कपिलवस्तु। बुद्धको जन्मस्थल रहेको नेपालको कपिलवस्तु जिल्लामा विश्वकै अग्लो बुद्धको मूर्ति निमार्ण हुने भएको छ।
कपिलवस्तु नगरपालिकामा संसार कै सबभन्दा अग्लो अर्थात् २ सय ४५ मिटर अग्लो बुद्धको मूर्ति सहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका हुन्।
मूर्ति बनाउने स्थान, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइने छ। त्यस्तै ठाउँ निश्चित भएपछि ईन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले जनाकारी दिए।
हस्ताक्षर कार्यक्रममा उपस्थित लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले विश्वकै अग्लो मूर्ति स्थापना भएसँगै यसले विश्व पर्यटकलाई यस तर्फ आकिर्षत गर्ने पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास रहेको बताए।
मन्त्री पन्थिले परियोजनाले कपिलवस्तु नगरपालिकाका लागि मात्र नभएर सिगो लुम्बिनी प्रदेशका लागि कोसेढुङगा साबित हुने बताए।
सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्त्वपूर्ण दिन र काम भएको बताएका थिए। प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माणको काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए।
कार्यक्रममा उपस्थित चिनियाँ धर्मगुरु छ्याङ पिङले बुद्धको जन्मस्थलमा आउन पाउनु आफ्ना सौभाग्य रहेको र यहाँ आउन पाउँदा खुसी महसुस भएको बताए। कपिलवस्तु नगरपालिकामा कनक मुनि र क्रकुछन्द बुद्धको जन्म स्थल भएकोले यो भूमि निकै नै महत्त्वपूर्ण रहेको उनले बताए। यस परियोजनाले चिन र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास लिएको उनले बताए। उनले भने “कमलको फूल झैँ बुद्धको ज्ञान संसार भर नै फैलिएको छ।”
विश्वको सबै भन्दा ठुलो मूर्ति नगरमा बन्ने भएपछि गर्भको विषय रहेको नगर प्रमुख सुदीप पौडेलले बताए। लुम्बिनी आउने पर्यटकहरू मूर्ति हेर्न यहाँ आउने नै हुने छन् भन्ने विश्वास लिएको उनले बताए। पर्यटकको सङ्ख्या बढेपछि पक्कै नै यस क्षेत्रको सामाजिक, आर्थिक उन्नति हुने उनको भनाई छ।
समारोहमा जिल्लाका प्रदेश सांसद मधुसूदन शरण चौधरी, जिल्ला समन्वय समितिका प्रमुख बावुरा आचार्य लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सचिव सानु राजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई सहायक प्रजिअ अनिल पौडेल, लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक गुणखर गैह्रे, चीन, हङकङ, मलेसिया लगायत देशका प्रतिनिधिहरू, जिल्लाका राजनीतिक दलका प्रमुखहरू, विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख र उपप्रमुख र वडाध्यक्षहरू लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकारहरूको सहभागिता थियो।