भैरहवा। दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन्।
कोरियाली बौद्ध धर्मावलम्बीहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्किएका हुन्। पछिल्लो समय विभिन्न देशबाट बौद्धधर्म गुरु र तीर्थयात्रीहरूको ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम बढेको छ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरूलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको थियो।
भारतस्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका थिए। एक हजार किलोमिटर पैदलयात्रा गरेर कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आइपुगेका थिए। फेब्रुअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो।
यसअघि मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिए।
कोरियाली भिक्षुहरूको समूहलाई लुम्बिनी विकास कोषले मंगलबार एक भव्य कार्यक्रम गरी स्वागत गरेको थियो।
कोरियाली बौद्ध तीर्थयात्रीहरूको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेका थिए। पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो।
प्रार्थना र पूजा कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ का सांसद वासुदेव घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थ लुम्बिनी आउँदा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए।
उनले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रूपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको उल्लेख गरे। नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउँदा खुसी लागेको सुनाए।
उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले फागुन महिना भगवान् गौतमबुद्धको जीवनमा निकै ठूलो महत्त्वको भएको बताए।
उनले यो महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किलोमिटरको दूरी पूरा गरी कष्टसाथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको उल्लेख गरेको खबर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ।