लागेन न पुरानो न नयाँ जस्तो भयो। मौसमले पनि साथ दिएन एकाबिहानै धुम्म थियो। हामी खाजापछि घुम्ने योजना लिलाजीबाट सुन्यौं।
गाडीमा भन्दा हिँडेरै घुम्न प्रस्ताव गरें। हिँड्दा पनि खासै नौलो चिज भेट्न सकिएन तर प्राकृतिक सुन्दरता भने गज्जब। छङछङ स्वच्छ पानीसहितको खोला जो बजारबीचबाट बगेर गएको छ।
खोला माथिको पुल, घरको बनोट, पाकेको कोदोको बाला अनि मानिसहरूको रंग छाला र बोलीचालीले भने मन तानिरह्यो।
त्यहाँको पुरानो जहाज बस्ने चौर हालको गौचरन क्षेत्रले हाम्रो गोरखाको पालुङटार जहाज बस्ने चौर सम्झायो।
म ड्रोनबाटै केही तस्वीर कैद गर्न तल्लीन थिएँ। 'मन्दिर जान मोटर तैयार भो छिटो आउनुस्' भन्ने खबर आयो।
मन्दिर घुम्दै गर्दा आफ्नो वन पाखामा गाउँ घरमा घुमेको महसुस भयो।
मलाई मन्दिरले भन्दा जंगलको फूल, झरना र जडीबुटीले तान्यो। यस्तै उस्तै उता पनि यता पनि भन्ने लाग्यो।
जिरीको डाँडाकाँडा प्राकृतिक बनोटले खुब तान्यो। कुनै बेला सगरमाथा जानेद्वारको रूपमा चिनिएको जिरी आफैं पर्यटकीय केन्द्र बन्न सक्छ भन्ने लग्यो। यसले गज्जबको इतिहास बोकेको रहेछ। बुझ्दै जाँदा रोचक कथा बोकेको जिरी अन्तरिक पर्यटन प्रवर्द्धन र अध्यायनको निम्ति पनि नेपालीले घुम्नुपर्ने रहेछ।
अन्तिम दिन जिरीलाई फेरि एकपटक केही फरक तरिकाले हेर्न सकिन्छ कि ! भन्ने आशाले बिहानै मनमा खुल्दुली भयो। अर्को पटक के होला एक पटक हेरौं, केही नयाँ फरक तस्वीर निकालौं भनेर मनले भने पछि मैले ड्रोनलाई जिरीको आकाशमा पठाएँ।
आकाशको एक भागमा रोकेर क्यामेराको एक्स्पोजर मिलाउँदै पहिलो फ्रेम क्लिक गर्नै लाग्दा जिरीका स्थानीय चराको एक समूहले एक्कासि आक्रमण गर्यो। अनौठो आवाज आयो। मेरो ड्रोन चिच्याउँदै झर्दै थियो। म पनि अनायास चिच्याएँ। ड्रोन फलामको रेलिङमा बजारिन पुग्यो।
म दगुरेर ड्रोन भएको ठाउँमा पुग्दा हात खुट्टा पखेटा आँखा सबै गुमाएको सुन्दरचरा जस्तो देखियो। मायाले ओल्टाइ पोल्टाइ हेरें। झन्डै आधा होस उड्यो। कालो काग एक पटक फेरि झम्टिन आए र उसैगरी भागे। म रमिते बनें। मेरो मन चिसो भयो।
टाउको भाँचिएको आँखा फुटेको अनि पखेटा छियाछिया भएको मैले माया गरेर राखेको उसलाई सम्हाल्दै उसैगरी मायाले उसको ठाउँ बनाउँदै झोलामा राखें।
मेरो मन बसमा थिएन। ड्रोनको हालत देखेर आफ्नै हात खुट्टा भाँचिएजस्तै आफ्नै आँखा फुटेजस्तै भइरह्यो। दिमाग खल्बलिरह्यो। ला- अब के गर्ने ? केही सोच्नै सकिनँ।
सानो अन्तिम कार्यक्रम थियो। बिदाइ अघि पत्रकार र स्थानीयको भिडमा परिचयसँगै जिरीको विषयमा सोध्नुभयो। उसै पनि बोल्न नजान्ने मैले मेरो नाम भनेर कस्तो लाग्यो भन्ने चाहिँ फोटो सेतोपटीमा आउछ हेर्नु न है ! भने।
सबै हाँसे, मैले स्वीकारोक्ति ठानेँ। मैले पनि हाँसेंझैं गरें।
म जिरीको अनेकन सम्झना मेमोरी कार्डमा मात्र नभई दिमागभरि कैद गरेर फर्किएँ। जिरीको त्यो क्षण बिर्सन्छु भन्छु बिर्सन सक्दिनँ। झस्काइ रहन्छ। मन चस्काइ रहन्छ। त्यो चराको हुल, एकछिन मैले छिटो गरेको भएँ! वा ड्रोन नउडाएको भए! मेरो के जान्थ्यो ? जति खिचे पनि चित्त नबुझ्ने मेरो मन अहिले आफैंले आफैंलाई कराउदै छ घरी सम्झाउँदै छ। र पनि फेरि मनैदेखि बिर्सूं भन्छु जिरीको सम्झना आइरहन्छ, सताइरहन्छ।
सेतोपाटीबाट